Comments Add Comment

प्रतिगमन कि अग्रगमन ?

प्रतिगमन कि अग्रगमन भन्ने बहस विस्तारै धीमा बन्दै गइरहेको छ । किनकि देशमा देउवाको सरकार आएको छ । नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने हो भने यी शब्दहरू नेपालको राजनीतिमा सदावहार हुन् । जुन आफू अनुकूलताका लागि प्रयोगमा ल्याइने अस्त्र बनेका छन् ।

राजनीतिमा सबै सम्भव हुन्छ भन्ने अभिव्यक्त विचारले राजनीतिलाई मात्र होइन, हरेक क्षेत्रलाई गाँजेको पाइन्छ । आफू नै सर्वेसर्वा भन्ने सोचले व्यक्तिविशेषलाई मात्र होइन, सिङ्गो समुदायलाई नै बन्धक बनाइदिएको छ ।

राजनीति नै व्यक्तिकेन्द्रित बनेपछि त्यसले दिने नतिजा पनि व्यक्तिकेन्द्रित नै हुनेभयो, न कि समाज र राष्ट्रकेन्द्रित । राजनीतिभित्र हुने विचार समूह होस् वा गुट–उपगुट त्यो सबैको अन्तर्य भनेको आफूमा नै निहित बनिदियो । नेपालको राजनैतिक स्कुलिङ्ग नै यति अराजक र भ्रष्ट बनिदियो कि जति अरूलाई गाली गर्न सक्यो, उति नै बलियो हुन्छु भन्ने कमजोर मानसिकता हावी बनिदियो ।

निवर्तमान केपी शर्मा ओलीले पहिलोपटक संसद विघटन गर्दा विपक्षी पार्टी मात्र होइन, नेकपा एमालेभित्रको माधव नेपाल समूहको एउटा पक्ष पनि प्रतिगमन भन्दै सडकदेखि सदन हुँदै सर्वोच्चसम्म कुर्लियो । भन्ने प्रतिगमन भने तापनि त्यसको अन्तर्य भनेको शक्ति र सत्ताकेन्द्रित खेल हो भन्ने कुरामा कुनै द्विविधा देखिएन ।

सादगी नेता कृष्णप्रसाद भट्टराई होस् वा मनमोहन अधिकारी र मदन भण्डारी, जसले निस्वार्थ देश र जनतालाई केन्द्रभागमा राखेर राजनीति गरे, उनीहरूले बोल्ने अग्रगमन र प्रतिगमन शुद्ध भएतापनि त्यसपछिका नेताहरूले बोल्ने अग्रगमन र प्रतिगमन फगत मिथ्या मात्र हुन् । जसले सिङ्गो जनता र व्यवस्थालाई प्रतिनिधित्व गर्न सक्दैन ।

अग्रगमन र प्रतिगमन आफैंमा साध्य होइनन्, साधन मात्र हो । जुन जसले जता पनि आफ्नो अनुकूलताका लागि प्रयोगमा ल्याएर जनताको आँखामा छारो हालिरहेका छन्, भएको यति मात्र हो ।

हिजो त्यही देशद्रोही, प्रतिगमनका मतियार आज सत्ता-सारथि र अग्रगमनका पर्याय बनेका छन् । सत्ता र शक्ति भनेको नै यस्तै रहेछ । आफू अनुकूल भए अग्रगमन, प्रतिकूल भए प्रतिगमन ।

२०५१ सालमा माओवादीले जनयुद्ध घोषणा गर्नुपूर्व अहिलेका अग्रगामी भनिने राजनैतिक दलको नेतृत्वमा सरकार रहँदा विदेशी कठपुतलीदेखि भएभरका शब्दावलीका जेहाद छेडेर आन्दोलनमा होमिएको थियो । समय बिते पनि त्यतिबेलाको परिवेश र अहिलेको परिवेशलाई नजिकबाट नियाल्ने हो भने व्यवस्था परिवर्तन बाहेक अन्य केही परिवर्तन भएको छैन ।

हिजो त्यही देशद्रोही, प्रतिगमनका मतियार आज सत्तासारथि र अग्रगमनका पर्याय बनेका छन् । सत्ता र शक्ति भनेको नै यस्तै रहेछ । आफू अनुकूल भए अग्रगमन, प्रतिकूल भए प्रतिगमन । यसभन्दा अन्यत्र सोच्नु भनेको विवेक र चेतनाशून्यता मात्र हुन् ।

हिजो सिङ्गो राज्य व्यवस्था विरुद्ध धावा बोलेर आन्दोलनमा आएको तत्कालीन माओवादी शान्ति प्रक्रियामा आइपुगेपछि संसदको सबैभन्दा ठूलो दल हुँदै आज खुम्चिएको छ । हिजो सत्ताको नेतृत्व गरेको माओवादीको रवैया हेर्दा लाग्दथ्यो, अब अन्य राजनैतिक शक्तिहरू सबै पुरातनवादी, यथास्थितिवादी र प्रतिगामी । आज समय फेरिएको छ । समयको गतिसँगै अस्तित्वविहीन बन्न लागेको माओवादी पार्टी राजनीतिमा साध्य होइन, साधन मात्र बनेको छ ।

आफैं अस्तित्व र पहिचानको कुरा गर्ने माओवादी आज त्यही प्रतिगमन, पुरातनवादीको बैसाखीमा आफ्नो अस्तित्व रक्षाका लागि कुर्लिरहेको छ । राजनीति विवेक र चेतनाले गर्ने हो, माओवादी अध्यक्षले योभन्दा आशाका त्यान्द्राहरू बिउँझिएका थिए, तर भनाइ र गराइको तादात्म्यता नमिल्दा पहिचान रक्षाका लागि कुर्लिने माओवादीले आफ्नो चरित्र धेरथोर देखाइसकेको छ । सारथि आवश्यकताका बेलामा मात्र सहयात्री बन्न सक्दछन् न कि सर्वत्र ।

हिजो प्रतिगमन भनेर कुर्लने माधवकुमार नेपाल होस् वा शेरबहादुर देउवा । विचारको राजनीति होइन, शक्ति र सत्ताका लागि मात्र कुर्लिएको हो भन्न गाह्रो छैन । विचार समूह आफैंमा सकारात्मक होला, तर त्यो व्यक्तिकेन्द्रित हैन, समाज र देशकेन्द्रित हुनुपर्दछ ।

महाधिवेशनबाट केपी ओली शर्माबाट हारेका माधवकुमार नेपाल ओलीको शक्ति क्षयीकरणका लागि प्रतिगमन भन्दै कुर्लेर आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर देउवालाई प्रधानमन्त्री बनाउनु नै अग्रगमन हो भन्ने ठान्दछन् भने त्योभन्दा घृणित काम अरू केही हुन सक्दैन । लोकतान्त्रिक देशमा निर्दलीयताको पक्षपोषण गरेर फगत ओली हटाएर आफ्नो भूमिका स्थापित गरेका माधवकुमार अग्रगमन होइन, प्रतिगमनका मतियार हुन् । जुन भोलिको दिनमा देखिनेछ ।

देश र जनताको परिवर्तनका खातिर गरिने क्रियाकलाप राजनीति हो तर यहाँ राजनीतिका नाममा व्यक्तिकेन्द्रित अभीष्ट पूरा गर्नका लागि गरिने तिकडमलाई राजनीति भनियो । हिजो ओली बहिर्गमनका लागि तल्लो तहका अभिव्यक्ति दिन पछि नपर्ने नेतृत्वगणले पुष्टि गर्न सक्नुपर्दछ, ओली कसरी प्रतिगामी र देउवा कसरी अग्रगामी ।

राजनैतिक अस्थिरतामा रहनुभन्दा जनता मार्फत चुनावमा गई ताजा जनादेश मार्फत शासन व्यवस्था शुरू गर्ने भन्ने ओली प्रतिगमनका मतियार र चुनावमा हारेर पनि अध्यक्ष वा प्रधानमन्त्री अथवा विना महाधिवेशन जीवनभर अध्यक्ष हुने सोच अग्रगमन ? के यही हो लोकतन्त्र ? जनताको जनादेशलाई सम्मान गर्न नसक्नेहरू चाहिं अग्रगमन, जनताको जनादेश प्राप्त गर्ने शासक चाहिं प्रतिगमन ?

अनुकूलतामा प्रायोजित शब्द फगत आत्मरतिका लागि मात्र सुहाउँछ, न कि व्यावहारिक कार्यान्वयनका लागि । आफूकेन्द्रित गरिने कुकर्मलाई राजनीतिको रङ देखाएर सधैं चर्चामा रहने सोच घातक हुन्छ । को कति अग्रगमन र को कति प्रतिगमनकारी सीमित नेताको परिभाषा नै सर्वाङ्गीण होइन ।

एक्काइसौं शताब्दीका जनता सधैं कसैलाई शक्ति र सत्ताका लागि अन्धभक्त भएर सारथि बन्न सक्दैनन् । नेपालको राजनीतिमा धेरै राजनीतिकर्मी आए, गए । सबैको परिचय र जनताको मूल्याङ्कन समान छैन । नेताको चेतना र विवेकले देश र समाजलाई परिवर्तन उन्मुख लैजान्छ, तर त्यो चेतना र विवेक समाज र राष्ट्रकेन्द्रित हुनुपर्दछ । नत्र जतिसुकै प्रतिगमन र अग्रगमनको नारा ओकले पनि हुनेवाला केही छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment