२६ कात्तिक, पोखरा । नेपाली कांग्रेस संस्थापन पक्षले १५औं महाधिवेशन समयमै गर्न पोखरामा दबाबमूलक भेला गरेको छ । भेलाको नेतृत्व गरेका थिए, नेता गोपालमान श्रेष्ठनिकट मेखलाल श्रेष्ठले ।
मेखलालसँगै भेलाको समन्वय गर्ने अर्का नेता थिए, नेपाली कांग्रेस बागलुङ सभापति जित शेरचन । शेरचन कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् र सिटौला पक्षबाटै टिकट हात पारेर गण्डकी प्रदेशसभा सदस्य बनेका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहने बताइए पनि भेलामा अधिकांश नेता तथा जिल्ला सभापतिहरू देखिएनन् । कांग्रेस गण्डकी उपसभापति समेत रहेका मेखलाल बाहेक अन्य पदाधिकारी भेलामा उपस्थित थिएनन् ।
कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मासहित अधिकांश पदाधिकारी र सदस्य संस्थापन इतरका छन् र उनीहरू सबैजसो चुनावअघि महाधिवेशन हुनुपर्ने पक्षमा छन् ।
१५औं महाधिवेशन समयमै गर्न दबाबमूलक भेला भनिए पनि यसको अन्तर्यमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावको विपक्षमा गरिएको भेला थियो ।
संस्थापन पक्षको भेलामा नेतृत्व गरिरहेका मेखलाल र जित शेरचनले नै भनिरहेका थिए, ‘हतारमा अहिले नै महाधिवेशन गरौं भन्ने होइन तर पहिले क्रियाशील सदस्यतादेखिको विवाद टुंग्याउँ अनि समयमै महाधिवेशन गरौं ।’
गण्डकीका अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसमेत महामन्त्रीद्वयको प्रस्तावअनुसार नै पुस १६-१९ मा नियमित अधिवेशन वा त्योभन्दा अगावै विशेष महाधिवेशनको पक्षमा देखिएका छन् ।
संस्थापन पक्ष तथा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर मानिएका केन्द्रीय सदस्य पर्वतका अर्जुन जोशी, गोरखाका अब्दुर सतार, चिनकाजी श्रेष्ठ, मनाङबाट केन्द्रीय सदस्य रहेका टेकबहादुर गुरुङ चुनावअगावै महाधिवेशन हुनुपर्ने पक्षमा छन् ।
देउवानिकट केन्द्रीय सदस्य जोशी संस्थापन इतरका शुक्रबार शर्मासँग गण्डकी प्रदेश सभापतिमा पराजित भएका थिए । जोशीलाई पछि देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
उनै जोशी अहिले चुनाव अगावै महाधिवेशन हुनुपर्ने पक्षमा केन्द्रीय समितिको बैठकमै खुलेर बोलिसकेका छन् । संस्थापन पक्षकै मानिएकी गण्डकीकी सांसदसमेत रहेकी चम्पादेवी खड्का पनि चुनावअगावै महाधिवेशन गर्नुपर्ने पक्षमा खुलेकी छन् ।

संस्थापन पक्षबाटै कास्की सभापति जितेका किशोरदत्त बराल, पर्वतका युवराज जोशी, गण्डकीका अर्थमन्त्रीसमेत रहेका लमजुङका सभापति टकराज गुरुङ पनि चुनाव अगावै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा देखिएका छन् ।
गण्डकीका सांसदसमेत रहेका तनहुँका सभापति जितप्रकाश आले तटस्थ बस्दै केन्द्रीय समितिले जे निर्णय गर्छ त्यसपछि मात्रै आफू खुल्ने बताइरहेका छन् । नवलपुरका सभापति महेन्द्रद्वज जीसी, गोरखाका नन्दप्रसाद न्यौपाने पनि चुनावअगावै महाधिवेशन हुने पक्षमा खुलेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका मुस्ताङका सभापति रोमी गौचन, मनाङका सभापति नर्बु गुरुङले पनि चुनाव अगाडि नै महाधिवेशन हुनुपर्ने बताइरहेका छन् ।
बागलुङका सभापति जित शेरचनसँगै पूर्वराज्यमन्त्री समेत रहेका म्याग्दी सभापति खमबहादुर गर्बुजा (खम्बीर) संस्थापनका ७ भाइको पक्षमा स्पष्ट देखिएका छन् ।
निर्वतमान सांसदसमेत रहेका स्याङ्जाका राजु थापाले महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिएनन् भने उनी बुधबारको भेलामा समेत देखिएनन् । थापा आफूहरूसँगै रहेको र व्यस्तताको कारण आउन नसकेको बागलुङ सभापति शेरचनले दाबी गरे ।
नवलपुरबाट चुनाव जितेका पूर्वमहामन्त्री शशांक कोइरालासहित पूर्वउपसभापति समेत रहेका स्याङ्जाका गोपालमान श्रेष्ठसँगै गण्डकीका मुख्यमन्त्री तथा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, तनहुँका शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुव वाग्ले, कास्कीका गुरु बराल, स्याङ्जाकी सरस्वती अर्याल तिवारी, नवलपुरकी सीता पाण्डेलगायत तत्काल महाधिवेशन गर्न नहुने पक्षमा देखिएको नेताहरूले बताएका छन् ।
कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, कृष्णचन्द्र नेपाली पोखरेल, केन्द्रीय सदस्य प्रदीप पौडेल, शारदा पौडेललगायत नेता महामन्त्रीहरूको प्रस्तावको पक्षमा उभिएका छन् ।
गण्डकी प्रदेश समितिका सभापति शर्मासहित उपसभापति कल्पना तिवारी, महामन्त्री किरणबाबु श्रेष्ठ, विष्णुप्रसाद लामिछाने, सहमहामन्त्री रामचन्द्र जोशी, कोपिला रानाभाट, रमेशकुमार पाण्डे, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, प्रवक्ता माधव बास्तोलालगायत पनि चुनाव अगावै महाधिवेशन हुनुपर्ने पक्षमा देखिएका छन् ।
कास्कीसहित गण्डकीका अधिकांश क्षेत्रीय सभापतिहरूले पनि चुनाव अगावै महाधिवेशन हुनुपर्ने निर्णय नै गरेर केन्द्रीय समितिलाई बुझाएका थिए । गण्डकीका नेता/कार्यकर्ता चुनावअगाडि महाधिवेशन हुनुपर्ने पक्षमा देखिएका छन् । पोखरा महानगरसहित देशभरका महानगर सभापतिहरूले पनि तत्काल महाधिवेशनको माग राखेका थिए ।
संस्थापन पक्षका ७ भाइनिकट नेताहरूले भने पोखरामा भेला गरेर महाधिवेशनको माग नै विधिसम्मत नभएको र हस्ताक्षर गर्नेहरू कोको हुन् भन्ने नै नखुलेकाले कार्यकर्ताहरूलाई बुझाउनु परेको बताएका छन् ।
निर्वाचन र महाधिवेशन सँगै गर्दा तालमेल नमिल्ने बागलुङ सभापति शेरचनको दाबी थियो । चुनावमा टिकट बाँड्नकै लागि पहिल्यै महाधिवेशन भनिएको भन्दै समय र तयारी पुगेपछि महाधिवेशन हुनुपर्ने उनीहरूको भनाइ थियो ।
चुनाव अगावै महाधिवेशन हुनुपर्छ भन्ने पक्षले शनिबार पोखरामै भेला आयोजना गर्दैछ । प्रदेश समितिले नै महाधिवेशनको सन्दर्भमा भेला गर्न लागेको सभापति शुक्रराज शर्माले जानकारी दिए । चुनावअगाडि कि पछाडि भन्ने अन्तरद्वन्द्वले नेपाली कांग्रेसको तल्लो तहसम्मै विभाजन ल्याएको छ ।
प्रतिक्रिया 4