Comments Add Comment

जसपा नेता रेशम चौधरीको सनाखत जेलमै गराइने

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ ।

आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ । आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु पुगेका छन् । चौधरी जेलमा रहेकाले उनको सनाखत जेलमै गर्न लागिएको हो ।

डिल्लीबजार कारागारका जेलर बसन्त पुरीले निर्वाचन आयोगबाट जेलमा सनाखत गराउने विषयमा पत्र आएको जानकारी दिए । आयोगले आफ्नो कर्मचारीलाई जेलमा पठाएर चौधरी कतापट्टी रहेका छन् भनेर उनको हस्ताक्षर लिनेछन् ।

२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद छ ।

जसपाको आधिकारिकता विवाद समाधान गर्न आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको थियो ।

त्यसविरुद्ध ठाकुरले निर्वाचन आयोग र अर्का अध्यक्ष यादवलाई विपक्षी बनाएर यही साउन ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । सर्वोच्चले साउन १५ गते विपक्षीलाई छलफलका लागि बोलाउन आइतबार आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment