Comments Add Comment

हेपाटाइटिस सीको उपचार शुरु गर्न माग गर्दै लुम्बिनीका स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

१३ साउन, बुटवल । हेपाटाइटिस सीको निःशुल्क परीक्षण र उपचार शुरु गर्न विभिन्न संस्थाले लुम्बिनी प्रदेश सरकारसँग माग गरेका छन् । विश्व हेपाटाइटिस दिवसको अवसरमा आस्था समूह रुपन्देही र रिकभरिङ नेपाल बुटवलले संयुक्त रुपमा लुम्बिनीका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै परीक्षण र उपचारको माग हुन् ।

विश्व स्वास्थ्य संगठनको अध्ययनले विश्वमा हेपाटाइटिस संक्रमणको जोखिम बढ्दै गइरहेको र नेपालमा मात्रै १ लाख ३० हजार व्यक्ति हेपाटाइटिस सीका बिरामी रहेकाले उनीहरुको उपचार शुरु गर्न माग गरिएको हो ।  ‘दक्षिण एशियाली मुलकहरुले हेपाटाइटिस सीका बिरामीको उपचार सेवा शुरु गरिसके पनि नेपालको राष्ट्रिय स्वास्थ्य कार्यक्रममा उपचार शुरु नभएकाले नेपालमा पनि उपचार अविलम्ब लागू गर्न माग गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१५ को तथ्यांक अनुसार विश्वमा ७ करोड १० लाख मानिस हेपाटाइटिस सीका बिरामी रहेका र वर्षेनी करिब चार लाख मानिसको मृत्यु हुने गरेको रिकभरिङ नेपालका हिमाल गौचनले बताए ।

हेपाटाइटिस सीका बिरामीमध्ये लागूऔषध प्रयोगकर्ता र एचआईभी संक्रमितहरुको संख्या उच्च रहेको आस्था समूहका केशव पुनले बताए । हेपाटाइटिस सीका बिरामीमाथि सामाजिक भेदभाव र लान्छना हुने गरेकाले त्यसलाई हटाउन सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्न पनि उनीहरुले माग गरेका छन् ।

ज्ञापनपत्र बुझेपछि मन्त्री श्रेष्ठले हेपाटाइटिस सीका बिरामीको उपचारमा प्रदेश सरकारले ध्यान दिने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment