Comments Add Comment

यो हो संसारकै शक्तिशाली जासुसी सफ्टवेयर, जेफ बेजोससमेत जसको सिकार बने

भारतमा विभिन्न नेता, मन्त्री तथा पत्रकाहरु समेत गरी २५ सय भन्दा धेरै मानिसहरुको एक जासुसी सफ्टवेयरको माध्यमबाट फोन ट्यापिंङ भएको भनी एक चर्चित राजनीतिज्ञको ट्वीटपछि संसारकै शक्तिशाली ह्याकिङ सफट्वेयर मानिने पेगासस पुनः एकपटक चर्चामा आएको छ ।

सन् २०१९ मा संसारका सयौँ पत्रकार तथा सामाजिक अभियन्ताहरुको ह्वाट्सएप अकाउन्टको जासुसी भएको थियो, र त्यसमा पनि पेगाससकै हात थियो ।

संसारभर सनसनी मच्चाइरहेको पेगासस आखिर के हो ? यसले कसरी काम गर्दछ ? यसबारेमा जानौँ ।

वास्तवमा जासुसीको दुनियाँमा पेगासस एउटा चर्चित नाम हो । यो ह्याकिङ सफ्टवेयरले ती डिभाइसहरु पनि ह्याक गर्न सक्दछ जसलाई उत्पादक कम्पनीहरुले ह्याक प्रुफ दाबी गर्दछन् ।

पेगासस एक स्पाइवेयर अर्थात् जासुसी गर्ने भाइरस हो जसले चुपचाप कुनै पनि डिभाइसको जासुसी गर्दछ । पेगासस जस्ता सफ्टवेयरहरु प्रयोगकर्ताको जानकारी विना उनीहरुको फोनमा छिर्दछन् र फोनमा रहेका गोप्य जानकारीहरुलाई ह्याकर्सको हातसम्म पुर्‍याउँदछन् ।

आफ्नो फोनमा स्पाइवेयर छ कि छैन भन्ने कुरा पत्ता लगाउन निकै मुस्किल छ । स्मरण रहोस् सन् २०१९ मा पेगाससको माध्यमबाट संसारका १४ सय भन्दा धेरै पत्रकार तथा सामाजिक कार्यकर्ताहरुको जासुसी भएको थियो । त्यसमा अमेजनका सीईओको ह्वाट्सएप पनि सोही सफ्टवेयरबाट ह्याक गरिएको थियो ।

के हो पेगासस ? के के गर्न सक्दछ ?

इजरायलको एनएसओ ग्रुप तथा क्यू साइबर टेक्नोलोजीजले यो स्पाइवेयरको निर्माण गरेका हुन् । पेगाससको अर्को नाम Q Suite पनि हो । यो संसारको सबैभन्दा खतरनाक जासुसी सफ्टवेयरमध्ये एक हो जसले एन्ड्रोएड र आईओएस दुवैखाले डिभाइसमा आक्रमण गर्न सक्दछ ।

पेगासस सफ्टवेयर प्रयोगकर्ताको अनुमति तथा जानकारी विना नै फोनमा इन्स्टल हुन सक्दछ । एकपटक फोनमा इन्स्टल भैसकेपछि यसलाई सजिलोसँग हटाउन सकिँदैन ।

पेगासस कुनै फोनमा केवल एक मिस्ड कलकै माध्यमबाट पनि इन्स्टल गराउन सकिन्छ । यसले फोनमा रहेको एण्ड टू एण्ड एन्क्रिप्टेड च्याटहरुलाई पनि पढ्न सक्दछ । अर्थात् ह्वाट्सएप र टेलिग्राम जस्ता एपहरु पनि यसबाट सुरक्षित रहन सक्दैनन् ।

पेगासस सफ्टवेयरलले फोन प्रयोगकर्ताका निजी जानकारीहरुमाथि निगरानी राख्दछ । फोनमा यो सफ्टवेयरको कुनै आइकन पनि हुँदैन त्यसैले यसलाई पहिचान गर्न पनि सकिँदैन । यो सफ्टवेयरले पासवर्ड, कन्ट्याक्ट लिस्ट, क्यालेन्डर, माइक्रोफोन, क्यामरा तथा विभिन्न मेसेजिंग एपको कलिङ फिचरमाथि निरन्तर जासुसी गरिरहेको हुन्छ । अर्थात् फोन प्रयोगकर्ताको फोनकल तथा भिडियो कलका साथै टेक्स्ट मेसेजहरु पनि यसले ह्याक गरिरहेको हुन्छ ।

मूल्य झण्डै १ अर्ब

इकोनोमिक टाइम्समा छापिएको एक रिपोर्ट अनुसार पेगासस सफ्टवेयरको मूल्य ७० देखि ८० मिलियन डलर अर्थात् झण्डै एक अर्ब रुपैयाँको हाराहारीमा पर्दछ । अर्थात् यति चर्को मूल्य तिरेर मात्रै पेगासस सफ्टवेयरको एक वर्षको लाइसेन्स खरीद गर्न सकिन्छ । एउटा लाइसेन्सबाट एक वर्षमा केवल ५ सय वटा फोनको जासुसी गर्न सकिन्छ ।

पेगाससको माध्यमबाट एक पटकमा ५० वटा मोबाइल फोनमा निरन्तर जासुसी हुन सक्दछ । फोनको जासुसी गर्ने मात्र होइन यो सफ्टवेयर प्रयोगकर्ताको फोनलाई फर्म्याट पनि गरिदिन सक्दछ ।

जेफ बेजोसको फोन ह्याक

जनवरी २०२० मा द गार्जियनमा एक रिपोर्ट प्रकाशित भयो । जसमा दाबी गरिएको थियो कि सन् २०१८ को नोभेम्बर ८ मा विश्वका सबैभन्दा धनी व्यक्ति तथा अमेजन कम्पनीका तत्कालीन सीईओ जेफ बेजोसलाई एक ह्वाट्सएप मेसेज पठाएर उनको फोन ह्याक गरिएको थियो । त्यतिबेला बेजोसको ह्वाट्सएप अकाउन्ट ह्याक भएको थियो र ह्याकिंङको आरोप उनले साउदी युवराज मोहम्मद बिन सलमानमाथि लगाएका थिए । किनकि बेजोसलाई युवराज बिन सलमानको पर्सनल ह्वाट्सएप अकाउन्टबाट मेसेज आएको थियो । यद्यपि बेजोसको फोन ह्याक गरेर कुन कुन डाटा चोरी भयो भन्ने बारेमा हालसम्म कुनै पनि जानकारी सार्वजनिक भएको छैन । उनको ह्वाट्सएप अकाउन्ट ह्याकिङका पछाडि पनि पेगाससकै हात रहेको खुलासा भएको थियो ।

आइफोनमाथि पनि ह्याकिङ प्रयास

सन् २०१६ मा एनएसओले पेगाससको माध्यमबाट आइफोन ह्याक गर्ने प्रयास गरेको थियो । जब एप्पलले यसको जानकारी पायो तब तुरुन्तै प्रयोगकर्ताका लागि नयाँ अपडेट जारी गर्‍यो ।

सन् २०१७ मा सार्वजनिक एक रिपोर्ट अनुसार हाइटेक प्लाटर्फमहरु ह्याक गर्नका लागि यो सफ्टवेयरमा करोडौँ खर्च गरिएको थियो । त्यसपछि नै एन्ड्रोइड अपरेटिंग सिस्टम ह्याक गर्नु सहज बनेको थियो ।

सरकारी एजेन्सीहरु कि पेगासस प्रयोग गर्छन् ?

सिटिजन ल्याबको एक रिपोर्ट अनुसार विश्वका कतिपय सरकारहरुले नै पेगासस स्पाइवेयर प्रयोग गर्ने गरेका छन् । यस्तो सफ्टवेयरको माध्यमबाट सरकारहरुले राज्य तथा सरकारमाथि खतरा पैदा गर्ने ठानिएका मानिसहरुको जासुसी गर्दछन् । रिपोर्ट अनुसार सरकारहरुले राजनीतिक उद्देश्यका लागि पेगासस सफ्टवेयरको प्रयोग बढाइरहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment