Comments Add Comment

नेपाल विकासका प्रमुख चार सूत्र

नेपालको राजनैतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्ने हुन्छ । हामी दुईजना मिलेर ७७ वटै जिल्लामा देश विकासका लागि के-कस्ता सम्भावना छन् र के-के गर्न सकिन्छ भनी वस्तुगत भ्रमण गरेका छौं ।नेपालजस्तो भौगोलिक अवस्था र भू-परिवेष्टित अल्पविकसित देशको विकासका लागि अरु देशको विकास मोडेल ल्याउन आवश्यक छैन‚ न त त्यो मोडेललाई यहाँ लागू गर्न सकिन्छ ।

यहाँ न त साउदी अरेबिया जस्तो (मात्र १.२ करोड जनसङ्ख्या रहेको विश्वको नम्बर १ तेल उत्पादक जसको प्रतिव्यक्ति आय १२ हजार ८४७ अमेरिकी डलर छ) विकास मोडेल ल्याउन सकिन्छ न त ब्राजिल जस्तै सुन‚फलाम‚ टिन‚ तामा‚ जलविद्युत्‚ हिरा बेच्न सकिन्छ न त चीनको जस्तो सुन‚ कोइला‚ फलाम‚ तेल‚ मेसिनरी औजार अन्तर्राष्ट्रिय बजारमा बेचेर विकास नै गर्न सकिन्छ ।

नेपालको विकासका लागि देखिएका विभिन्न तरिका मध्ये निम्न आधारहरू प्रमुख देखिन्छन्–

एकदेखि चार शब्दमा विकास गर्न सकिने मन्त्र हामीले यसरी देखाएका छौं ।

एक शब्दमा – दक्ष जनशक्ति
दुई शब्दमा – दक्ष जनशक्ति र राजनैतिक स्थिरता
तीन शब्दमा – दक्ष जनशक्ति‚ राजनैतिक स्थिरता र प्राकृतिक स्रोत
चार शब्दमा – दक्ष जनशक्ति‚ राजनैतिक स्थिरता‚ प्राकृतिक स्रोत र सडक

देश विकासका लागि एक शब्दको मन्त्रबाट शुरुआत गर्ने

दक्ष जनशक्ति

नेपालको जनशक्ति समयअनुसार परिवर्तन गर्न सकिएको छैन । आज भन्दा ४०/५० वर्ष पहिले नेपालको जनशक्ति विश्व बजारमा अलि अलि बेचिन सक्थ्यो तर आजको नयाँ-नयाँ प्रविधि र विज्ञान भएको बेला नेपालको जनशक्ति विश्व बजारमा पूर्ण रुपमा अदक्ष भनी बुझिन थालेको छ ।

आज नेपाली जनशक्ति विश्व बजारमा सुरक्षा गार्ड र मजदूर बाहेक अन्य भनी चिनिने अवस्था छैन । नेपालमा जनशक्ति विकासका लागि सरकारीस्तरबाट वार्षिक १०/१५ हजार इन्जिनियर उत्पादन गर्न बीसौं विधामा निःशुल्क अध्ययन गराउने‚ व्यवस्थापनका विभिन्न विधामा पनि नि:शुल्क हजारौं जनशक्ति प्रति वर्ष उत्पादन गर्नुपर्ने जस्ता कार्यक्रम शुरुआत गर्नुपर्ने हुन्छ ।

आज भारतको जनशक्ति विश्व बजारमा राम्रो व्यवस्थापक तथा राम्रो आइटी विज्ञको रुपमा परिचित छ भने नेपालको जनशक्ति तेल भर्ने‚ सुरक्षा गार्ड गर्नेमा सीमित रहेको छ । त्यसकारण जबसम्म देशको जनशक्ति अर्धकुशल वा पूर्ण कुशल हुँदैन तबसम्म देश विकास असम्भव नै हुन्छ । त्यही भएर जनसंख्यामा ४७ औं स्थानमा रहेको नेपालको विकासको अर्को प्रमुख सूत्र दक्ष जनशक्ति उत्पादन हो ।

हामीले जनसंख्यालाई कमजोरी हैन हतियार बनाउनुपर्दछ । चीनले ५० वर्ष पहिले जनसंख्यालाई कमजोरी बनाई एक परिवार एक बच्चा नीति ल्याएको थियो । तर आज उसको जनशक्ति विश्व बजारमा बेचिएको बेला तीन जना बच्चाहरूसम्म जन्माउन सक्ने नीति ल्याइसकेको छ । त्यसकारण हामीले पनि जनशक्ति विश्व बजारमा बेच्न सक्ने उत्पादन गर्नुपर्ने हुन्छ ।

राजनीतिक स्थिरता

छिमेकी देश भारतमा विगत २० वर्षमा दुई प्रधानमन्त्री १०/१० वर्षका लागि सरकारको प्रमुख भए भने चार पटक मात्र सरकार गठन भएको छ । तर नेपालमा विगत २० वर्षमा १९ पटक प्रधानमन्त्री परिवर्तन भए भने ८० भन्दा बढी पटक मन्त्रीहरू परिवर्तन भएका छन् । नेपालको विकास हुन नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता नै हो ।

सरकारले नीति‚ योजना‚ परियोजनाहरू वर्तमानको आवश्यकता र भविष्यको लक्ष्य लिई हिंड्नुपर्ने हुन्छ तर नेपालमा कुनै सरकार १५ दिन टिक्छ भने कुनै ६ महिना‚ कुनै मन्त्री तीन दिनका लागि मन्त्री हुन्छन् भने कुनै तीन महीनाका लागि ।

राजनीतिक स्थिरताले देश विकास गर्ने गर्दछ तर यहाँ राजनीतिक अस्थिरताको कारणले न त सरकारले दीर्घकालीन विकास गर्ने नीति ल्याउन सक्छ न विकास निर्माण गर्न नै । त्यसकारण नेपालको विकासका लागि राजनीतिक अस्थिरता सबैभन्दा ठूलो समस्या भएको छ । एक सरकारले खर्बौं रकम खर्चने योजना ल्याई १०औं अर्ब खर्च गर्दछ तर त्यो कामले निरन्तरता पाउँदैन‚ अर्को सरकारले उक्त योजनालाई निरन्तरता नदिई अर्कै योजना अगाडि सार्ने गर्दछ जसले देशको अर्बौं रकमको काम अधुरो रहेको देखिन्छ ।

प्राकृतिक स्रोतहरू

नेपाललाई प्रकृतिले धेरै धनी बनाएको छ‚ तर नेपालले उक्त प्रकृतिको स्रोतलाई प्रयोग गर्न सकेको छैन । हतार हतारमा निर्णय नगरी सरकारले गहन अध्ययन गरी प्राकृतिक स्रोतहरू बेच्नुपर्ने देखिन्छ । देशले आफूसँग जे छ त्यहीबाट विकल्प खोज्नुपर्ने हुन्छ । नेपालबाट पानी‚ काठ‚ ढुङ्गा‚ गिट्टी‚ बालुवा‚ तामा‚ म्याग्नेसियम‚ चुनढुङ्गा‚ सुन‚ अभ्रख जस्ता प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरेको खण्डमा नेपालको अर्थतन्त्र विकासमा अन्य विकल्पको आवश्यकता नै नपर्ने देखिन्छ ।

जनशक्ति‚ राजनीतिक स्थिरता जस्तै नेपालमा प्राकृतिक स्रोतको प्रयोग गरी देशलाई गज्जबले विकास गर्न सकिन्छ । तर नेपालमा प्राकृतिक स्रोतहरूको खासै प्रयोग भएको पाईंदैन बरु विदेशबाट अर्बौं खर्च गरी आयात गर्ने गरिन्छ । उदारणका लागि सेतो सुन भनेर चिनिने जलविद्युतको अपार सम्भावना भएको मुलुक हो नेपाल ।

यहाँको विद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको तथा आर्थिक तथा प्राविधिक दृष्टिकोणले ४२ हजार मेगावाट सजिलै उत्पादन गर्न सकिने भनी पढ्दै‚ सुन्दै‚ लेख्दै आएका छौं । तर पनि हालसम्म उत्पादनको लागत हेर्दा प्रतिमेगावाट १५ करोडदेखि २७ करोडसम्म लागत भएको देखिन्छ । जल विद्युतमा लगानी गर्नु मात्रै नभएर आधुनिक प्रविधि अनुसार प्रतिमेगावाट ५/७ करोडमा पनि जलविद्युत् उत्पादन गर्न सकिने थुप्रै स्थान रहेका छन् र सम्भावना पनि छ ।

देश विकासका लागि आर्थिक अभावका कारणले अन्तर्राष्ट्रियस्तरबाट ऋण लिएर भए पनि नेपालमा एक शब्दबाट शुरुआत गर्नुपर्ने हुन्छ । चाहे त्यो जनशक्ति होस् वा प्राकृतिक स्रोतको प्रयोग वा सडक । नेपालको विकास देखिए जति कठिन पनि छैन जति हामीले सोच्ने गरेका छौं । नेपालले विकासका लागि सही गति लिन नसकेको अवस्था मात्र हो । माथि उल्लिखित सूत्रहरूमध्ये एकको पनि सही प्रयोग नहुँदा देश विकासका आधारभूत चरणहरूमा नै रुमलिरहेको छ ।

नेपालको विकासका लागि र सजिलै विश्व बजारमा उत्पादन बेच्न सकिने एक मन्त्र जलविद्युत् नै हो । जलविद्युतको विकासले हाम्रो जीवनस्तरमा ठूलो फरक ल्याउन सक्ने अवस्था छ । जलविद्युतका ५०० देखि १००० मेगावाटका परियोजना तथा त्यसबाट चल्ने सहायक अन्य परियोजनाहरू ल्याउन सकेमा नेपाल विकासमा फड्को मार्न सक्दछ । जति ठूलो जलविद्युत् परियोजनाहरू हुन्छन् त्यति नै जलविद्युतमा प्रति मेगावाट लगानी कम हुँदै जान्छ ।

१०० मेगावाट भन्दा कम क्षमताका जलविद्युत परियोजनाहरूको लागत नै बढी लाग्ने देखिएकोले सरकारीस्तरबाट नै जनतासँग मिली (पब्लिक प्राइभेट पार्टनरसिप) को धारणा अनुसार ठूला परियोजना सञ्चालन गरेमा विश्व बजारमा हामी सजिलै सस्तोमा विद्युत् बेच्न सक्छौं । जुन हालको आवश्यकता पनि हो । उदारणका लागि भेरी बबई जलविद्युत् आयोजनालाई लिन सकिन्छ । जम्मा ४८ मेगावाट उत्पादन रहेको उक्त आयोजनाले बाँके र बर्दियाको ५१ हजार हेक्टर जग्गामा बाह्रै महीना नै सिंचाइ गर्दा वार्षिक ३.१ अर्ब कृषि उत्पादनबाट तथा २.२ अर्ब विद्युतबाट आम्दानी गर्न सकिने देखिन्छ ।

सरकारीस्तरबाट यस्ता १० वटा आयोजना गर्न सकेमा देशले हालको बजेटको ५ प्रतिशत रकम बराबर आम्दानी गर्न सक्दछ । यस्ता परियोजनाहरू (पीपीपी) अवधारणा अनुसार १० वटा खोल्नु नेपालका लागि खासै ठूलो देखिंदैन । ५००-१००० मेघावाटका पाँच जलविद्युत् परियोजनाहरू सञ्चालन गर्न सकेमा वार्षिक ५०० अर्बको आम्दानी मात्रै गर्न सकिन्छ जुन हाम्रो सम्पूर्ण अर्थ व्यवस्थाको १० प्रतिशतभन्दा बढी हुन्छ । त्यसकारण नेपालको विकासका लागि सबैभन्दा उत्तम प्राकृतिक स्रोतको प्रयोगको उत्पादन जलविद्युत् नै हो ।

त्यसैगरी नेपालमा प्रशस्त भएर पनि प्रयोग हुन नसकेको प्राकृतिक स्रोत वनजङ्गल पनि हो । नेपालमा वार्षिक १७ करोड क्यूफिट काठको आवश्यकता पर्दछ तर नेपालको जंगलबाट दुई करोड क्युविक फिट पनि काठ निकालिंदैन जबकि नेपालले राम्ररी वन व्यवस्थापन गरेमा विदेशमा मात्रै वार्षिक २०० अर्बको काठ बेच्न सक्ने अनुमान गर्दा हालको वनलाई खासै असर नपर्ने देखिन्छ । जबकि हाल नेपालमा वार्षिक रुपमा प्रयोग हुने काठको विकल्पमा मलेसियन काठ‚ न्यूजिल्याण्डको काठ‚ यूपीभीसी‚ आल्मोनियम‚ फलाम आदि गरी १५ करोड क्युबिक फिट आयात गर्दा नेपालको अर्बौं रकम बाहिर गएको छ । यस्तै बाँझो रहेको जग्गाहरूमा सरकारीस्तरबाट फलफूल‚ कृषि खेतीहरू गरी अर्बौं रकम जोगाउन सकिन्छ ।

सडक :- नेपालमा ‘विकास गाडी चढेर आउँछ’ भन्ने उखान रहेको छ । जुन ठाउँमा गाडी पुग्यो त्यहाँ विकास हुन्छ त्यो एकदमै सही कुरा हो । नेपालमा हालसम्म सबै स्तरका सम्पूर्ण सडकहरूको लम्बाइ १६ हजार ५०० कि.मी रहेको छ । जसमा चार लेनको १२५ कि.मी जति मात्र रहेको छ भने २ लेनको २ हजार १०० किलोमिटर‚ सिङ्गल लेन कालो पत्रे ६ हजार कि.मी.‚ ग्राभेल स्तरको १ हजार ५०० कि.मी.‚ ट्रयाक खुलेको ५ हजार कि.मी. र निर्माणाधीन सडक ३ हजार कि.मी छ । उक्त सडकमा करीब २ हजार पुल र ७०० निर्माणाधीन पुल रहेका छन् । जुन नेपाल जस्तो देशका लागि अति न्यून हो ।

नेपालमा ८ लेन सडक २०० कि.मी‚ ६ लेन सडक ५०० कि.मी‚ ४ लेन सडक २ हजार कि.मी‚ २ लेन ३ हजार कि.मी.‚ तथा सिंगल कालो पत्रे १० हजार कि.मी जति भए पनि पुग्छ देशभरिको सडक सञ्जालका लागि । यो मोडलको पनि जम्मा १६ हजार ५०० कि.मी जति नै लम्बाइ पुग्छ । नेपालमा अब सडकको स्तरोन्नति गर्नुपर्ने आवश्यकता देखिन्छ । ठूलो कम्पनी‚ कारखानाहरू नेपालमा स्थापना गर्नका लागि ६ लेनको सडकहरू भारतसँग कम्तीमा एक प्रदेशमा दुई स्थानबाट जोड्नुपर्ने देखिन्छ भने चीनसँग देशभरि चार स्थानबाट जोड्न सके पुग्छ ।

यसरी सडक तथा यातायात भारत र चीनसँग जोड्न सकेमा नेपालमा विदेशी लगानी जति पनि भित्र्याउन सकिन्छ । श्रम सस्तो भएको नेपालमा ठूला सडक सञ्जालले भारत र चीनका ठूला शहरसँग जोड्न सकेमा नेपालमा विदेशी कम्पनीहरू स्थापना गर्न खुशीसाथ भित्रने छन् । यसरी विदेशी कम्पनीलाई भित्र्याउनका लागि केही वर्षका लागि कर छुट तथा जग्गा नि:शुल्क दिन सकेमा नेपालको विकासलाई हालका समकालीन देशहरूले भेट्न सक्ने अवस्था नै रहँदैन । हालको अवस्थामा मात्रै सडक सञ्जाल स्तरोन्नति गरेमा त्यसले वार्षिक १० खर्बभन्दा बढी रकम बराबरको अर्थ व्यवस्थालाई सहयोग गर्न सक्छ जुन हालको अर्थ व्यवस्थाको २२ प्रतिशत भन्दा बढी हुन्छ ।

देश विकासका लागि आर्थिक अभावका कारणले अन्तर्राष्ट्रियस्तरबाट ऋण लिएर भए पनि नेपालमा एक शब्दबाट शुरुआत गर्नुपर्ने हुन्छ । चाहे त्यो जनशक्ति होस् वा प्राकृतिक स्रोतको प्रयोग वा सडक । नेपालको विकास देखिए जति कठिन पनि छैन जति हामीले सोच्ने गरेका छौं । नेपालले विकासका लागि सही गति लिन नसकेको अवस्था मात्र हो । माथि उल्लिखित सूत्रहरूमध्ये एकको पनि सही प्रयोग नहुँदा देश विकासका आधारभूत चरणहरूमा नै रुमलिरहेको छ ।

यदि राजनीतिक स्थिरता भई माथि रहेको कुनै पनि एक आधारमा देश दौडिन सक्यो भने नेपाल देश विकसित हुन दुई/तीन दशक पनि नलाग्ने देखिन्छ । त्यसकारण नेपाललाई विकास गर्न माथि उल्लिखित कुनै एक सूत्रमा जोड दिई अगाडि बढ्नुपर्ने देखिन्छ ।

(लेखक चन्द अर्थविद् र दुवाल इन्जिनियर हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment