Comments Add Comment

शुक्लाफाँटा निकुञ्जमा २६ वर्षदेखि बढेन बाघको संख्या !

फाइल तस्वीर

१४ साउन, धनगढी । बिहीबार नेपालसहित विश्वभर बाघ दिवस मनाइँदैछ । सन् २०१० मा रुसबाट विश्व बाघ मञ्चले घोषणा गरेदेखि प्रत्येक वर्ष जुलाई २९ लाई विश्व बाघ दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपालमा सरकारले सन् २०२२ अर्थात् आगामी वर्षभित्र बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । सन् २०१० मा रहेको बाघको संख्या १२१ लाई वृद्धि गरेर २५० पुर्‍याउने लक्ष्यअनुसार संरक्षणका कार्यक्रम सञ्चालनमा छन् । सुदूरपश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघ संरक्षणको हिसाबले पनि महत्वपूर्ण मानिन्छ । कञ्चनपुर जिल्लामा अव्यस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ बाघ छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक संरक्षण अधिकृत रविन चौधरीले सन् २०१८ मा गरिएको गणनाअनुसार यहाँ ९ भाले, ६ पोथी र एउटा लिङ्ग पहिचान नभएको गरेर १६ बाघ रहेको जानकारी दिए । निकुञ्जमा पछिल्लो पटक बाघको गणना गरिएको भए पनि आधिकारिक रुपमा तथ्यांक सार्वजनिक गरिएको छैन । अहिले तीन वर्ष अघिको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ । तर सन् २०१८ मा गणना गरिएअनुसार बाघको संख्या अघिल्ला वर्षहरुको तुलनामा कम र सन् १९९५ को संख्याको बराबर हो ।

निकुञ्ज कार्यालयले पहिलो पटक सन् १९९५ मा बाघको संख्या गणना गर्दा १६ वटा थियो । सन् २००२ मा बढेर २६ पुगेको उक्त संख्या सन् २००५ मा भने घटेर १८ मा झरेको थियो । सन् २०१३ मा गरिएको राष्ट्रिय गणनामा १७ मा पुगेको संख्या सन् २०१८ मा आउँदा १६ मा सिमित हुनु पुगेको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत चौधरी भने सन् १९९५, २००२ र २००५ मा क्यामेरा ट्यापिङ प्रणाली नभईकन पदमार्गको आधारमा संख्या गणना गरिएको बताउँछन् । उनका अनुसार सन् २०१३ सालदेखि मात्र निकुञ्जले क्यामेरा ट्यापिङ मार्फत बाघ गणना गर्न थालेको थियो ।

निकुञ्ज प्रमुख भन्छन् बाघको संख्या वृद्धि भएको छ, छिट्टै सार्वजनिक गर्छौं

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पूर्जापुन सन् २०१८ को तुलनामा बाघको संख्यामा वृद्धि भएको बताउँछन् । पुर्जापुनले निकुञ्जमा १६ वटा बाघ रहेकोमा तीन वर्ष अघिको तुलनामा पोथी बाघको संख्यामा समेत सुधार हुने अनुमान निकुञ्ज कार्यालयले गरेको जनाए ।

‘हामीले बाघको संख्या गणनाको फिल्ड कार्य सकेका छौं । बिहीबार बाघ दिवसको अवसरमा नयाँ संख्या सार्वजनिक गर्ने तयारी थियो, तर प्राविधिक कारणले सकिएन,’ पुर्जापुनले अनलाइनखबरसँग भने, ‘हाम्रो अनुमानमा पोथी बाघको संख्या गत वर्षको भन्दा वृद्धि भएको छ । अब बाँकी रहेका काम सकेर छिट्टै सार्वजनिक गर्छौं ।’

सरकारले निर्धारण गरेको लक्ष्य अनुसार शुक्लाफाँटामा समेत बाघको संख्या दोब्बर पुर्‍याउन संरक्षणका कार्यक्रम सञ्चालन गरिएका छन् । ‘बाघको संख्या दोब्बर गर्न हामीले सक्दो प्रयास गरिरहेका छौं,’ उनले भने, ‘बाघको बास स्थानमा ह्रास आउन नदिने, खण्डीकरण हुन नदिने, बाघ र मानिसबीचको द्वन्द्व व्यवस्थापन गर्ने जस्ता कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्दो अतिक्रमण, अवैध प्रवेश गरेर चोरी शिकारी गर्ने, अति चरीचरन, आहाराको कमी लगायतका कारण बाघ संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment