११ साउन, काठमाडौं । जापानी स्केटबोर्डिङ खेलाडी मोमीजी निसियाले १३ वर्षको उमेरमै विश्व खेलकुदको कुम्भमेला ओलम्पिक स्वर्ण जितेकी छन् । जापानमा भइरहेको ३२औं गृष्मकालीन ओलम्पिक अर्थात् टोकियो ओलम्पिक २०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डिङमा निसियाले स्वर्ण जितेकी हुन् ।
निसियाले स्वर्ण जितेसँगै पहिलो पटक ओलम्पिकमा समावेश भएको स्केटबोर्डिङको स्ट्रिट इभेन्टमा दुवै स्वर्ण घरकै खेलाडीले जिते । यसअघि पुरुष स्ट्रिटतर्फ जापानकै युतो होरिगोमले स्केटबोर्डिङमा ऐतिहासिक स्वर्ण जितेका थिए ।
१३ वर्षीया निसिया ब्राजिलकी १३ वर्षीय रायसा लिएल र जापानकै १६ वर्षिया फुन्ना नकायामालाई पछि पार्दै स्वर्ण जितेकी हुन् । उनले कुल १५.२६ स्कोर गरिन् । ब्राजिलका लागि ओलम्पिकमा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी लिएलले १४.६४ स्कोर गर्दा नकायामाले १४.४९ स्कोर गरिन् ।
ओलम्पिकमा सम्भवतः एकै इभेन्टमा पदक जित्ने खेलाडीहरुको यो सबैभन्दा कम उमेरको पोडीएम बनेको छ । पदक जित्नेको औसत उमेर १४ वर्ष १ सय ९१ दिन रहेको थियो ।
निसियाले स्वर्ण जितेपछि पदक जित्ने खेलाडीमध्ये हुन पाएकोमा एकदमै खुशी भएको बताइन् । उनले जापानमा ओलम्पिक जित्दा पनि गर्व लागेको सुनाइन् ।
यस्तै १९३६ यताकै ओलम्पिकमा पदक जित्ने सबैभन्दा युवा खेलाडी बनेकी ब्राजिलकी लिएलले रजत जित्दा पनि खुशी भएको बताइन् । उनले १३ वर्षमै इतिहास बनाएको भन्दै अरु ओलम्पिकमा पनि खेल्ने आशा व्यक्त गरिन् ।
ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण जित्ने कीर्तिमान भने मार्जोरी गेस्ट्रिङको नाममा रहेको छ । उनले सन् १९३६ को बर्लिन ओलम्पिकमा स्प्रिङबोर्ड डाइभिङ इभेन्टमा १३ वर्ष २६८ दिनको हुँदा स्वर्ण जितेकी थिइन् ।
अहिले स्वर्ण जितेकी निसिया भने १४औं वर्ष प्रवेशको नजिकै छन् । १३ वर्ष ३३० दिनको हुँदा स्वर्ण जितेकी निसिया जापानको भने कान्छी ओलम्पिक स्वर्ण पदक विजेता बनेकी छन् ।
टोकियो ओलम्पिकमा स्केटबोर्डिङमा प्रतिस्पर्धा गर्ने खेलाडीहरु कम उमरेका धेरै रहेकाले टोकियो ओलम्पिकमा कम उमेरमा स्वर्ण जित्ने कीर्तिमान तोडिने सम्भावना रहेको छ ।
जापानकी १२ वर्ष ३४३ दिनकी कोकोना हिराकी बेलायतकी १३ वर्ष २८ दिनकी स्काइ ब्राउनले बुधबार महिला पार्क स्केटबोर्डीङमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4