Comments Add Comment

तस्वीरमा हेर्नुहोस्, गण्डकी प्रदेशमा नयाँ मन्त्रीको सपथ

८ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले करिब डेढ महिनापछि मन्त्रीमण्डल बिस्तार गरेका छन् । पार्टीभित्रै र अरु पार्टीबीच मन्त्रालय र मन्त्री को बन्ने भन्ने टकराब किचलोका बीच जेठ २८ गते नियुक्त मुख्यमन्त्री नेपालीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

६० सदस्यीय प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलले ११ सदस्यीय मन्त्रीमण्डल बनाएका छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाएको छ भने माओवादीले ४ मन्त्रालय लिएर सरकारमा गएको छ । २ मन्त्रालय मागेको जनता समाजवादी पार्टीले १ मनत्रालयमै चित्र बुझाउनु परेको छ भने राष्ट्रिय जनमोर्चाको सरकारमा जाने पार्टी नीति छैन ।

विस्तारित मन्त्रिमण्डलका नयाँ तथा पुराना मन्त्री सपथ कार्यक्रममा पुगे । कांग्रेसका मन्त्री दौरा सुरुवाल लगाएर सपथ लिए भने माओवादी मन्त्रीले सर्ट, पाइन्ट र कोट लगाएर सपथ लिएका छन् । सातै प्रदेशमध्ये एमाले सरकार ढलेपछि कांग्रेस नेतृत्वमा पहिलो पटक बनेको प्रदेश सरकार भएका कारण पनि सपथ कार्यक्रममा कांग्रेस र गठबन्धन दल माओवादीका सांसद र नेता सपथ कार्यक्रममा पुगेका थिए ।

नयाँ मन्त्रीहरु मुस्कुराउँदै सपथ कार्यक्रममा पुगेका थिए भने विन्दुकुमार थापा र कुमार खड्कालाई कास्कीबाट मन्त्री पाएपछि कास्की कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुक पनि सपथ ग्रहण कार्यक्रममा पुगेका थिए ।

कार्यक्रममा माओवादी संसदीय दलका नेता तथा पृथ्वीसुब्बा नेतृत्व सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान पनि सहभागी थिए भने कांग्रेसकै धेरै जना सांसदमा सपथ ग्रहण कार्यक्रममा देखिएनन् । माओवादीका पनि धेरै सांसद अनुपस्थित रहे । कांग्रेस र माओवादीभित्रै मन्त्रीका लागि धेरै जना आकांक्षी थिए ।

मुख्यमन्त्री पोखरेलले शुक्रबार कांग्रेसका विन्दुकुमार थापालाई आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री, मणिभद्र शर्मालाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मेखलाल श्रेष्ठलाई शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री बनाएका छन् । यसअघि सामाजिक विकास मन्त्री खड्कालाई भौतिक पूर्वाधारको जिम्मा लगाएका हुन् ।

रामजी बरालको नेतृत्वमा माओवादी सरकारमा सहभागी भएको छ । बरालले अर्थ पाएका छन् भने दीपक चर्ती मगरले वन, वातावरण तथा भू संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्‍यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री पाएका छन् । माओवादीकी मधुमाया अधिकारी यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री थिइन् ।

जनता समाजवादीका हरिशरण आचार्य ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री छन् । २ मन्त्रालय मागेको जसपाले असन्तुष्टी जनाउँदै सपथ कार्यक्रममै गएन । स्वतन्त्र सांसद राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment