Comments Add Comment

कालीगण्डकी डाइभर्सनको मुद्दामा न्यायाधीशकै राय बाझियो

५ साउन, काठमाडौं ।  प्रारम्भिक चरणमा रहेको कालीगण्डकी डाइभर्सन आयोजनाको विषयमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ । अन्तरिम आदेश जारी हुनुपर्छ कि पर्दैन भन्नेबारे अब तीन सदस्यीय पूर्ण इजलासले विवाद निरुपण गर्नेछ ।

कालीगण्डकी डाइभर्सन आयोजनाको कामकारबाही तत्काल राेक्नुपर्छ भन्ने न्यायाधीश प्रकाशमानसिंह राउतको राय थियो । तर न्यायाधीश हरि फुँयालले प्रारम्भिक चरणमा रहेकाले अहिले आयोजनाको कामकारबाही पूर्ण रुपमा रोक्न आवश्यक नभएको भनी छुट्टै राय दिए ।

सर्वोच्च अदालतको संयुक्त इजलसामा दुई न्यायाधीशबीच राय बाझिएमा त्यसलाई तीन सदस्यीय पूर्ण इजलासमा लैजाने चलन छ ।

अधिवक्ता तुलसीराम पोखरेल समेत भएको मुद्दामा न्यायाधीश प्रकाशमानसिं राउतले कालीगण्डकी नदीको सभ्यता, दुर्लभ शालिग्राम पाइने नदी भएको, अमूल्य संस्कार र संस्कृतका साथै भावनात्मक विषय जोडिएकाले योजना कार्यान्वयन गर्नुपर्ने राय अघि सारेका हुन् । ‘वर्षौं लगाएर विज्ञहरुले तयार गर्ने वातावरणीय अध्ययन प्रतिवेदन तथा प्राविधिक अध्ययन प्रतिवेदन विना नदी डाइभर्ट गरी अर्बौं, खर्बौं लगानी गर्ने ठुला ठुला आयोजना सञ्चालन गर्दा आर्थिक, भौगोलिक, सामाजिक परिवेशलाई दूरगामी प्रभाव कस्तो पर्दछ ?’ न्यायाधीश राउतको रायमा भनिएको छ, ‘नदी नै डाइभर्सन गर्ने नाममा कालीगण्डकी नदीको स्वाभाविक बहाव र स्वरुप कसैले पनि बिगार्न र परिवर्तन गर्न हुँदैन ।’

यो प्रयासले संविधानको धारा २५ मा रहेको धार्मिक स्वतन्त्रताको हक, धारा ३० मा रहेको स्वच्छ वातावरणको हक, वातावरण संरक्षण ऐनको विभिन्न प्रावधानको प्रतिकूल रहेको भन्दै न्यायाधीश राउतले अन्तरिम आदेश जारी हुनुपर्ने राय दिएका हुन् ।

अर्का न्यायाधीश फुँयालले पनि राउतको यस्तो रायमा विमति जनाएका छैनन् । तर कालीगण्डकी डाइभर्सनसम्बन्धी आयोजनाको प्रारम्भिक खाका मात्रै तयार भएको र वातावरण संरक्षण ऐन अन्तर्गत तयार पार्नुपर्ने प्रारम्भिक कामहरु समेत बाँकी नै रहेकाले अन्तरिम आदेश आवश्यक नभएको भनी व्याख्या गरेका छन् । रिट निवेदनमा उठाइएका कतिपय विषयवस्तुहरु वातावरणीय प्रभाव प्रतिवेदन तयार पार्दा थप स्पष्ट हुने भन्दै न्यायाधीश फुँयालले रायमा भनेका छन्, ‘आयोजनाका प्रारम्भिक कार्यहरु नै रोक्ने गरी हाल अन्तरिम आदेश जारी गर्न मिलेन ।’

यसअघि अर्कै निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले कालीगण्डकी डाइभर्सनका कामकारबाही रोक्नु भनी अन्तरिम आदेश जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment