
८ साउन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । पूर्वउप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापालाई भेट्न विप्लवले पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)सहित बुढानीलकण्ठ पुगेका थिए ।
भेटमा विप्लवले विप्लवले सरकारसँग भएको तीनबुँदे सहमतिसँगै खुल्ला राजनितिमा आएपनि अझै कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका छन् । आफ्ना १२५ भन्दा धेरै कार्यकर्ता अझै जेलमा रहेको भन्दै उनले सहमति गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको बर्हिगमन भएपनि सहमति कार्यान्वयन गरोस् भन्नेमा लागि परेको बताए । यसमा राप्रपाको सहयोगको समेत अपेक्षा गरेका उनले बताए ।
विप्लवले कुनै पनि राजनीतिक शक्तिलाई निषेध गर्न नहुने राप्रपाको धारणाको प्रशंसा गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।
जवाफमा राप्रपा अध्यक्ष थापाले सहमति कार्यान्वयन हुनुपर्छ भन्ने आफ्नो पार्टीको रणा रहेको बताए । ‘तपाईँहरुले उठाएको सवालमा राप्रपाको साथ र समर्थन छ,’ थापाले भने, ‘देशले निकास पाउन परिवर्तनकारी शक्ति र परम्परावादी शक्ति मिल्नु जरुरी छ ।’
जनमत संग्रहको कुराले होस् वा अन्य कुनै राष्ट्रिय सहमतिले विप्लवदेखि राजासम्म अटाउने राजनितिक प्रणालीको विकास हुनुपर्ने थापाले उल्लेख गरे ।
प्रतिक्रिया 4