Comments Add Comment

तीजका गीतलाई कस्तो छ दर्शकको साथ ?

तीज पर्व नजिकिदै छ । त्यो सँगै तीज लक्षित गीत सार्वजनिक हुने क्रम बढ्दो छ । हिजोआज हरेक दिनजसो नयाँ–नयाँ तीज गीत सार्वजनिक भईरहेका छन् । साउनको पहिलो सातासम्म युट्युबमा झण्डै तीन दर्जन तीज गीत सार्वजनिक भएका छन् । यो बर्ष पनि तीज गीतको बाढी नै आउने देखिएको छ । तीज गीतमा लगानी ‘बालुवामा पानी’ हुने अवस्था भएपनि लगानी गर्नेहरुको संख्या भने घटेको छैन । यसवर्ष तीज गीतमा खेम सेञ्चुरी, खुमन अधिकारी, पशुपति शर्माकै वर्चश्व देखिएको छ । त्यस्तै गायिकामा शान्तीश्री परियार, देवी घर्ती, सम्झना भण्डारी लगायतका तीज गीत संख्यात्मक हिसावमा बढी देखिएका छन् ।

सार्वजनिक तीज गीतमध्ये केही सिमितले मात्र युट्युबमा राम्रो भ्यूज पाएका छन् । धेरै गीतलाई भ्यूजकै खडेरी देखिएको छ । भ्यूजको कुरा गर्दा यसवर्ष सार्वजनिक तीज गीतमा प्रीति आलेको ‘सोल्टी राजाको टुम्लेट’ शीर्ष स्थानमा छ । गतवर्ष सार्वजनिक ‘फरिया’को भाग २ का रुपमा सार्वजनिक गरिएको यस गीतले तीन साता नपुग्दै युट्युबमा ४० लाख भ्यूज बटुलेको छ ।

यसवर्ष खुमन अधिकारीसँग देवी घर्ती, शान्तीश्री परियार, शिला आले, सम्झना भण्डारी, पूर्णकला बिसी, जुना श्रीस, सरिता कार्की र सुनिता बुढा क्षेत्री गरी ८ गायिकाले स्वर दिएको गीत ‘कुरा काटन’ले राम्रै भ्यूज पाएको छ । १० दिनअघि सार्वजनिक गीतको भिडियोले युट्युबमा २४ लाख भ्यूज पाएको छ ।

त्यस्तै बिमलराज क्षेत्री, राधिका हमाल, खुमन अधिकारी, जानुका तामाङ र खेम सेञ्चुरीको स्वर रहेको ‘मरिन्छ कि साइँलो’बोलको गीतलाई युट्युबमा २३ लाख ६१ हजार भन्दा बढी पटक हेरिएको छ ।

कमला घिमिरे र खेम सेञ्चुरीको स्वर रहेको ‘लरी लरीलै २–हान्छु तिम्लाई लौरीले’लाई युट्युबमा २० लाख बढी पटक हेरिएको छ । झण्डै २० दिन अघि सार्वजनिक यस गीत गतवर्ष चलेको गीत ‘लरी लरीलै’को भाग २ का रुपमा सार्वजनिक गरिएको हो । गतवर्ष तीजमा ‘लरी लरीलै’ निकै चलेको थियो । तीलक वली र समीक्षा अधिकारीको स्वरमा सार्वजनिक ‘हङकङको साडीले भाग २–कुर्ता’ले युट्युबमा १५ लाख बढी भ्यूज बटुलेको छ । ‘हङकङको साडीले’ ६ वर्षअघि सार्वजनिक निकै चलेको तीज गीत हो । यसवर्ष १२ दिनअघि सार्वजनिक यसको भाग २ को भ्यूज भने पहिलो भागको तुलनामा निकै कम छ ।

खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा सार्वजनिक तीज गीत ‘अब होला केही’ले युट्युबमा १५ लाख ५० हजार बढी भ्यूज बटुलेको छ । यो गीत तीन साताअघि युट्युबमा सार्वजनिक गरिएको थियो ।

पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा ‘हैन र माया’बोलको तीज गीतले युट्युबमा १४ लाख बढी भ्यूज पाएको छ ।

पशुपति शर्मा र सम्झना भण्डारीकै स्वरमा सार्वजनिक गीत ‘मेरो माया बसेको गाउँमा’ गीतले युट्युबमा ३ दिनमा ५ लाख ८० हजार बढी भ्यूज पाएको छ । केही वर्षअघि सार्वजनिक गीतलाई यसवर्ष रि–रेकर्ड गरेर सार्वजनिक गरिएको हो । यो गीत पहिले राम्रो चलेको तीज गीत हो । त्यसको तुलनामा यस गीतले पाएको भ्यूज भने कम हो ।

राजु परियार, शर्मीला गुरुङ, राजकुमार बानियाँ, टीका सानु र लक्ष्मी खड्काको तीज गीत ‘रिस मात्रै तगडा’ले औसत भ्यूज पाएको छ । एक सातामा गीतको भिडियोलाई ७ लाख बढी पटक हेरिएको छ ।

सन्तोष केसीको तीज गीत ‘बुहारी’ले युट्युबमा औसत भ्यूज पाएको छ । सन्तोष केसी, शान्तीश्री परियार र राधिका हमालको स्वर रहेको गीतको भिडियोलाई दुई सातामा १० लाख बढी पटक हेरिएको छ ।

राजु परियार, पूर्णकला बिसी, अमृत सापकोटा, सुनिता बुढाक्षेत्री, कमला घिमिरे, सचिन परियार, रबिना बसेलको स्वर रहेको ‘बाउआमा ३–सजाय’ले युट्युबमा ३ दिनमा १३ लाख ७६ हजार बढी पटक हेरिएको छ । यता, थुप्रै तीज गीतहरुले अपेक्षित भ्यूज पाउन सकेका छैनन् ।

अनिता चलाउने, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी र बेनिशा पौडेल गरी पाँच गायिकाले स्वर दिएको तीज गीत ‘जिन्दगी दुई दिनको घाम छायाँ’को भ्यूज निकै कम छ । भिडियोको भ्यूज ४ दिनमा २ लाख पुग्न हम्मेहम्मे देखिन्छ । त्यस्तै खुमन अधिकारी र पूर्णकला बिसीको ‘त्यो पर्दैन’बोलको तीजगीतको भ्यूज निकै कम देखिन्छ । गीतको भिडियोले एक सातामा १ लाख मात्रै भ्यूज पाएको छ । अन्य थुपै तीज गीतहरुमा भ्यूजको खडेरी देखिएको छ ।

तीजका गीतमा लगानीकर्ताले राम्रै रकम खर्च गरेका छन् । तीजमा सार्वजनिक भएका गीत मध्ये एक प्रतिशत गीतले पनि लगानी फिर्ता गर्न नसक्ने अवस्था छ । तर, पनि तीजका गीतमा रहरै रहरमा लगानी हुन भने छाडेको छैन । यो बर्ष सार्वजनिक भैसकेका थोरै गीत मात्र दर्शकको मनमा बसेका छन् । अधिकांश गीत आएको नै दर्शकले थाहा पाउन सकेका छैनन् । तैपनि, तीजका गीतका छायांकन भने दैनिक आधा दर्जनको हाराहारीमा भैरहेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment