Comments Add Comment

कोरोनासँग खेलाँची : मास्क खोल्न किन हतार ?

हामीलाई मास्क खोल्न हतार भइसक्यो । भीडभाड गर्ने मुड बनिसक्यो । जबकि कोरोना भाइरस ज्यूँका त्यूँ छ । यसबाट संक्रमित हुने र मृत्यु हुने क्रम पूर्णत: घटेको छैन । सुरक्षित र संयमित भएर आफ्नो दैनिक काम–व्यवहार गर्नु त पर्छ नै । तर, हामी कोरोनासँग खेलाँची गर्दैछौं ।

अमेरिकामा पुन: कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ८४ हजार बढी संक्रमित देखिएका छन् । जबकि त्यहाँ ४९ दशमलव ७ प्रतिशतले खोपको पूरा डोज लगाइसकेका छन् । तैपनि अमेरिकामा मास्क र भौतिक दूरीको आवश्यक्ता कायम छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले विद्यालयका बच्चा, शिक्षक र स्टाफलाई अनिवार्य मास्क लगाउन भनेको छ । सीडीसीले फ्लोरिडा र मिसौरीमा पूर्ण इम्युनाइज्ड व्यक्तिमा पनि डेल्टा भेरियन्ट फैलिएपछि मास्क अनिवार्य गरेको हो । अमेरिकामा डेल्टा भेरियन्टबाट संक्रमित हुनेहरु धेरै देखिएका छन् । छिमेकी भारतमा पनि यसको संक्रमण दर उच्च छ ।

नेपाल यसबाट अछुतो छैन । हामीकहाँ कोभिड १९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यसले सबै उमेर समूहलाई तीव्र संक्रमित गराउने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

तर, धेरैले आफ्नो मुखबाट मास्क हटाइसके । भीडभाड बढ्न थाल्यो । यसले कोरोनाको जोखिमलाई अरु बढाइदिएको छ ।

हुन त कतिपयले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । यद्यपि कोरोना खोप लगाएकाहरुमा पनि यो संक्रमण फैलिने जोखिम भने कम छैन । सीडीसीका अनुसार खोप लगाइसकेका व्यक्तिमा पनि संक्रमण देखिएको छ । रिसर्चले के पनि बताएको छ भने दुवै डोज खोप लिइसकेका मान्छेबाट पनि अरु व्यक्तिमा संक्रमण सर्ने जोखिम छ । सीडीसीले अमेरिकाको संक्रमित क्षेत्रमा अनिवार्य मास्क लगाउनुपर्ने जनाएको छ ।

संक्रमणबाट बच्न मास्क महत्वपूर्ण

कोरोना विरुद्ध खोप लगाइसकेपछि कोरोना संक्रमण हुँदैन भन्ने भ्रम धेरैमा छ । त्यही कारण उनीहरुमा मास्क नलगाउने, भीडभाड गर्ने प्रवृत्ति देखिन्छ । जबकि, उनीहरुको माध्यमबाट पनि कोरोना संक्रमण फैलन सक्ने अध्ययनहरुले देखाइसकेका छन् । अतः अहिलेको अवस्थामा कोरोना संक्रमण फैलन नदिनका लागि सबैभन्दा प्रभावकारी भनेको भौतिक दूरी कायम राख्नु र मास्क लगाउनु नै हो ।

युनाइटेड फुड एन्ड कमर्सियल वर्कर्स इन्टरनेशनलका अध्यक्ष मार्क पेरोन भन्छन्-  भाइरसबाट फैलिने संक्रमण रोक्ने एक मात्र उपाय मास्क हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment