Comments Add Comment

नागरिकता विधेयक पास नगरेर ठूलो अपराध गरेका छौं : सांसद राई

७ साउन, काठमाडौं । राष्ट्रियसभाकी सांसद विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको बताएकी छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संविधान अनुसार नागरिकता पाउनुपर्ने ६ लाख युवाहरु नागरिकता विहीन हुनुको जिम्मेवार सांसदहरु रहेको टिप्पणी गरेका हुन् ।

‘निवर्तमान सरकारले कानुनको मस्यौदा गरेर प्रतिनिधिसभामा बुझायो । प्रतिनिधिसभाले तीन वर्षदेखि छलफल गरेको गरेकै छ, राष्ट्रियसभामा अहिलेसम्म आएको छैन । दलीय सहमतिको नाममा ६ लाख नागरिक हुने युवालाई नागरिकताविहीन बनाएर राख्न मिल्छ ?’ उनले भनिन्, ‘त्यो चाँडो निकाल्न पर्दैन ? सम्माननीयज्यू, यो एकदमै ठूलो अपराध गरिरहेका छौं ।’

नागरिकताविहीन हुनेहरुको पीडाले सांसदहरुलाई छुन नसकेको सांसद राईले बताइन् । ‘हामी संसदमा बस्ने सांसदहरु नागरिकताविहीन छैनौं, हाम्रा छोराछोरी पनि नागरिकताविहीन छैनन् । त्यसैले यसले हामीलाई कति छोएको छ शंका लागेको छ’ उनले भनिन् ।

यदि दलीय सहमति नजुटेर विधेयक अगाडि नबढेको भए यति ठूलो जनसरोकारको विषयमा सांसदहरुले फ्लोर क्रस गर्न सक्नुपर्ने सांसद राईले बताइन् ।

‘दलीय सहमति नजुटेर पास भएको छैन भने फ्लोर क्रस गर्ने चलन बसिहाल्यो, त्यस्ता कुरामा फ्लोर क्रस गरौं, जसले जनताको टड्कारो आवश्यकता पूर्ति हुन्छ’ उनले भनिन् ।

संसद अधिवेशन शुरु हुनेवित्तिकै सांसदहरुलाई नागरिकताविहीन युवाहरुले एसएमएस पठाउने गरेको भन्दै सांसद राईले ती युवाहरु नेपाली भएर पनि संविधानले दिएको मौलिक हक उपयोग गर्न नपाएको बताइन् ।

संविधान अनुसार नेपाली नागरिक आमाको सन्तानले पनि नागरिकता पाउने व्यवस्था गरेको भन्दै उनले संविधान जारी भइसकेको ५ वर्षसम्म किन संविधान कार्यान्वयन हुन नसकेको भनी प्रश्न गरिन् ।

‘कानुन संविधानसँग बाझिन्छ भने संविधानमा भएको कुरा लागू हुन्छ, तर त्यही कुरा लेखेर आएको विधेयक किन पास हुदैन ?’ उनले प्रश्न गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment