Comments Add Comment

कांग्रेसको सुदूरपश्चिम सभापतिमा क-कसको दाबी ?

सुदूरपश्चिम सभापतिका आकांक्षी बायाँबाट क्रमश: बहादुरसिंह थापा, भरत खड्का, वीरबहादुर बलायर, कर्ण मल्ल र नरनारायण शाह 'मनु'

१२ साउन, धनगढी । मंगलबारका लागि निर्धारण गरिएको नेपाली कांग्रेसको वडा अधिवेशन ९ साउनमा स्थगित गरिएपछि अन्य तहका अधिवेशन र केन्द्रीय महाधिवेशनबारे समेत अन्यौल बढेको छ ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार अन्य तहका अधिवेशन पनि हुन्छन् वा पछाडि सर्छन् भन्ने कुराको टुङ्गो नलागे पनि देशभरका कांग्रेस नेता कार्यकर्तालाई महाधिवेशनको चटारोले छोएको छ ।

विभिन्न तहमा पदका आकांक्षीहरु आफ्नो पक्षमा माहोल सिर्जना गर्न सक्रिय छन् भने उपल्लो तहका नेताहरुकहाँ धाउने क्रम पनि ह्वात्तै बढेको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा पनि महाधिवेशनको सरगर्मी बढेको छ ।

प्रदेश राजधानी रहेको कैलाली, कञ्चनपुर, देउवाको गृहजिल्ला डडेल्धुरा लगायतका जिल्लादेखि गाउँसम्म महाधिवेशनको रौनक चुलिएको छ । अन्यौलताकै बीच पनि नेताहरुको सक्रियता बढेको छ ।

प्रतिस्पर्धीलाई उछिनेर जसरी पनि नेतृत्वमा आउने दाउमा रहेका नेताहरु अहिले गाउँदेखि जिल्ला र जिल्लादेखि संघीय राजधानीसम्म दौडधुपमा छन् । मुलुक संघीय संरचनामा गएको चार वर्षसम्म प्रदेश संरचना खडा नगरेको नेपाली कांग्रेसले यसपालिको महाधिवेशनबाट नेतृत्व चयन गर्नेछ । त्यसका लागि भदौ १ र २ गते प्रदेश अधिवेशन तोकिएको छ । कार्य तालिकामा कुनै फेरबदल भएन वा क्रियाशिल सदस्यता विवादले महाधिवेशन प्रभावित नभएमा भदौपछि कांग्रेसको प्रदेश संरचना पनि तयार हुनेछ ।

अहिलेसम्म कैलालीका नरनारायण शाह ‘मनु’, अछामका गोविन्दबहादुर शाह, बझाङका अर्जुनबहादुर सिंह, डोटीका वीरबहादुर बलायर, भरतबहादुर खड्का, कञ्चनपुरका बहादुरसिंह थापा, डडेल्धुराका हिरा भट्ट र कर्ण मल्ल प्रदेश सभापतिको आकांक्षीका रुपमा देखिएका छन् ।

सुदूरपश्चिममा पनि प्रदेश कमिटीको नेतृत्वमा को आउलान् भन्ने सर्वत्र चासोको विषय बनेको छ । यहाँ प्रदेशको नेतृत्वका लागि कांग्रेसका सांसददेखि पूर्वमन्त्रीसम्मका आकांक्षी देखिएका छन् भने लामो समय जिल्ला सभापति बनिसकेका केही अनुहार पनि प्रदेश सभापतिको दौडमा छन् । महाधिवेशन हुने नहुने अन्यौलताले कतिपय आकांक्षी अझै खुलिसकेका छैनन् ।

अहिलेसम्म कैलालीका नरनारायण शाह ‘मनु’, अछामका गोविन्दबहादुर शाह, बझाङका अर्जुनबहादुर सिंह, डोटीका वीरबहादुर बलायर, भरतबहादुर खड्का, कञ्चनपुरका बहादुरसिंह थापा, डडेल्धुराका हिरा भट्ट र कर्ण मल्ल प्रदेश सभापतिको आकांक्षीका रुपमा देखिएका छन् । उनीहरुले निकटस्थहरुसँग प्रदेश सभापतिमा आफ्नो दाबी रहने बताउन थालेका हुन् ।

सभापतिका दाबेदारमध्ये तीन जना पूर्वमन्त्री छन् । बझाङका सिंह पूर्वपरराष्ट्र राज्यमन्त्री एवम् राजदूत, अछामका शाह पूर्व सहायक मन्त्री र डोटीका बलायर पूर्व यातायात मन्त्री हुन् । डडेल्धुराका भट्ट, कञ्चनपुरका थापा पूर्व सांसद हुन् भने डोटीका खड्का र डडेल्धुराका मल्ल सुदूरपश्चिम प्रदेशभा सदस्य हुन् ।

कैलाली शाह भने अहिलेका जिल्ला सभापति हुन् । उनी दुई कार्यकाल सभापति भइसकेका छन् । प्रदेशसभा सदस्य मल्ल पनि दुई कार्यकाल डडेल्धुराको पार्टी सभापति भइसकेकाले विधानतः उनी जिल्लामा फेरि दाबी गर्न पाउने छैनन् ।

सभापतिको दौडमा देखिएका यी नेताहरुमा कसको पल्ला भारी छ ? भन्ने विषयमा समेत चियोचर्चा हुन थालेको छ । डडेल्धुराका मल्ल र डोटीका खड्का बाहेक अरु आकांक्षी पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । त्यसैले मुख्य प्रतिस्पर्धा उनीहरुकै बीचमा हुने अनुमान छ । कांग्रेस सुदूरपश्चिमका नेताहरु प्रदेशको नेतृत्व कैलालीले गर्न पाउनुपर्ने धारणा राख्छन् । कैलाली सिङ्गो प्रदेशकै नेतृत्व गर्ने जिल्ला भएका कारण पनि नरनारायण शाह प्रदेश सभापति बन्नुपर्छ भन्ने लविङमा उनीहरु छन् ।

‘उहाँको ९ जिल्लाकै सभापति र पार्टीका सिनियर, जुनियर नेताहरुसँग सम्बन्ध पनि छ । अहिलेसम्म देखिएका आकांक्षीमध्ये बलियो सम्भावना भएको नेता पनि उहाँ नै हो,’ एक नेताले अनलाइनखबरसँग भने, ‘त्यसैले उहाँ नै सुदूरपश्चिम प्रदेशको अबको पहिलो पार्टी सभापति बन्नुहुनेछ ।’

अहिले देखिएका दाबेदारमध्ये उनीसँगै बझाङका सिंह, अछामका शाह, कञ्चनपुरका थापा नै मुख्य प्रतिस्पर्धी रहेको दाबी गरिन्छ । अर्को पक्ष भने डडेल्धुराका मल्ल उनीहरुलाई टक्कर दिन सक्ने उम्मेदवारमध्येका भएको बताउँछ । यद्यपि मल्ल सभापतिमा लड्ने, नलड्ने कुराले त्यसको निर्धारण गर्नेछ ।

‘उहाँको पहिलो प्राथमिकता पार्टीको केन्द्रीय कमिटी हो,’ एक नेताले भने, ‘त्यो खालको परस्थिति नबनेमा मात्रै प्रदेश सभापतिमा दाबी रहन्छ होला ।’ कञ्चनपुरका थापा पनि केन्द्रीय सदस्यको लविङमा पनि लागेको दाबी गरिन्छ । थापाले आफू निकटलाई केन्द्रीय सदस्य पाउने अवस्था नरहेमा प्रदेश कमिटीको सभापतिमा उम्मेदवारी दिने बताउने गरेका छन् । उनी कांग्रेसमा नेता एनपी साउद निकट मानिन्छन् ।

‘१५ वर्षसम्म पार्टीको सभापति भएर जिल्ला हाकेको अनुभव उहाँसँग छ,’ एक नेताले भने, ‘सुदूरपश्चिमको सभापतिका लागि योग्य नेता हुनुहुन्छ । केन्द्रीय सदस्य नपाएमा उम्मेदवारी दिन्छु भन्दै आउनुभएको छ ।’ कांग्रेसमा प्रदेश सभापति चयनका लागि संघीय निर्वाचन क्षेत्रमा २५ जना प्रतिनिधि र प्रदेश निर्वाचन क्षेत्रमा १७ जना प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

सुदूरपश्चिममा १६ वटा संघीय निर्वाचन क्षेत्रबाट २५ जनाका दरले चार सय जना र ३२ वटा प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले पाँच सय ४४ जनाले मतदान गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment