Comments Add Comment

शशांक निवासमा संस्थापन इतरका कांग्रेस नेताहरुको बैठक जारी

४ साउन, काठमाडौं । क्रियाशील सदस्यता विवाद र मन्त्रीको रुपमा सरकारमा पठाउने नेताहरुको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक बसिरहेको छ ।

महामन्त्री शशांक कोइरालाको निवासमा जारी बैठकमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, *डा. रामशरण महत, अर्जुन नरसिंह, शेखर कोइराला, प्रदीप पौडेल लगायतका नेताहरु सहभागी छन् ।

कांग्रेसको क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै तीन वटा समूह पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन् । यही विवादका बीच आगामी भदौमा १४ औं महाधिवेशन गराउनुपर्ने चुनौती कांग्रेस नेताहरुलाई छ । आसन्न महाधिवेशनमा आफ्नो पक्षमा माहोल बन्ने गरी मन्त्री पद बाँडफाँट गर्नुपर्ने दबाव नेताहरुलाई छ ।

यहीबीचमा प्रधानमन्त्री बनेका पार्टी सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । हाल सरकारमा कांग्रेस र माओवादीबाट दुई–दुई जना मन्त्री छन् ।

(*समाचारमा डा. रामशरण महत हुनुपर्नेमा डा. प्रकाशशरण महत भएकाले सच्याइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment