Comments Add Comment

अजितले अल इन्डिया जुनियर र वर्ल्ड जुनियर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

११ साउन, काठमाडौं । नेपाली एथ्लेटिक्स खेलाडी अजित यादवले भारतमा हुने १९औं राष्ट्रिय फेडेरेसन कप जुनियर (यू–२०) च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

एथ्लेटिक्स फेडेरेसन अफ इन्डियाले आयोजना गर्ने च्याम्पियनसिप भारतको पन्जाबमा यही जुलाई ३१ देखि अगष्ट २ सम्म आयोजना हुनेछ । च्याम्पियनसिपमा अजितले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने एथ्लेटिक्स संघले जनाएको छ ।

त्यसका लागि अजित बुधबार भारत प्रस्थान गर्दैछन् । च्याम्पियनसिपमा जान लागेका अजितलाई सोमबार नेपाल एथलेटिक्स संघले बिदाइ गरेको छ ।

यो च्याम्पियनसिप र त्यसपछि हुने जुनियर वर्ल्ड च्याम्पियनसिपलाई ध्यानमा राख्दै अजितले एक महिनादेखि तयारी गरिरहेका छन् । उनलाई प्रशिक्षक धनीराम चौधरीले प्रशिक्षण दिइरहेका छन् । एथ्लेटिक्स संघले सहयोग गरे पनि सोचे अनुसारको प्रशिक्षण गर्न नपाएको अजितले बताए ।

भारतमा प्रतिस्पर्धा गरेपछि अजितले अफ्रिकी मुलुक केन्याको नौरोबीमा आयोजना हुने वर्ल्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछन् । जहाँ उनले ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

अजितले सन् २०१८ मा हङकङमा आयोजना भएको एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटरमा स्वर्ण पदक जितेका थिए । हङकङमा खेलेको तीन वर्षपछि उनी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाँदैछन् । १५ समय मिटरमा उनको समय ४ मिनेट २ सेकेण्ड रहेको छ । भारतमा हुने जुनियर च्याम्पियनसिपमा त्यसमा सुधार गर्ने अजितले बताए ।

यस्तै वर्ल्ड च्याम्पियनसिपमा तीन हजार मिटरमा दौडन लागेका अजितले २०१८ मा एसियन लेभलमा स्वर्ण जितेकाले केन्यामा खेल्ने अवसर पाएको बताए । उनले हङकङमा तीन हजार मिटर ८ मिनेट ३०.२ सेकेण्डमा पूरा गरेका थिए । एसियन लेभलमा ४५ वर्षपछि ऐतिहासिक स्वर्ण जितेका अजितले २०७६ साल मंसिरमा नेपालमै भएको १३औं सागमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका थिए । तर स्वास्थ्यमा समस्या आएपछि उनले १३औं साग गुमाए । तर पनि उनी निराश भएनन् र स्वास्थ्य अवस्था ठीक भएपछि फेरि ट्रयाकमा फर्किए ।

त्यसपछि उनले विभिन्न मध्यम दूरीको दौडमा स्वर्ण जित्दै आफू फिट रहेको प्रमाणित गरेका थिए । उनले भारतमा हुने १५०० मिटर र केन्यामा हुने ३ हजार मिटर दुवै स्पर्धामा राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताए ।

वर्ल्ड जुनियर एथ्लेटिक्स च्याम्पियनसिप अगष्ट १७ देखि २२ सम्म आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment