Comments Add Comment
ब्लग :

हामी विद्वान् कि बुद्धिजीवी ?

‘मलाई मेरा कामबाहेक अरू सबैको जानकारी छ !’

यो सोचले आजको समाज अत्यन्तै ग्रसित छ । यो सोच ममा मात्र छ कि अरूमा पनि ? विना अध्ययन र खोज नै कतै थोरै जान्नेहरूको अगाडि आफूलाई जान्ने ठान्छौं, कतै अरूको विचार, आदर्शको सम्मान गर्नुभन्दा पहिला उसको व्यक्तिगत जीवन नियाल्छौं ।

हो साँच्चै, मलाई मेरो काम बाहेक अरू सबैको जानकारी छ । यस्तै छ हिजोआजको चलन । यस्तै चलन हामीले सिक्दै आएका छौं र अरूलाई पनि सिकाउँदैछौं । सही र गलतको पछि नलागी आफूले आदर्श मानेका, ठानेकाहरूको पछिलागेका छौं । अनि आफ्नो मान्छेहरूको कुरालाई हाम्रो कुरा मानेका छौं ।

व्यक्तिगत र व्यावसायिक जीवनलाई कहिल्यै पनि एकै तराजुमा राखेर जोख्नुहुँदैन कि ! एक शिक्षक सफल र सबल स्कूलको परिवेशमा हुनसक्छ, तर स्कूल बाहिर उसको पहिचान फरक हुन सक्छ । यो कुरा उसको घरको वातावरण र उसको दैनिकीले निर्धारण गर्दछ । यसर्थ बाहिरी परिवेशलाई जोडेर उसको स्कूलको गतिविधिलाई नियाल्नु उचित नहोला ।

मेरो एक घनिष्ठ मित्र थाहा नै नपाइकन अल्कोहोलिक भएछन् । उनी अहिले उपचारको क्रममा छन् । हाल अल्कोहोलिक विषयमा जागरूकता कार्यक्रम चलाउँदैछन् । पछिल्ला भेटघाटमा मैले अनुभूत गर्दैछु- उसको क्रियाकलापमा केही परिवर्तन आएको छ ।

साथी आजकल धेरैजसो पार्टी, भेटघाटमा सबैलाई मदिराको उपयोग गर्न हुँदैन भनिरहेको भेटिन्छन् । केही मानिस उसको कुरामा होमा हो मिलाउँदै समर्थन गर्छन् । तर आधाजसो मानिस कुरा काट्दै भन्छन्- आफैं पहिला एक नम्बरको जँडिया भएर अहिले अरूलाई सिकाउँदै हिंड्ने ?

साथी आफूले जीवनमा भोगेको अनुभवहरूलाई साट्दै अरूलाई पनि यसको बारेमा चेतना दिने प्रयास गरिरहेको छ । उसको यो काम जायज र सराहनीय छ । तर हामीले उसको व्यक्तिगत जीवन र विगतलाई हेरेर उसले गरेको कामलाई समर्थन गर्न सकिरहेका छैनौं । कम्तीमा समर्थन गर्न नसके पनि विरोध नगरे हुन्न ? राम्रो कामको प्रशंसा गर्न हामीलाई केले छेकिरहेको छ ? इतिहास भनेको आजको आज देखिने कुरा होइन, त्यो त एक दशकपछि मूल्याङ्कन होला ।

खैर, हामीहरूले स्कूल कलेजको डिग्री लिएका छौं । यसले हामी बौद्धिक भएका छौं । हाम्रा अग्रजहरूले स्कूलको शिक्षा-दीक्षा नलिए पनि जीवनका भोगाइहरूबाट धेरै कुरा सिक्नुभएको छ । यसरी सिकेका पाठहरू नयाँ पिंढीलाई दिंदै आउनुभएको छ । जीवन भोगाइ र पाठशालाको सिकाइबाट धेरै कुराको जानकारी लिएका छौं र पो बौद्धिकको नाम पाएका छौं । तर हामीले हाम्रो बौद्धिक पहिचानलाई बुद्धिजीवी भनेर अहम् भने गर्नुहुँदैन ।

प्रायः मानिसलाई भ्रम हुन्छ- म बुद्धिमान छु । पछिल्लो समय सामाजिक सञ्जालहरूले मानिसलाई चाहिनेभन्दा बढी ‘एक्स्पोज’ पनि गरिरहेको छ । सञ्जालहरूमा एक से एक बुद्धिजीवीहरूलाई भेट्न पाइन्छ । यस्तो लाग्छ- हामीले नजानेको कुरा केही छैन ।

यो कुरामा दुईमत नहोला कि आजको युगमा हामीले बोल्ने अधिकार पाएका छौं । तर अधिकार छ भन्दैमा जे मनमा आयो, त्यही बोल्नु त भएन नि ! आफूले बोलेका कुराले समाजमा कस्तो असर ल्याउँछ, अरूको मानहानि त गर्नु भएन नि ! हामी जस्ता बौद्धिक भनिनेहरूले सोच्ने बेला आएको होइन र ? कुनै लेखक, सम्पादकले आफूले प्रकाशित गरेका सामग्रीहरूमा, प्रकाशनपछिका कमेन्ट अनि यसको प्रभावबारे छानबिन गर्ने समय आएको होइन र ? समाचार हाल्ने निहुँमा घरभित्रको झगडा पनि हाल्नु सही हो र ? हामीले छान्नु पर्दैन- कुन ठीक, कुन बेठीक भनेर ? कस्तो सामग्री दिने, कस्तो नदिने भनेर ?

सबै कुरामा आˆनो मत नै राख्नु जरूरी छ ? यस्ता घटना हाम्रो समाजमा भइरहन्छन् । संविधानको कुरा संविधानविद्लाई गर्न दिऊँ, मौसमको कुरा हुँदैछ भने मौसमविद्लाई, राजनीतिको कुरा छ भने राजनीतिकर्मीलाई, समाजको कुरा आयो भने समाजशास्त्रीलाई ।

जुन विषयमा कुरा गर्नु छ त्यही विषयको ज्ञातालाई बोल्न दिए उचित होला कि ? यसकारण त उनीहरू बुद्धिजीवीको वर्गमा छन् । हाम्रो बोल्ने अधिकार छ भन्दैमा हरेक कुरामा टिप्पणी दिनु आवश्यकता नहोला, विचार राखौं तर आफूले राखेको विचारले समाजमा के असर पर्छ भन्ने बारेमा पनि गहिरो गरी विचार गरौं ।

थाहा छ- आफूले गरेको अनि जानेको कुरामा आफ्नो विचार, प्रतिक्रिया दिनु बेस होला । नजानेका अनि नबुझेका कुराहरूमा पनि विचार राखेर आफू विद्वान छु भन्ने भ्रम नपालौं । ज्ञान आफ्नो क्षेत्रमा हुन्छ, अर्को क्षेत्रमा कुरा नगरेकै बेस होला । अरूको विचारको सम्मान गरौं, सामाजिक सञ्जालहरूमा बोल्ने अनि लेख्ने अधिकारको सही उपयोग गरौं । बौद्धिक अनि बौद्धिकता र बुद्धिजीवी वर्गको पहिचान गरौं ।

(खरेल हाल अष्ट्रेलियाको होबार्टमा बस्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment