Comments Add Comment

कृतार्थको उपन्यासमा साहस र सौर्यको गाथा

संसारभरिका साहित्यमा युद्धका कथा धेरै लेखिएका छन् । २०७५ सालको मदन पुरस्कारप्राप्त उपन्यास ‘रणहार’ पनि पृथ्वीनारायण शाहको भक्तपुर हमलामाथि केन्द्रीत छ । दुई दशकअघिको माओवादी युद्धलाई केन्द्रमा राखेर पनि नेपाली साहित्य लेखिएको छ ।

युद्ध र त्यसभित्रको साहस, सौर्य, संघर्ष समेटेर युवा लेखक कृतार्थशमशेर राणाले अंग्रेजीमा ‘दी स्याडोज इन सिलिअन’ नामक उपन्यास लेखेका छन् । सरल र सम्प्रेष्य अंग्रेजी भाषामा लेखिएको हुनाले यो उपन्यास विद्यार्थी वर्गले पनि सहजै पढ्न सक्छन् । युद्ध–कथामा (वार फ्यान्टासी) रूची हुनेका लागि नेपाली लेखकले नै यस्तो उपन्यास लेख्नु थप खुसीको कुरा हो ।

उपन्यासकार कृतार्थले ‘सिलिअन’ नाम गरेको काल्पनिक राज्य खडा गरेका छन् । उक्त राज्यको बिलिज भन्ने गाउँका पराक्रमी युवा इरिक बक्सटर उपन्यासमा केन्द्रीय पात्र हुन् । एरिकका साथी डोरान, एरिआना, न्रिम, मिसा, कोवि सहायक पात्र हुन् । यस्तै सिलअनको छिमेकमा पोलिरोन, डोरोसिया अधिराज्यहरू छन् ।

किसान परिवारमा हुर्केको एरिकको स्वभाव अन्य युवाको भन्दा फरक छ । उनी निडर र कल्पनाशील छन् । आफ्नै ढंगले जीवन चलिरहेको बेला एकदिन एरिकलाई कुलीन वर्गका मानिसहरूले हत्याको आरोप लगाउँछन् । आफूले नगरेको अपराधको सजाय भोग्नुपर्दा उनमा विद्रोहको भाव पलाउँछ ।

यसपछि एरिकले विद्रोही समूहमा आबद्ध भई गाउँकै युवाहरू भेला गरी समूह खडा गर्छ । राजासँग पनि सम्बन्ध विस्तार गर्दे आफ्नो मातृभूमिको लागि युद्ध गर्न तत्पर हुन्छ ।

विभिन्न युद्धमा सहभागी भई आफ्नो सौर्य प्रस्तुत गर्छ । दश्मनका अनेकौं जालझेलको सामना गर्दै ऊ आफ्नो परिवार र मातृभूमिमाथि प्रहार गर्नेहरूलाई सफाया गर्छ । अन्त्यमा आफ्नो भूमि बिलिजमा वर्षौंपछि फर्केर आइपुग्दा ऊ नायक सिद्ध हुन्छ । राजा (ड्युक) डेभिड कार्डेजले स्वागत गर्दै एरिकलाई काउन्सिल सदस्य नियुक्त गर्छ ।

युद्धको समय एरिकले आफ्नो नाम डेक्सटर भइसकेको हुन्छ । यद्यपि ऊ एरिक नै हो भन्ने थाहा पाउनेहरू पनि हुन्छन् । उपन्यासले मध्यकालीन युद्धको झल्को दिने हुनाले यो त्यतिबेलैको कथा हो भन्न सकिन्छ । एउटा राज्यको राजकुमारी वा राजकुमारलाई अर्कोले कैद गर्ने, साना–साना राज्यहरूबीच युद्ध हुने, युवाहरूमा सैनिक जीवनको मोह हुने, धनीहरूले गरिबमाथि शासन गर्ने आदि कुराले उपन्यासमा प्राथमिकता पाएका छन् । यसैले विक्रमको वा इस्वी संवत्को, एघारौंदेखि चौधौं शताब्दीको मानव सभ्यतालाई लिएर उपन्यास लेखिएको छ ।

उपन्यास पढ्दै जाँदा लेखक कृतार्थशमशेर उच्च कल्पनाशील रहेको प्रतीत हुन्छ । यो पुस्तकको सुरुमै राज्य र गाउँहरूको नक्सा राखिनुले पनि उनको कल्पनाशक्ति प्रमाणित गर्छ । यसबाहेक उनले यस्तो काल्पनिक राज्य, भूमि, राजा र भूगोलको चित्रण गरेका छन् जुन न युरोपसँग मिल्छ न एसियासँग ।

राजा छन्, राज्य छ, किसान छन्, खेतिपाति गर्छन्, हातहतियार चलाउँछन् तर विश्वको कुन भूगोलको कथा हो भन्ने स्पष्ट छैन । यद्यपि मध्ययुगमा यस्ता राज्यहरू विश्वभरि नै थिए । एकअर्को राज्यबीच युद्ध भइरहन्थ्यो । यही परिवेशले गर्दा उपन्यास रोचक बनेको छ ।

उपन्यास १६ भागमा विभाजन गरिएको छ । प्रत्येक अध्यायमा एरिकले गर्नुपरेको संघर्ष, राजपरिवार तथा राज्यमा हुने उतारचढाव रोचक ढंगले व्याख्या गरिएको छ । मध्ययुगमा हुने यस्ता धेरै युद्धको कथा हामीले सुन्दै आएपनि लेखकले यसलाई ‘विश्वासको युद्ध’ मानेका छन् ।

अर्थात् युद्धभित्र पनि नैतिकता, अनुशासन र दृढ प्रतीज्ञाको विजय हुन्छ भन्ने देखाउन खोजिएको छ ।चार सय पृष्ठको उपन्यास पढ्दै जाँदा कतैकतै भने पाठक अलमलमा पर्छन् । एउटै घटनाको वरिपरि कथा घुमेकाले सहायक पात्रहरू छायामा परेको प्रतीत हुन्छ ।

पात्रहरूको मनोविज्ञानको सूक्ष्म विश्लेषण गर्न लेखक चुकेका छन् । पुस्तकको आवरणमा सिलअन राज्यको कथा भाग एक भनिएकाले लेखकले यही मूल कथामा अर्को पनि कथा लेख्नुपर्ने देखिन्छ । त्यो कथामा भने सहायक पात्रहरू र मध्ययुगको मानिसको जीवनको मिहीन चित्रण गरियो भने लेखकको सफलता ठहरिनेछ ।

यद्यपि युद्ध–कथा लेख्ने परिपाटी नेपाली युवा लेखकले सुरु गर्नु खुसीको कुरा हो । सरल अंग्रेजी भाषामा लेखिएको पुस्तक भएकाले युवा वर्गलाई साहित्य पठनमा रुची जगाउन पनि ‘दी स्याडोज इन सिलिअन’ उपयोगी सिद्ध हुन्छ ।

विधा : उपन्यास (वार–फ्यान्टासी)
प्रकाशक : रेड पाण्डा बुक्स, काठमाडौं
मूल्य : ४ सय ९९ रुपैयाँ (सफ्ट कभर)
पृष्ठ : ४ सय ६ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment