Comments Add Comment
उत्तरी नाकाको पीडा :

व्यवसायी भन्छन्- सडक बनेन, मान्छेले बोकाएर अन्तर्राष्ट्रिय व्यापार कहिलेसम्म गर्ने ?

तातोपानी नाकाको मैत्री पुल

७ साउन, काठमाडौं । व्यवसायी फुनु शेर्पा नेपालका लागि चीनबाट स्याउ र रेडिमेट कपडाको आयात गर्छन् । तातोपानी नाका भएर उनले आयात गरेका वस्तु चीनबाट बढीमा १६ दिनमा काठमाडौं आइपुग्थ्यो । तर, पछिल्लो एक महिनादेखि फुनुले चीनबाट ल्याउने सामाग्री काठमाडौं आउन ३५ दिनसम्म लाग्न थालेको छ ।

सामान आइपुग्ने समय दोब्बरले बढ्दा सामानको लागत र असुरक्षा दुवै बढेको फुनुले अनलाइनखबरसँग दुखेसो गरे । ‘हामीले एक कन्टेनर स्याउ ल्याउँदा अहिले किलोमा पाँच रुपैयाँ थप लागत पर्न थालेको छ, झण्डै डेढ महिनासम्म पनि बाटो नबन्दा दुई ठाउँमा मानिसलाई बोकाउनु परेको छ,’ फुनुले भने ।

व्यवसायी लाक्पा शेर्पाका साथीले चीनबाट टूथपेस्ट भर्ने प्लान्ट नेपालका लागि मगाए । तातोपानी नाकामा आइपुगेको प्लान्ट मानिसले बोक्न नसक्ने भएपछि नेपाल ल्याउन सकिएन र पुनः व्यवसायीले त्यसलाई रसुवाको केरुङ नाका पठाए । लाक्पाकाअनुसार सो प्लान्ट अहिले केरुङमा भन्सार पासको पालो कुरेर अड्केको छ ।

तातोपानी भन्सारका लागि बनेको बैंक डकुमेन्टबाट केरुङबाट सामान ल्याउन पाइने/नपाइने अन्यौलमा फसेको शेर्पाले बताए । ‘बढीमा १६ दिनमा आउने सामान अहिले दुई ठाउँमा झार्नु पर्छ, मान्छेलाई बोकाउनु पर्छ । एक त सामान बिगि्रन्छ, अर्को लागत बढ्छ र पनि कहिले काठमाडौं आइपुग्छ ठेगान छैन,’ लाक्पाले भने ।

तातोपानीको बाटोको अवरोधका कारण केरुङमा महँगो भाडा तिर्न परेको र तातोपानीमै पनि श्रमिक खर्च बढेको उनले बताए । ‘चीनबाट तातोपानी नाका भएर गरिने व्यापार अहिले गर्नु कि मर्नुको अवस्थाको छ सरकारले सुनेन,’ लाक्पाले भने ।

चीनतर्फको व्यापारमा लामो अनुभव भएको सिल्क रोड ट्रान्सपोर्टका चिफ अपरेटिङ अफिसर कल्याण सिलवाल चीन तर्फको व्यापारमा आशाको सम्भावना क्षीण भएको बताउँछन् । कोभिड प्रोटोकल तथा स-साना समस्यामा पनि लामो समय व्यापार प्रभावित हुन थालेपछि व्यवसायीहरु निरुत्साहित भएको उनको भनाइ छ ।

‘असार २ गते रातिको पहिरोले बिगि्रएको पुल ३५ दिनसम्म पनि नबन्नु लापरवाहीको हद हो । राजमार्ग नबनेर, मान्छेले बोकाएर अन्तर्राष्ट्रिय ब्यापार कसरी हुन्छ ?’

सिलवाललले सरकारसँग प्रश्न गरे । समान केरुङ लैजाँदा दोब्बर खर्च हुने र तातोपानीबाट सामान पल्टी गरेर ल्याउन पनि सहज नहुने उनले सुनाए । एक ठाउँमा ५० मिटर र अर्को ठाउँमा २० मिटर बाटो बनाउन राज्यले डेढ महिनामा पनि नसकेको भन्दै व्यवसायीहरुले आक्रोश पोखे ।

कहिले बन्छ बाटो तातोपानी सडक ?

असार ३ र ८ गतेको पहिरोले तातापानी र काठमाडौंलाई जोड्ने कोदारी राजमार्गको दुई ठाउँमा क्षति पुर्याएको छ । लिपिङ पुल र कोदारी बजार गरी दुई ठाउँमा पहिरोले झण्डै ५० मिटर बाटो पहिरोले अबरुद्ध भएको तातोपानी भन्सार प्रमुख नारद गौतमले जानकारी दिए ।

चीनबाट नेपाल आउन सबैभन्दा छोटो नाकाको रुपमा चिनिएको नाकामा पहिरोका ३५ दिनदेखि व्यापार अबरुद्ध भएको गौतमले बताए । ‘पल्टी भएर आएका सामानको भन्सार पास भएको छ, अन्य व्यापार अबरुद्ध छ, सहजीकरणका लागि मैले सक्दो प्रयास गरेको छु’ भन्सार प्रमुख गौतमले भने ।

सडक मर्मतको जिम्मेवार निकाय डिभिजन सडक कार्यालय चरिकोटकाअनुसार लिपिङ खोला र कोदारी बजारनेर नदीले कटान गरेको छ । बल्लतल्ल कोदारी बजारबाट अस्थायी बाटोबाट गाडी पास भए पनि भोटीकोसीले कटान गरेको लिपिङ पुलको बेस अझै बन्न नसकेको डिभिजन सडक कार्यालयका प्रमुख विजय महतोले बताए ।

अस्थायी रुपमा २८ गतेदेखि कोदारी सञ्चालनमा ल्याायौं, लिपिङ पुलमा काम गर्न निकै कठिन भएको छ,’ डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख महतोले भने ।

निकै ठाडो भिरमा डोरीले कम्मरमा बाँधेर थोरै कामदारबाट काम लगाइरहेको उनले बताए । पुलको फाउण्डेसनमै समस्या आएका कारण दुई जना श्रमिकले हरेक दिन डोरीमा झुण्डिएर ड्रिल गर्दै काम गरेको उनको भनाइ छ । पुलको बेसमेन्ट बनाउन १६ जना कामदार खटिएका छन् । निर्माण पूर्णरुपले सम्पन्न गर्न अझै १० दिनजति लाग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नवीन ढुंगाना

ट्रेन्डिङ

Advertisment