Comments Add Comment

सहमति उल्लंघन गरेको भन्दै गण्डकीमा जसपाले शपथ बहिस्कार गर्ने

८ साउन, पोखरा । आफूहरुसँग भएको सहमति उल्लंघन भएको भन्दै जनता समाजवादीले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिस्कार गर्ने बताएको छ ।

जसपाका सांसद तथा मन्त्री हरिशरण आचार्यले मन्त्रिमण्डल विस्तारमा बेइमानी र नियम उलंघन भएकाले आफूहरु सपथ कार्यक्रममा उपस्थित नहुने बताएका हुन् ।

गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत लिनुअघि जसपासँग अर्थसहित २ मन्त्रालय दिने लिखित सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन नभएसम्म आफूले जिम्मेवारी नलिने मन्त्री आचार्यले अडान राखेका थिए । पछि नेपाली कांग्रेसले माओवादीसँग गरेको सहमतिका कारण अर्थ जसपालाई दिन नसक्ने तर, अर्थबाहेक २ मन्त्रालय दिन सक्ने प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जवाफ दिएका थिए ।

दुई सांसद भएको जसपाका दुवै मन्त्री हुने योजनामा थिए । हाल मन्त्री आचार्यले भौतिकबाट टुक्रिएको ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

मन्त्रिमण्डल विस्तारका क्रममा सम्झौताविपरीत भएपछि कांग्रेसले राजनीतिक बेइमानी गरेको मन्त्री आचार्यले अनलाइनखबरलाई प्रतिक्रिया दिएका छन् । ‘राजनीतिक बेइमानी गर्नेसँग कसरी सकियो र ? कांग्रेसले त आगामी दिनमा पनि सहकार्यको बाटोलाई साँघुरो बनाएको सत्य हो,’ उनले भने ।

मन्त्री आचार्यले अहिले आफूहरुलाई सानो पार्टी भनेर हेपेको तर, त्यसको नतिजा चाँडै निस्किने दाबी गरेको छन् । ‘साना भनेर हेपेका छन् । पछि यीनै साना पार्टी ठूला हुन्छन् भनेर बिर्सेका छन्,’ उनले भने, ‘सबै आफ्नो आयु बाँचेर मर्ने हो । आज सानो पार्टी जन्मेको छ, समयसँगै विकसित हुन्छ । यो बुझ्नुपर्ने कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment