१० साउन, बुटवल । तिलोत्तमा नगरपालिकामा फोहोरमैला व्यवस्थापनको लागि हरित पुनःउत्थान प्रवर्द्धन परियोजना (पिजीआरपी) शुरु भएको छ ।
तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागीता वास स्वास्थ्य सहकारी संस्थाको आर्थिक साझेदारीमा परियोजना शुरु भएको हो । परियोजनाले फोहोरमैला व्यवस्थापनमा ४० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।
परियोजना अन्तर्गत् बायोग्याँस तथा प्राङ्गारिक मल उत्पादन गर्ने तथा व्यवसायिक जैविक खेतीलाई प्रवर्द्धन गरी आम्दानीको श्रोतलाई बढावा दिने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ ।
फोहोर मैला व्यवस्थापनको काम गर्दै आएको वास सहकारीमार्फत् कार्यान्वयन हुने यो परियोजनाले लक्षित वर्गलाई रोजगारीको अवसर सिर्जना गर्नुको साथै फोहोरको व्यवस्थापन श्रोतबाट नै सुरु गर्नुपर्ने अवधारणालाई प्रवर्द्धन गर्ने नगर प्रमुख बासुदेव घिमिरेले बताए ।
यसको लागि घर, उद्योग, व्यवसाय तथा संघ संस्थामा फोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास गर्दै संकलन, वर्गीकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारी सिर्जना गरिने छ ।
कार्यक्रमको पहिलो वर्षमा फोहोर मैला व्यवस्थापन कार्यमा संलग्न करिब ४० जनालाई लक्षित गर्दै सुरक्षित तथा व्यवस्थित तरिकाले फोहोर संकलन, वर्गीकरण, पुनःप्रयोग तथा विसर्जन गर्ने सीप तथा रोजगारीको अवसर प्रदान गरिनेछ ।
रोजगारीमा ७० प्रतिशत महिलालाई प्राथमिकतामा राखी विपन्न वर्गलाई लक्षित गर्दै २ सय ६० जनाले प्राङ्गारिक मल र बायोग्याँस उत्पादन तथा व्यवसायिक जैविक खेती सम्बन्धी सीप तथा रोजगारको अवसर प्राप्त गर्नेछन् ।
यस्तै नगरपालिकाभित्रका २ सय ६० घरधुरीलाई प्राङ्गारिक मल उत्पादन गर्ने सीप तथा प्रविधि प्रदान गरिनेछ । आयोजनाले व्यवस्थित फोहोर संकलन तथा फोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
त्यस्तै परियोजना अन्तर्गत् यूएनडीपीले तिलोत्तमा नगरपालिकालाई कोभिड–१९ पश्चातको हरित पुनःस्थापना सम्बन्धी योजनाको निर्माण र कार्यान्वयन गर्न टेवा पुर्याउने छ ।
ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमाको नारा अघि सारेको तिलोत्तमा नेपालको पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका हो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4