Comments Add Comment

कमला नदीको बाढीले धनुषाको सबैलामा तटबन्ध कटान, स्थानीयवासी त्रसित

५ साउन, जनकपुरधाम । कमला नदीमा आएको बाढीले धनुषामा तटबन्ध कटान गर्न थालेको छ । सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको बाँधमा कटान शुरु भएपछि रोकथामका लागि सुरक्षाकर्मी खटाइएको छ । नदीको पश्चिमतर्फको बाँधमा सोमबार रातिदेखि कटान शुरु गरेपछि स्थानीय त्रसित बनेका छन् ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले नदीमा आएको बाढीले तटबन्धको अधिकांश भाग कटान गरिसकेको जानकारी दिए । ‘तटबन्ध नै सकिने गरी कटान भएको छ,’ उनले भने, ‘कटान हुन थालेको सूचना पाएलगत्तै अहिले त्यसलाई रोकथामका लागि नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीको टोली खटिएको छ ।’

तटबन्ध कटान भइरहेको ठाउँमा प्रमुख जिल्ला अधिकरी वास्तोला र सुरक्षा अधिकारी सहितको टोलीले स्थलगत अनुगमन गरेका छन् । अनुगमनपछि वास्तोलाले तत्कालै स्थायी संरचना बनाउन नसकिने र अस्थायी रुपले नै काम गर्नुपर्ने देखिएको बताए । यो विषयमा केन्द्रमा पनि जानकारी गराइसकिएको उनले बताए ।

सुरक्षाकर्मी तथा स्थानीय समेतले कटान भइरहेको बाँधलाई रोक्नका लागि काम गरिरहेका छन् ।

चार स्थानीय तह उच्च जोखिममा

अस्थायी रुपले काम शुरु गरिए पनि ठूलो वर्षा भए तटबन्ध कटानलाई रोक्न नसकिने प्रजिअ बास्तोलाले बताए । ‘अहिले नदीको सतह पनि घटन थालेको छ । पानी नपरे समस्या नहोला,’ उनी भन्छन्, ‘तर ठूलै पानी पर्‍यो भने जोखिम छ ।’

ठूलै वर्षा भए सबैला, शहीद र कमला नगरपालिका तथा जनकनन्दनी गाउँपालिकालाई असर पार्न सक्नेछ । यी स्थानीय तहका अधिकांश गाउँ डुबानमा पर्न सक्ने खतरा देखिएको बास्तोलाले बताए ।

ठूलो वर्षा भए तटबन्ध भत्केर बाढी गाउँ प्रवेश गर्न सक्ने सम्बन्धी सूचना स्थानीय प्रशासनले जारी गरेको छ ।

बालुवा गिट्टी उत्खनन्को परिणाम

कमला नदी नियन्त्रण गर्न कमला नदी नियन्त्रण आयोजना नै गठन गरिएको छ । आयोजना प्रमुख एकराज भट्टराई भने नदी नजिकबाट बालुवा, गिट्टीको अत्याधिक उत्खनन् गरिएकाले यस्तो समस्या आएको बताउँछन् ।

नदीको बहाव परिवर्तन गर्ने गरी छेउछाउबाट माटो, गिट्टी निकालिएपछि बाँध कटान भएको उनको भनाइ छ । ‘नदीको धार नै परिवर्तन गर्ने गरी उत्खनन् गर्दा यो धार नदीको बीचतिर नआई पश्चिमतिर आएर बाँध कटान भएको छ,’ उनी भन्छन् ।

बजेट नदिंदा आकस्मिक काम गर्न गाह्रो

आयोजनाले सरकारले बजेट उपलब्ध नगराउँदा बाँधको मर्मत गर्न नसकिएको जनाएको छ । गत असार १६ गतेदेखि २१ गतेसम्म पानी बढ्दा अलिकति कटान देखिएको र तत्कालै नियन्त्रणमा लिइएको भट्टराई बताउँछन् । ‘सोमबार साँझ ५ बजेदेखि मुसलधारे पानी पर्‍यो । उच्च बहाव बन्यो । अनि नियन्त्रण गरिएको ठाउँदेखि तलतिरबाट बाँध काटिएको छ,’ उनी भन्छन् ।

नदी नियन्त्रणका लागि आकस्मिक काम गर्न बजेट मागे पनि अर्थ मन्त्रालयले नदिएको भट्टराईको भनाइ छ । ‘हाम्रो मन्त्रालय, विभागले प्रस्ताव गर्‍यो तर अर्थ मन्त्रालयले आकस्मिक शीर्षकमा पैसा काटेर पठाइदियो,’ भट्टराई भन्छन्, ‘पैसा भएपछि न आपतकालीन काम गर्ने हो ।’

अहिले गृह मन्त्रालयको पहलमा बजेट दिने काम शुरु गरिएको जानकारी आफूले पाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment