
११ साउन, विराटनगर । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङमा एक युवकको हत्या भएको छ । मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार आइतबार भएको विवादलाई लिएर सोमबार चौधरीमाथि छुरा प्रहार भएको थियो ।
सोमबर दिउँसो १:१५ बजेतिर भएको छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषित गरेका थिए ।
स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छ÷सात जनाको समूहमा रहेका युवाहरुले अभिषेकमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहार र आक्रमणबाट अभिषेसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन् । उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले दुई युवकलाई नियन्त्रणमा लिएको छ । अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार युवाहरुबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद भएको थियो । आइतबार नै मिलेको विवादमा भोलिपल्ट अर्को पक्षका किशोरको हत्या गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4