Comments Add Comment

सरकारले ३० हजार मेट्रिकटन चिनी आयात गर्ने

८ साउन, काठमाडौं । सरकारले भन्सार सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्ने भएको छ । ठूला चाडपर्वलाई लक्षित गर्दै ३० हजार मेट्रिकटन चिनी खरिदको लागि अर्थ मन्त्रालयसँग सहमति मागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

अर्थको सहमति मन्त्रिपरिषद्बाट निर्णय गराएर साल्ट ट्रेडिङ वा खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी आयातको अनुमति दिइने मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

‘अर्थसँग ३० हजार मेट्रिकटन चिनी खरिदका लागि सहमति मागेको छौं, उसले अनुमति दिएपछि प्रक्रिया बढ्छ,’ सहप्रवक्ता केसीले भनिन् ।

बजारमा प्रतिकिलो एक सय रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको मन्त्रालयले जनाएको छ । बजार भाउ नियन्त्रणमा राख्न र मुख्य चाडपर्वमा हुने अभाव रोक्न सहुलियतको चिनी खरिद गर्न लागिएको मन्त्रालयको भनाइ छ ।

अघिल्लो वर्ष पनि सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी खरिद गरेको थियो । तर, निजी चिनी उत्पादकले भने यो वर्ष चिनीको उत्पादन राम्रो हुने भएकाले आयात जरुरी नभएको बताएका छन् ।

चिनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवाल १२ वटा उद्योग पूर्ण रुपमा सञ्चालनमा रहेको र यो वर्ष दुई लाख मेट्रिकटन चिनी उत्पादन हुने दावी गर्छन् ।

‘गत वर्षभन्दा यो पटक ८० हजार मेट्रिकटन बढी चिनी उत्पादन हुन्छ  आयात गर्नु पर्दैन,’ अग्रवालले भने । निजी चिनी उत्पादकका अनुसार नेपालमा वाषिर्क साढे दुई लाख मेट्रिकटन चिनीको खपत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment