Comments Add Comment

एक वर्षमै ३७ अर्ब मूल्यको ७० लाख मोबाइल सेट आयात

११ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा मोबाइल आयातमा दोब्बर वृद्धि भएको छ । २०७७ साउनदेखि २०७८ असारसम्म मात्रै ७० लाख ३० हजार मोबाइल सेट आयात भएको छ । भन्सार विभागका अनुसार यो नै हालसम्मको सबभन्दा ठूलो परिमाणको मोबाइल आयात हो ।

आव ०७६/७७ को भन्दा यो परिमाण २६ लाख ६५ हजार बढी हो । सो वर्ष ४३ लाख ६५ हजार वटा मोबाइल सेट आयात भएको थियो । त्यसअघि आव ०७५/७६मा ४२ लाख ७५ हजार वटा मोबाइल सेट आयात भएको थियो ।

गत आव ०७७/७८ मा आयात भएको मोबाइलको मूल्य ३६ अर्ब ९० करोड रुपैयाँ हो । आव ०७६/७७ मा १८ अर्ब १७ करोडको मोबाइल आयात भएको थियो । आव ०७५/७६मा १९ अर्ब २७ करोडको मोबाइल आयात भएको थियो ।

आव ०७७/७८ मा मोबाइल सेटबाट ५ अर्ब ८४ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । यो भन्सार राजस्व अघिल्लो वर्षको भन्दा दोब्बर हो । आव ०७६/७७मा मोबाइल आयातबाट सरकारले २ अर्ब ८७ करोड राजस्व असुल गरेको थियो । आव ०७५/७६मा भने यस्तो राजस्व ३ अर्ब ५२ करोड रुपैयाँ थियो ।

नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेत यो वर्ष स्मार्ट फोनको ब्यापार बढेको बताउँछन् । ‘कोराना महामारीपछि स्मार्टफोनको ब्यापार सपि्रयो,’ उनी भन्छन्, ‘सामान्य खालका बार फोन छोड्ने र स्मार्टफोन रोज्नेहरु बढेकाले आयात स्वभाविक रुपमै बढ्यो ।’

महामारीले सिर्जना गरेको बाध्यात्मक परिस्थितिका कारण सस्ता मोबाइल किनिरहेकाहरु पनि मध्यममा ‘अपग्रेड’ भएको उनी बताउँछन् । आयातको मूल्य दोब्बर हुँदा पनि संख्या दोब्बर नहुनुले मान्छेहरु विगतको भन्दा केही महँगो फोनमा आकषिर्त भएको देखाउने बस्नेतको तर्क छ ।

२०७७ चैतबाट सुरु भएको लकडाउन १ असारमा खुलेलगत्तै मोबाइल बजार उत्साहित भएको थियो । बजारमा सुरुमै फोन सेटको अभाव भएको थियो । व्यापारीहरुका अनुसार मोबाइल किन्न पसल पुग्नेको संख्या त्यसपछि कहिल्यै घटेन । अफ सिजनमा मानिने हालको वषर्ातको समयमा पनि मोबाइल पसलहरुमा भीड नै देखिन्छ ।

न्युरोडका मोबाइल पसले साधुराम बोगटी दशैंतिहारलाई मात्रै सिजन मान्ने अवस्था महामारीपछि अन्त्य भएको बताउँछन् । ‘यस्तो वषर्ाको समयमा पनि मोबाइलका ग्राहकको कमी छैन,’ उनले भने, ‘कुनै-कुनै ब्रान्डका केही मोडलका सेटको त माग नै धान्न सकिएको छैन ।’

बोगटीका अनुसार, बजारमा अहिले रु.१५ हजारदेखि ३५ हजार रेन्जका मोबाइल सेटको माग उच्च छ । महामारीपछि विभिन्न कम्पनीले मध्यम रेन्जका नयाँ र अपग्रेडेड मोडलहरु सार्वजनिक गरिरहेका छन् ।

महामारी बरदान

नयाँ बानेश्वरका मोबाइल बिक्रेता संयम गिरी महामारी र लकडाउनले सिर्जना गरेको असजिलो परिस्थितिमा प्रविधिमाथि निर्भरता बढेको बताउँछन् । त्यसकै कारण मोबाइल बजारमा माग र आपूर्तिको चाप परेको उनले बताए ।

लकडाउनपछि मोबाइल किन्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । अनलाइन कक्षाको अभ्यासले मोबाइलको आवश्यक्ता उचालिदियो । भेटघाटका लागि बाहिर निस्कन असुरक्षित हुने भएपछि समय बिताउन पनि धेरैले स्मार्ट फोन किनेको र ‘वर्क फर्म होम’को अवधारणा आएसँगै यस्ता साना डिभाइसको माग बढेको गिरी बताउँछन् ।

मोबाइल व्यवसायी संघका अध्यक्ष बस्नेतका अनुसार, भर्चुअल मिटिङ बाक्लिँदा स्मार्ट फोनको मागमा भारी वृद्धि भयो । पुराना डिभाइसबाट काम नचल्ने भएपछि नयाँ किन्न पर्ने बाध्यता सिर्जना भएकाले मोबाइलको बजार चम्किन पुग्यो ।

लकडाउन र निषेधाज्ञामा घरमै बस्नुपर्दा इन्टरनेटमा भिडियो हेर्ने क्रम बढ्यो । बालबालिकाको विद्यालय नभएकाले गेम खेल्ने र अभिभावकले अनलाइन कारोबार गर्ने क्रम बढेसँगै स्मार्ट फोन दैनिक जीवनको आवश्यकता भएर व्यापार वृद्वि भएको अध्यक्ष बस्नेत बताउँछन् ।

‘महामारीपछि मोबाइल बजारमा प्रतिस्पर्धा बढेको छ, कम्पनीले दिएको मार्जिनभित्र स्वस्थ प्रतिस्पर्धामा मोबाइल बेच्ने क्रम मौलाएको छ,’ अध्यक्ष बस्नेत भन्छन्, ‘उधारो बिक्री घटेको छ, महामारी भएकाले मान्छेहरु बार्गेनिङ गरेर पनि बस्दैनन् ।’

उनका अनुसार, कतिबेला लकडाउन हुन्छ र बजारमा सेटहरुको अभाव सिर्जना हुन्छ भन्ने पत्तो नभएकाले व्यवसायीले मौज्दात पनि बढाएका छन् । अहिले ट्याब र ल्यापटप लगायत डिभाइसको पनि व्यापार बढेको छ ।

नेपाल-भारत सीमामा आउजाउमा कडाइ गरिएकाले मोबाइल तस्करी घटेको व्यापारीहरुको अनुमान छ । अन्तर्राष्ट्रिय हवाई सेवा खुलेपनि उडान सीमित छ । अति आवश्यक नभई विदेश नजाने र विदेशबाट पनि नआउने अवस्था छ । यसले गर्दा विदेशबाट मोबाइल सेट उपहार आउन कम भएको छ ।

सरकारले अवैध फोन चल्न नदिने प्रणाली पनि जोडेकाले अब स्मार्ट फोनको वैधानिक ब्यापार थप चम्किने व्यवसायीहरुको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment