Comments Add Comment

जन्मदिनमा श्रोता–दर्शकलाई ‘जिग्री’को गीत उपहार

कुमार कट्टेल सानैदेखि गीत गुनगुनाउँथे । कुमार जतिबेला अभिनयमा आएका थिएनन्, सो समयमा उनको रुची भने गायनमा थियो । त्यही सौखले उनले संगीत समेत सिकेका थिए । हार्मोनियम किनेका थिए । तर, उनलाई समयले गायन भन्दा पहिले अभिनयमा डोर्यायो ।

उनी हाँस्य सिरियल ‘भद्रगोल’बाट दर्शकमाझ लोकप्रिय बने । दर्शकले उनलाई यही सिरियलबाट ‘जिग्री’ उपनामले चिन्न थाले । यसपछि भने कुमार अभिनयमा नै व्यस्त बन्न पुगे । तर, गीत गाउने उनको हुटहुटी भने हराएको थिएन । अभिनयमा लागेपनि उनले गीत गुनगुनाउन छाडेका थिएनन् । साथीहरु हौसला दिन्थे, गीत गाउन । उनै कुमारले पहिलोपटक आफ्नो स्वरमा गीत रेकर्ड गराएका छन् । उनले गायिका मेलिना मैनालीसँग ‘मञ्जुरी’ बोलको गीत रेकर्ड गराएका छन् । गीतमा भिम बिसीको शब्द तथा संगीत छ ।

दीपक आचार्यको निर्देशनमा बनेको भिडियोमा कुमार र रक्षा श्रेष्ठले अभिनय गरेका छन् । रक्षा झण्डै एक वर्षपछि यस भिडियोबाट अभिनयमा फर्किएकी हुन् । गीत मायाप्रेममा आधारित रहेर रोमान्टिक शैलीमा निर्माण गरिएको हो । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै कुमारले गीत गाउने आफ्नो पहिल्यैदेखिको सौखलाई पुरा गरेको बताए । ‘गीत गाउन खुबै मनपथ्र्यो । सानैदेखि गीत गुनगुनाउथेँ । त्यो बेला कलाकार नबनेपनि गीत गाउँछु भन्ने सोच्थेँ’ कुमारले भने,– ‘गायनलाई व्यवसायिक रुपमा अगाडि बढाउँछु भनेर शुरु गरेको होइन । आफूमा भएको रहरलाई मार्नुहुदैन भनेर शुरु गरेको हुँ ।’ यसपछि अर्जुन पोखरेलको संगीतमा अर्को एउटा गीत पनि ल्याउने तयारीमा रहेको कुमारले जानकारी दिएका छन् ।

उनी गायनमा स्रोता तथा दर्शकको प्रतिक्रियालाई मनन गर्दै अगाडि बढ्ने बताउँछन् । उनले भने–‘दर्शकले स्विकार गर्नुभयो भने अगाडि बढ्छु । यो क्षेत्रमा अग्रजहरुको ठूलो योगदान र तपस्या छ । म त्यसलाई विगार्न आएको होइन ।’
कुमारको आज जन्मदिन हो । जन्मदिनमा उनी दर्शक तथा श्रोतालाई आफ्नो गायन र अभिनय रहेको गीत उपहार स्वरुप सार्वजनिक गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment