+
+
Shares

अष्ट्रेलियाको लन्चेस्टनमा घन्कियो नेपाली पञ्चेबाजा

प्रतीक सिग्देल प्रतीक सिग्देल
२०७८ साउन ७ गते ११:५९

तास्मानिया । नेपालमा नै लोप हुँदै गएको नेपाली पञ्चेबाजाको संरक्षणमा अस्ट्रेलियाको ताज्मानियास्थित लन्चेस्टनमा बस्ने नेपाली युवाहरु लागि परेका छन् ।

नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको पहलमा यहाँका युवाहरुले नेपाली मौलिक लोक संस्कृतिको गर्विलो परिचय बोकेको पञ्चेबाजाका लागि आवश्यक सामग्री खरीद गरी लोपोन्मुख पञ्चेबाजाको संरक्षण गर्न लागि परेका हुन् ।

विदेशमा आएर पनि आफ्नो मौलिक संस्कृति नबिर्सिएको र यसको महत्व विदेशमा हुर्किएका नयाँ नेपाली पुस्तालाई हस्तान्तरण गर्ने योजनाअनुरुप आफूहरुले पञ्चेबाजा संरक्षण गर्ने योजना बनाएको सोसाइटीका निवर्तमान अध्यक्ष नवराज मुडवरीले बताए ।

‘यहाँ कुनै शुभकार्य हुँदा हामीहरु साउण्ड सिस्टममा घन्किएका विदेशी गीतहरुमा नाच्छौंं,’ पञ्चेबाजाको संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मित्र गुरुङले पञ्चेबाजा किन्ने योजना कसरी सुरु भयो भन्ने विषयमा अनलाइनखबर अस्ट्रेलियासँग भने, ‘हामी हाम्रै मौलिक बाजाको धुनमा छमछमी नाच्न पाउँदा कस्तो हुन्थ्यो होला ?’

यस्तै यस्तै कुराहरु उनको मनमा खेलिरहँदा सोसाइटीमार्फत पञ्चेबाजामा प्रयोग हुने सनई, दमाह, ट्याम्को, झ्याली र ढोलकको एक सेट उनले नेपालबाट मगाए । अनि शुरु भयो पञ्चेबाजा संरक्षण अभियान ।

संयोग मान्ने कि उनको क्षमता, पञ्चेबाजामा प्रयोग हुने सम्पूर्ण बाजाहरु बजाउन उनी खप्पिस छन् । बाजा सिक्न इच्छुक युवाहरुलाई सिकाइ रहेका पनि छन् ।

‘यहाँ हुर्किएको हाम्रो नयाँ पुस्तालाई बाजाहरु चिनाइयो भने उनीहरुमा पनि बजाउन सिक्ने इच्छा लाग्न सक्छ, यसरी नै त हो कि हाम्रो लोक संस्कृति अर्को पुस्तामा हस्तान्तरण हुने,’ उनले भने ।

यही आइतबार तास्मानियास्थित लन्चेस्टनमा बसोबास गर्ने नेपालीहरुको संगठन नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको तेश्रो वार्षिक साधारण सभा यही बाजा बजाएर उद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रममा पञ्चेबाजा घन्किँदा उपस्थित बालबालिकाहरु पनि यो बाजा र यसको धुनप्रति आकर्षित भएको देख्न पाइन्थ्यो ।

नेपालमा विवाह, व्रतबन्ध तथा अन्य शुभकार्यमा प्रयोग हुने पञ्चेबाजाको धुन विदेशमा समेत सुन्न पाउँदा उक्त कार्यक्रममा उपस्थित नेपालीहरु पनि दंग परेका थिए ।

‘विदेशमा आएर पनि पञ्चेबाजाको धुनमा नाच्न पाइएला भन्ने साचेकै थिएनौं, यो बाजाको धुनले आफू नेपालमै भएको भान भयो,’ पञ्चेबाजाको धुनमा नाच्नेहरु एकै स्वरमा भन्दै थिए ।

सोसाइटीमा नयाँ नेतृत्व

यसैबीच नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको तेश्रो वार्षिक साधारण सभाले प्रशान्त खनालको नेतृत्वमा ८ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।

उक्त सभाले सचिव पद रिक्त राखी उपाध्यक्षमा सुदीप रजक, कोषाध्यक्षमा दृष्टि अधिकारी, सहसचिवमा प्रदीप अधिकारी चयन गरेको छ ।

यस्तै सन्दीप कार्की, दीपेन्द्र श्रेष्ठ, सरु सुवेदी र उत्तम तिवारीलाई सदस्यमा मनोनित भएका छन् ।

रिक्त भएका सदस्यका पद सोसाइटीको आगामी बैठकले पूर्ति गर्ने अध्यक्ष खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?