Comments Add Comment

सांसदहरुको प्रश्न : नागरिकता विधेयक कहिले पारित हुन्छ ?

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रमोद साह ।

१२ साउन, काठमाडौं । सांसदहरुले नागरिकता विधेयक छिटो भन्दा छिटो संसदबाट पारित गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक ३ वर्षदेखि प्रतिनिधिसभामा अड्किएको भन्दै त्यसलाई पारित गर्न सरकारको ध्यानाकर्षण गराए ।

४ साउन २०७५ मा प्रतिनिधिसभामा पेश भएको नागरिकता ऐन संशोधन विधेयक अझैसम्म पारित हुन सकेको छैन । उक्त विधेयक पारित नहुँदा जन्मको आधारमा नेपाली नागरिकता लिएका नेपाली नागरिकका सन्तान नागरिकताबाट वञ्चित भएका छन् । त्यस्तै नेपाली नागरिक आमाको सन्तानले आमाको नामबाट नागरिकता पाउन सकेका छैनन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि दफावार छलफल सकेर विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश गरिसकेको छ । तर, उक्त विधेयकको प्रतिवेदनमाथि दलहरुले असहमति राखेका कारण अगाडि बढ्न सकेको छैन ।

विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रमोद शाहले नागरिकता विधेयक पारित नहुँदा धेरै नेपाली नागरिक अनागरिक भएर बस्नुपरेको बताए ।

‘जन्मको आधारमा नागरिकता पाएकाको सन्तान कहिले यो देशको नागरिक हुने ?’ उनले प्रश्न गरे ।

परिवारको एउटा सदस्यले नागरिकता पाएको तर अर्को सदस्यले नागरिकता नपाएको भन्दै उनले यस्ता नेपालीलाई कहिलेसम्म गैर नागरिक बनाएर राख्ने भनी प्रश्न गरे । ‘एउटा भाई र अर्को भाईले नागरिकता पाएको छ अर्को बहिनी र भाइले पाएको छैन । के जन्मको आधारमा नागरिकता दिएका सन्तानलाई नागरिकता नदिने ? गैर नागरिक बनाएर राख्ने ?’ सांसद साहले भने ।

सांसद साहले नागरिकता विधेयक संसदबाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताए । ‘आज ती एमालेका साथीहरु संसदीय समितिमा जतिखेर (दफावार छलफल हुँदा) घोर विरोध गरिराख्नुभएको थियो । उहाँहरुको सरकारले अध्यादेशै ल्याएर पास गर्न खोजेको थियो’ उनले भने, ‘जसले नागरिकता पाइसकेको छ । उसका सन्तानलाई नागरिकता दिन एमालेले पनि चाहेको देखिन्छ । त्यसकारण अब सर्वसम्मतिमा नागरिकता विधेयक पास गरौं ।’

राज्य व्यवस्था समितिले पास गरेको नागरिकता विधेयकको प्रतिवेदनमा वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै पाउन सक्ने प्रावधान छ । विदेशी बुहारीले ७ वर्षपछि मात्रै नेपाली नागरिकता प्राप्त गर्न सक्ने र त्यस अवधिसम्मको लागि आवासीय अनुमति पत्र दिने व्यवस्था छ ।

सांसद साहले उक्त ७ वर्षे प्रावधानको भने विरोध गरे ।

‘भारतमा ७ वर्षको प्रावधान भएर यहाँ पनि राखिएको भन्ने तर्क सुनिन्छ । भारतमा आधार कार्ड भए पुग्छ । त्यहाँ नागरिकता नै छैन भन्दा पनि हुन्छ’ शाहले भने, ‘७ वर्ष पछाडि शुद्ध कसरी हुन्छ ? राष्ट्रवादी कसरी हुन्छ ?’

उनले बरु विदेशी महिलाले नेपालमा विवाह नै गर्न नपाउने प्रावधान राख्न चुनौती दिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद लालबाबु पण्डितले नागरिकता विधेयक जतिसक्दो छिटो पास गर्नुपर्ने बताए । ‘संसदमा अड्किएको धेरै भयो, अब नागरिकता विधेयक सहज रुपले छिटो पास गरौं’ पण्डितले भने ।

नेकपा माओवादी केन्द्रकी सांसद इन्दु शर्माले पनि नागरिकता विधेयक संसदबाट पास नहुँदा धेरै नागरिकहरु अनागरिक भएर बस्नुपरेको भन्दै जतिसक्दो छिटो विधेयक पास गरिनुपर्ने बताइन् ।

‘यो सदनमा पेश भएको नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन छिटो भन्दा छिटो सर्वसम्मतिले पास गरियोस्’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment