Comments Add Comment

दयाहाङदेखि अनमोलसम्म : को उपवास बस्छन्, को मन्दिर धाउँछन् ?

७ साउन, काठमाडौं । साउन अर्थात भक्ति-आराधनाको महीना । शरीर शुद्ध गरेर उपवास बस्ने प्रचलन छ । खासगरी महिलाहरु आफ्ना श्रीमानको दीर्घायु र सु-स्वस्थ्यको कामना गर्दै उपवास बस्छन् । विवाहितको मात्र के कुरा, अविवाहित समेत हुनेवाला श्रीमानका खातिर ब्रत बस्छन्, पूजापाठ गर्छन्, मन्दिर धाउँछन् ।

तर, के पुरुषहरु पनि यसरी नै श्रीमतीको दीर्घायु र सुखी जीवनको कामना गर्दै जप-तप गर्छन् ? यो लैंगिक समानताको प्रश्नभन्दा पनि भावनाको कुरा हो।

जस्तो अभिनेता दीपकराज गिरीको कुरा गरौं । उनी साउनको पाँच वटा सोमबार नै व्रत बस्छन् । पूजाआजा गर्छन् । ‘यसले कुनै दैवी लाभभन्दा पनि आत्मशुद्धि र सन्तोष मिल्छ’ दीपकराज भन्छन्, ‘यो एक किसिमको समर्पण र त्यागको भाव पनि हो ।’

अभिनेता दिलीप रायमाझीले पनि साउनमा श्रीमतीका खातिर ब्रत बस्ने अभ्यास नगरेका होइनन् । तर, उनले आफ्नो इन्द्रीयलाई वशमा राख्न सकेनन् । खानेकुरा देखे, लोभ लाग्यो, भोक जाग्यो । उनले ब्रत तोडेर भरपेट खाए । ‘महिलाहरुले ठूलो त्याग गर्नुभएको जस्तो लाग्छ मलाई’ अभिनेता दिलीप रायमाझी भन्छन्, ‘हामीमा त्यस्तो त्याग र धैर्यताको कमी छ ।’ कुनैबखत उनले उपवास बस्ने प्रयास पनि गरे ।

दलीप र दीपकराज मात्र होइन, दयाहाङ राइदेखि अनमोल केसीसम्मका शीर्ष अभिनेताहरुको अनुभव यहाँ साझेदार गरिएको छ ।

पूजाआजा गर्छु तर ब्रत बस्दिन : विपीन कार्की

म आस्तिक व्यक्ति हुँ । म धेरै आस्तिक भनेर नियमित पूजाआजामा धाउने र त्यसैमा लागिरहने व्यक्ति पनि होइन । न त नास्तिक भनेर मन्दिर नै नधाउने व्यक्ति नै हुँ । म नियमित मन्दिर जान्छु । मन्दिरमा म मूर्ति नै ढोग्छु भन्ने हुन्न । तर मलाई मन्दिरको छेउछाउ हिँड्दा मात्रै पछि छुट्टै अनुभूत हुन्छ ।

व्रत र संस्कारको विषयमा कुरा गर्दा म घरमा हुने पूजाआजा बाहेक त्यस्तो व्रत बस्ने गर्दिन । तर हाम्रो चलिआएको संस्कृतिलाई हामीले अघि बढाउनुपर्छ भन्ने मान्यता मेरो हो ।

कतिपय रुढीवादी परम्परा पनि होलान् । जस्तो पत्नी व्रत बस्दा पतिको आयु बढ्छ भन्ने आदि । तर यस्ता पक्षलाई वैज्ञानिक हिसाबले हेरियो भने व्रत बस्नु श्रीमान्को लागि नभएर आफ्नो लागि त राम्रो हुन्छ नि । त्यसैले समय समयमा व्रत बस्ने मान्छेलाई म चाहिँ नराम्रो चाहिँ भन्दिन । म आस्तिक हो तर अन्धभक्त होइन । त्यसैले भगवानको व्रत बसेर मात्रै सबै कुरा पूरा हुन्छ नै भन्ने चाहिँ लाग्दैन ।

ब्रत बस्नेप्रति मेरो सम्मान छ : दयाहाङ राई

म तटस्थ हुँ । म अहिलेसम्म व्रत बसेको पनि छैन र व्रत बसेर कसैको आयु बढ्छ भन्ने विश्वास पनि गर्दिन । तर व्रत बस्ने मान्छेप्रति मेरो पूरा सम्मान छ ।

मठ मन्दिरमा जाने कुरा सामान्य हो । म नास्तिक भनेर मन्दिरै जानुहुन्न, धर्म नै मान्नुहुन्न भन्ने खालको कट्टर नास्तिक पनि होइन । पूरा बन्दोबस्त मिलाएर पाठपूजामा नै धेरै समय बिताउने आस्तिक पनि होइन ।

साउनमा व्रत बस्ने कुरालाई धार्मिक दृष्टिले हेर्दा मलाई बस्नैपर्छ भन्ने लाग्दैन र कोही पनि बस्नु हुन्न भन्ने पनि लाग्दैन । मान्छे आफूलाई मन लागेको कुरा गर्न स्वतन्त्र हुन्छ । त्यसैले कसैलाई कुनै कुरामा विश्वास छ भने हामीले उसको आस्था र विश्वासमाथि टिप्पणी गर्नुहुन्न । तर मेरो विचारमा व्रत बसेर राम्रो फल पाइने होइन । कसैले पतिको नाममा वा पत्नीको नाममा व्रत बस्छ भने उसको शरीरलाई फाइदा हुन्छ । उसको मनको सन्तुष्टि मिल्छ भने त हामीले के गर्ने हो र ?

खानाको हिसाबमा पनि म सात्विक र राजसी दुवै खाले खानेकुरा खान्छु । समग्रमा भन्दा म जे आयो त्यसलाई पचायो भने जस्तै हो ।

म त पाँच वटा सोमबार नै ब्रत बस्छु : दीपकराज गिरी

म पूर्ण रुपमा आस्तिक मान्छे हुँ । मेरो परिवार नै पूरा आस्तिक खालको छ । म नियमित व्रत पनि बस्छु । साउनको ५ वटा सोमबार र दशैंको ९ दिन कहिलै छुट्दैन । हरेक एकादशीमा शुद्ध खानेकुरा मात्रै खानेगर्छु ।

मन्दिर धाउने सवालमा त म धेरै मन्दिर आउजाउ गर्नेमा नै पर्छु होला । विशेषगरी महादेव र श्रीकृष्णको मन्दिर बढी धाउने गर्छु । पशुपति, इस्कोन जस्ता मन्दिर त गइरहन्छु । मलाई मन्दिर धाउँदा आनन्द आउँछ । तर म पाँच रुपैयाँ चढाएर ५ लाख माग्न भने मन्दिर जान्नँ ।

व्रतको सवालमा मेरो अलिकति भिन्न मत छ । म व्रत बस्छु । तर कसैले व्रत बस्दैमा पति वा पत्नीको दीर्घायु हुन्छ वा अर्काेले बढी राम्रो पति पाउँछ भन्ने म विश्वास गर्दिन । यदि हामीले व्रत बस्दा पति वा पत्नीको आयु बढी हुने भए हिन्दु पतिहरु धेरै बाँच्नुपर्ने हो । यदि व्रत बस्दा धेरै राम्रो पति हुने भए मेरी पत्नीले महादेव जस्तो पति पाउँ भनेर व्रत बसेकी थिइन्, म परेँ हनुमान जस्तो । उदाहरण हामीभित्रै छ नि । त्यसैले व्रत बस्दैमा सबैकुरा हुन्छ भन्ने त होइन भन्ने लाग्छ ।

म त नियमित मन्दिर धाइरहेको हुन्छु : अनमोल केसी

म पनि पूरा आस्तिक मान्छे हुँ । मेरो दैनिकी नै पूजापाठबाट सुरु हुन्छ । कृष्ण मन्त्र उच्चहरण गरेपछि मात्र म अरु कामतर्फ लाग्छु ।

म मुख्य एकादशीहरुमा निराहार व्रत बस्छु । तर अरु समयमा सामान्य फलाहार गरेर बस्छु । म खानामा पूर्णतः शाकाहारी हुँ । म साउनको सोमबार पनि बस्छु तर राम्री पत्नी पाउँ भनेर भने होइन ।म नियमित जसो मठ मन्दिर धाइरहेको हुन्छु । कृष्णभक्त भएकोले कृष्णमन्दिरहरु गइरहन्छु । साथमा बुढानीलकण्ठ लगायत मन्दिर म गइरहन्छु । व्यावसायिक कामको सिलसिलामा कतै जाँदा पनि भेटेको मन्दिरमा म आउजाउ गरिरहन्छु ।

ब्रत बस्दा नसकेर बीचमै खाना खाएँ : दिलीप रायमाझी

दिलीप रायमाझी नेपाली चलचित्रका रोमान्टिक अभिनेता दिलीप रायमाझीका विभिन्न किस्साहरु पाइन्छन् । उनी नेपाली चलचित्र उद्योगका एक आस्तिक कलाकार हुन् । आफ्नो आस्था र विश्वासको बारेमा यसरी वर्णन गर्छन् ।

‘म पूर्णतः आस्तिक व्यक्ति हुँ । म कसैको हत्या गर्नुहुन्न भन्ने मनसायले खानपानमा पनि पूर्ण शाकाहारी खाना खान्छु । म जन्मजात शाकाहारी हुँ । मलाई सकेसम्म लसुन प्याज पनि खानु नपरोस् भन्ने लाग्छ । मेरो व्यक्तिगत स्वभावका कारणले म व्रत बस्न सक्दिन । एकपटक व्रत बस्ने कोसिस गरेको बीचमै नसकेर खाना खाएँ । तर व्रत बस्नेलाई म मान्छु ।

म नियमित मन्दिर पनि धाइरहने व्यक्ति हुँ । अहिले कोरोनाका कारण पशुपति मन्दिर बन्द छ तर पनि म बाहिर पुगेर दर्शन गरेर भए पनि फर्किन्छु । मन्दिर जानु र भगवानको भक्ति गर्नु मेरो लागि अति महत्वपूर्ण कुरा हो

अहिले साउनको महिना चलिरहेको छ । धेरै दिदीबहिनीहरु आफ्नो पतिको लागि भनेर व्रत पनि बस्नुहुन्छ । तर व्रत बस्दैमा अर्काको आयु घटबढ हुने नभए पनि हाम्रो पहिलेदेखि चल्दै आएको रीतिरिवाजलाई निरन्तरता दिँदा व्रत बस्नेको शरीरमा पनि फाइदा पुग्छ भन्ने मेरो बुझाइ हो । जसले खुला मनले भगवानसँग वर माग्छ । उसको इच्छा पूर्ति हुन्छ भन्ने मेरो विश्वासको कुरा हो ।

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुदर्शन अर्याल

ट्रेन्डिङ

Advertisment