Comments Add Comment

भजन संगीत : बजार अपार, संगीतकर्मी कम

प्रातःकालीन भ्रमणमा निस्कनुहोस्, भक्ति-भजन गुञ्जिएको सुन्न सक्नुहुनेछ । भक्ति-भावको यस्तो धुनले मठ-मन्दिरलाई मात्र कहाँ हो र ! जनमानसको घर-घरलाई पनि संगीतमय बनाइरहेको हुन्छ । धार्मिक कार्य, सप्ताह, पूजाआजामा त भक्ति-भजन अनिवार्य भइहाल्यो । रेडियो, टेलिभिजनले बिहानीको शुरूआत पनि यस्तै भजन संगीतबाट गर्ने गर्छन् ।

गायत्री मन्त्र, सरस्वती वन्दना आदि त सदाबहार भजन गीत नै भए ।

यसले के देखाउँछ भने, नेपालमा भजन-संगीतको बजार ठूलो छ । वर्षभरि आउने कुनै न कुनै चाडपर्व, नियमितजसो हुने पूजा-आराधनाले भजन-संगीतलाई चलायमान बनाइरहन्छ । साउन महीना त भजनको मौसम नै हो । यतिबेला नेपाली समाजले भक्ति-भजनको संगीत बढी नै सुन्छ, खपत गर्छ ।

त्यसो भए हामीकहाँ भजन गायनको स्थिति कस्तो छ ? भजन गाएर पूर्णकालीन संगीतमा लाग्नेहरू कति छन् ? भजन संगीतबाट उनीहरूले कस्तो आर्जन गरिरहेका छन् ?

मूलधारका अधिकांश गायक-गायिकाले भजन गाएका छन् । प्रमोद खरेल, रामकृष्ण ढकाल, आनन्द कार्की, अञ्जु पन्त, पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, पशुपति शर्मा, खुमन अधिकारी, राधिका हमाल, देवी घर्ती, देवीका वन्दना लगायत गायक-गायिकाले भजन गाएका छन् ।

विगतमा भजन सुन्ने एउटै माध्यम थियो, रेडियो नेपाल । रेडियो नेपालले बिहानीको शुरूआत नै भजनबाट गथ्र्यो । त्यसबाहेक चाडपर्व आदिमा रेडियोबाट भजन संगीत सुन्न सकिन्थ्यो । त्यसपछिका दिनमा क्रमशः अडियोमा भजन गीतहरू सार्वजनिक भएका हुन्थे । विस्तारै भिडियोको जमाना शुरू भयो । अहिलेको समयमा भजन गीतका भिडियोहरू सार्वजनिक भइरहेका छन् । यद्यपि भजन गीतहरू वर्षमा मुश्किलले एक दर्जन पनि सार्वजनिक नहुने जानकारहरू बताउँछन् ।

भजन गायनबाट चिनिने कम

भारतमा भजन गायनबाट नाम र दाम कमाउने गायक-गायिका प्रशस्त छन् । नेपालमा पनि केही गायक-गायिकाले भजनबाट नाम कमाए । जस्तो कि, भक्तराज आचार्य । उनलाई भजन शिरोमणिकै उपमा दिइएको छ । पुराना अन्य केही गायक-गायिकाले भजन गीतबाट नाम कमाए । तीमध्ये प्रायः रेडियो नेपालमा भजन गाउनेहरू थिए ।

पहिले नातिकाजी, फत्तेमान, कृष्णमान डंगोल, शिवशंकर लगायतले भजनमा ख्याति कमाएका थिए । त्यस पछाडि दर्जनौं गायक-गायिकाले भजन गीत गाए । अहिले पनि धेरै गायक-गायिकाले भजन गीत गाएका छन् । तर, भजनबाटै चिनिने गायक-गायिका भने निकै कम रहेको पाइन्छ ।

भजन गायनबाटै आफूलाई परिचित बनाउनेमा अहिले रेशम सापकोटा पर्छन् । २०६३ सालदेखि हालसम्म दुई दर्जन बढी भजन गीत ल्याएका उनी भजन गायनबाटै दर्शक, श्रोता एवं सांगीतिक क्षेत्रमा परिचित छन् । उनका थुप्रै भजन गीतलाई श्रोता/दर्शकले लाखौं पटक सुने/हेरेका छन् । उनको ‘झुटो संसार’ भजन चुड्कालाई युट्युबमा १ करोड २ लाख बढी पटक हेरिएको छ । उनीले हरेक वर्ष दुई/तीन वटा भजन गीत सार्वजनिक गर्दै आएका छन् ।

गाउँघरको प्रभाव

भजन रेकर्ड, भिडियो निर्माण एउटा पाटो भयो । शहर-गाउँमा भजन मण्डली नै हुन्छन् । उनीहरू धार्मिक कर्म हुँदा समूहमै गएर भजन गाउँछन् । अधिकांश गायक-गायिकाको भजन गायनको प्रस्थानविन्दु त्यहींबाट भएको पाइन्छ । त्यहींको प्रभावले गायक-गायिकाले भजन गीत गाएको बताउँछन् ।

गायक रेशम सापकोटा आफू बुवाको प्रेरणाले भजन गायनमा लागेको बताउँछन् । सापकोटाका अनुसार उनको गाउँघरमा भजन खुबै गाइन्थ्यो । ‘गाउँमा भजन गाइन्थ्यो । बुवा पनि भजन निकै गाउनुहुन्थ्यो । उहाँकै प्रभावले मैले पहिल्यैदेखि भजन गाउन थालें । पछि बुवाकै प्रेरणाले भजन गीत ल्याउन थालें’ उनी भन्छन् ।

प्रायः गायक-गायिकाले एउटा भए पनि भजन गीत गाएको पाइन्छ । भजन गीतको व्यावसायिक पाटो कस्तो छ ? भजन गीत गाउनुलाई प्रायः गायक-गायिकाहरू आत्मसन्तुष्टिसँग जोड्छन्

गायक खुमन अधिकारी पनि गाउँघरमा गाइने भजनबाट प्रभावित भएर आफूले भजन गीत गाएको बताउँछन् । उनी गाउँमा सत्यनारायण पूजा, स्वस्थानी वा अन्य पूजाआजामा भजन गाएको स्मरण गर्दै त्यहींबाट आफूमा भजनको प्रभाव परेको बताउँछन् । उनले पाँचवटा भजन गीत गाएका छन् । यता, एउटा भजन गीत गाएका गायक शिरीष देवकोटा भन्छन्, ‘मैले पहिलो संगीत सुनेकै भजन हो । मेरो मात्र होइन शायद धेरैको त्यही होला ।’ गायक नारायण रायमाझी गाउँघरमा पूजाआजामा भजन गाउनेहरूको योगदान ठूलो रहेको बताउँछन् ।

आत्मसन्तुष्टिका लागि

भजन गीत गाउने गायक-गायिका प्रशस्त भेटिन्छन्, चाहे लोकदोहोरी क्षेत्रका गायक-गायिका हुन्, चाहे आधुनिक गीतका । अभिनेत्री नीता ढुंगानासम्म भजन गायनमा जोडिएकी छिन् । प्रायः गायक-गायिकाले एउटा भए पनि भजन गीत गाएको पाइन्छ ।
भजन गीतको व्यावसायिक पाटो कस्तो छ ? भजन गीत गाउनुलाई प्रायः गायक-गायिकाहरू आत्मसन्तुष्टिसँग जोड्छन् । ‘भजन आम्दानी नभई आत्मसन्तुष्टिका लागि हो’ भजन गीतबाटै चर्चामा आएका रेशमले अनलाइनखबरसँग भने, ‘भजनमा व्यावसायिकताको कुरा गर्नु मन्दिर निर्माण गर्दा व्यावसायिक हिसाबले कति फाइदा भयो भन्ने जस्तो कुरा भयो ।’

गायक खुमन अधिकारी पनि आफूले भजनमा व्यावसायिक पाटो नहेर्ने बताउँछन् । ‘मेरो सन्दर्भमा भजन गीत गाउनु आत्मसन्तुष्टि नै हो’ उनी भन्छन् ।

गायक शिरीष देवकोटा पनि आफ्नो बुझाइमा अधिकांशले आत्मसन्तुष्टिकै लागि भजन गीत ल्याउने बताउँछन् । उनी भन्छन्, ‘भजन धर्म र संस्कारसँग जोडिएको छ । त्यसैले त्यसमा नाफा-घाटा भन्दा पनि आत्मसन्तुष्टि, संस्कृति संरक्षणका लागि गाउने गरिन्छ । मैले पनि आत्मसन्तुष्टिका लागि गाएको हुँ । अरू गायक-गायिका पनि यतिका धेरै गीत गाइयो, एउटा भए पनि भजन गीत गाऔं भनेर भजन गाउनुभएको जस्तो लाग्छ ।’ यद्यपि, पछिल्लो समय भजन गीतका भिडियोले राम्रो भ्यूज पाउन थालेसँगै गायक-गायिकाले यसलाई व्यावसायिक रूपले पनि हेर्न शुरू गरेको शिरीष बताउँछन् ।

गायिका राधिका हमालले एक दर्जन भजन गीतमा स्वर दिएकी छिन् । उनी पनि भजन भगवानसँग सम्बन्धित भएका कारण आत्मसन्तुष्टिकै लागि गाएको बताउँछिन् ।

‘शुरूआतमा आर्थिकको आश नगरिकन गाएकी थिएँ तर पारिश्रमिक दिनुभयो’ उनी भन्छिन्, ‘पछि धेरै भजन गीत गाउने अवसर पाएँ यसमा भाग्यमानी ठान्छु ।’

उनी पछिल्लो समय भजन गीतहरूले पनि युट्युबमा राम्रो भ्यूज पाउन थालेकोप्रति भने खुशी व्यक्त गर्छिन् । यद्यपि संख्यात्मक हिसाबले कम आउनु दुःखद रहेको बताउँछिन् ।

‘वर्षमा मुश्किलले एक दर्जन भजन गीत पनि सार्वजनिक नहुनु दुःखद हो’ उनी भन्छिन्, ‘लगानीको जोखिम भए पनि कलाकारहरूले भजन गीत गाउनुपर्छ ।’

गायक रेशम भजनमा व्यावसायिकताको कुरा नहेर्ने गरे पनि मिहिनेत गरेर ल्याएका भजन गीतहरू व्यावसायिक रूपमा पनि सफल हुन थालेको बताउँछन् । अध्ययन र मिहिनेत गरेर ल्याएका भजन गीतले श्रोता एवं दर्शकको मन जित्ने उनले बताए । तर, पछिल्लो समय रहर लाग्यो भनेर अध्ययन विनै भजन गीत गाउने प्रवृत्ति बढेकोप्रति भने उनी चिन्ता व्यक्त गर्छन् ।

गायक नारायण रायमाझी भारतमा भजन गायन व्यावसायिक बने पनि नेपालमा त्यो अवस्था सिर्जना हुन नसकेको बताउँछन् । व्यावसायिक बन्न नसक्दा भजन गीतहरू कमै संख्यामा आउने गरेको उनले बताए । ‘पहिले रेडियोले रेकर्ड गरिदिन्थ्यो । अहिले भजन गीत ल्याउँदा लाखौं खर्च हुन्छ । यो अरू गीत जस्तो व्यावसायिक नभएका कारण भजन गायनमा सक्रियहरू कम हुनुहुन्छ’ उनले भने, ‘भक्तिमा झुकाव भएकाहरूले खर्च गरेर भजन ल्याउँदै आउनुभएको छ ।’

कमै संख्यामा भए पनि भजन गाउने भने प्रशस्त रहेको रायमाझी बताउँछन् । ‘एउटा भजन गाऔं भनेर भजन गाउने प्रशस्त पाइन्छ । तर, निरन्तरता दिनेहरू भने कमै हुनुहुन्छ’, उनले भने । उनी लगानीको जोखिम भए पनि भक्ति गीत गाउन कलाकार अग्रसर हुनुपर्ने बताउँछन् ।

युट्युबमा हिट केही नेपाली भजन

संसारी माया विचित्र

साढे चार वर्षअघि हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक ‘संसारी माया विचित्र’लाई १ करोड ३१ लाख बढी पटक हेरिएको छ । चन्द्रकुमार दोङको लय र स्वर रहेको गीतमा शब्द संकलन भने रत्न लामा घिसिङले गरेका हुन् । भिडियोको निर्माता पनि रत्न आफैं हुन् ।

झुटो संसार

रेशम सापकोटाको भजन चुड्का ‘झुटो संसार’लाई युट्युबमा करोडौं दर्शकले हेरेका छन् । पाँच वर्षअघि तरेली संगीत कुञ्जको युट्युबमा सार्वजनिक गीतको भिडियोलाई अहिलेसम्म १ करोड २ लाख बढी पटक हेरिएको छ । यस भजन गीतमा रेशम र देवी घर्तीको स्वर रहेको छ । त्यस्तै पवित्रा रिजाल, गोविन्द भण्डारी, स्वरुपा रसाइली, सरिता प्रजापतिको समेत स्वर रहेको छ ।

हरि भजन

पाँच वर्षअघि हाइलाइट्स नेपालको युट्युब च्यानलमा सार्वजनिक ‘हरि भजन’लाई ७३ लाख भन्दा बढी पटक हेरिएको छ । लक्ष्मी सुवेदीको शब्द, जयकुमार परियारको संगीत रहेको गीतमा लइमी सुवेदी र श्रीरामको स्वर रहेको छ ।

पहिलो चरण

रेशम सापकोटाकै शब्द संगीतमा रेशम र देवी घर्तीको स्वरमा रहेको ‘पहिलो चरण’बोलको भजनलाई युट्युबमा धेरै दर्शकले हेरेका छन् । एक दशक अगाडि रेकर्ड भए पनि तीन वर्षअघि युट्युबमा सार्वजनिक गीतलाई ४४ लाख बढीले हेरेका छन् । तरेली संगीत कुञ्जकै युट्युबमा यो भजन गीत उपलब्ध छ ।

धुन बज्यो, धुन बज्यो

‘धुन बज्यो, धुन बज्यो’ भजन गीतलाई युट्युबमा लाखौंले हेरेका छन् । ९ वर्षअघि सार्वजनिक यस गीतको अडियोले ४३ लाख बढी भ्यूज पाएको छ । दुई वर्षअघि यस गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । राजु अधिकारीको स्वर रहेको गीतको भिडियोलाई ११ लाख बढी पटक हेरिएको छ ।

एकदिन त जाने हो

एक वर्षअघि मात्रै सार्वजनिक गरिएको ‘एकदिन त जाने हो’ले युट्युबमा २८ लाख भ्यूज पाएको छ । हरिलाल कँडेलको शब्द/संगीतमा सशान कँडेलले यो भजन गाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुशील नेपाल

ट्रेन्डिङ

Advertisment