Comments Add Comment

सिंहदरबार पुगेर ओलीले भने : एकताका लागि लचक छु

१३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली बुधबार दिउँसो संसदीय दलको कार्यालय सिंहदरबार पुगे ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि उनी पहिलो पटक संसदीय दलको कार्यालय पुगेका हुन् । लामो समयपछि संसदीय दलको कार्यालय सिंहदरबार गएका अध्यक्ष ओलीले सांसद र पार्टी नेताहरुसँग धेरैबेर कुराकानी गरे ।

कुराकानीका क्रममा अध्यक्ष ओलीले पार्टीका केही नेताले अनुशासनको दायरा नाघेर जाने काम भएपनि एकताको लागि लचिलो भएको बताए । ‘माधव नेपाल निकै पर पुगिसक्नुभएको अवस्था छ । तर त्यस्तो बाटो रोज्नु हुन्न’, अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एक नेताले भने ।

माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश १ का नेताहरुसँग लामै कुराकानी गरेका अध्यक्ष ओली त्यसपछि सांसदहरुसँग छलफलमा बसेका थिए । ‘उहाँ (केपी ओली) ले पार्टी एकताकै निम्ति लचक बनेको बताउनुभयो’, भेटवार्ता पछि एक सांसदले भने, ‘विभाजनतिर लाग्ने हो भने त शेरबहादुर देउवालाई विश्वासको मत दिएकै दिन फरक निर्णय हुनसक्थ्यो भन्नुभयो ।’

सांसदहरुसँग कुराकानी सकेर अध्यक्ष ओलीले संसदको काम कारबाहीबारे प्रमुख सचेतक विशाल भट्टराईसँग छलफल गरेका थिए । दिउँसो दुई बजे सिंहदरबार पुगेका अध्यक्ष ओली साढे चार बजे सिंहदरबारबाट फर्किएका थिए ।

प्रधानमन्त्रीबाट पदमुक्त भएयता अध्यक्ष ओली वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध आक्रोशयुक्त अभिव्यक्ति दिँदै आएका थिए । तर सिंहदरबारमा पार्टी नेता र सांसदहरुसँग भने फरक रुपमा प्रस्तुत भएको एक नेताले बताए ।

‘उहाँले पार्टी एकतामै जोड दिनेगरी बोल्नुभयो । एकताबद्ध एमालेको विकल्प नरहेको निष्कर्ष थियो’, एक नेता भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment