Comments Add Comment

नारायणी अस्पताल परिसरमा ‘कोभिड डेडिकेटेड भवन’ बनाइँदै

१४ साउन, वीरगञ्ज । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नारायणी अस्पतालमा छुट्टै ‘कोभिड डेडिकेटेड भवन’ बनाइने भएको छ । त्यसका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी आइतबार सम्झौता गर्ने गरी आवश्यक काम अघि बढाइएको नारायणी अस्पतालले जनाएको छ ।

खुल्ला प्रतिस्पर्धाबाट २ करोड १६ लाख रुपैयाँमा विनोद साह-वनशक्ति जेभी निर्माण कम्पनीलाई ठेक्का दिन लागिएको छ । शवगृह नजिकैको जग्गामा कोभिड डेडिकेटेड अस्पताल बनाइनेछ । भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले तीन करोड रुपैयाँ निकासा गरेको थियो । त्यही रकमबाट ‘कोभिड डेडिकेटेड भवन’ बनाउन लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतलका जिन्सी शाखा प्रमुख सुशील यादवका अनुसार निर्माण कम्पनीलाई तीन महिनाको समय दिएर काम लगाइनेछ । काम सम्पन्न हुँदा ६६ वटा बेड अट्न सक्ने एकतले भवन तयार हुनेछ । तर अस्पतालले मन्त्रालयसँग थप बजेट माग गरेर तीन तल्लासम्म बनाउने सोच बनाएको छ । थप दुई करोड रुपैयाँ निकासा भएको खण्डमा तीनतल्ले भवन तयार हुने त्यसबाट दुई सय बेडको केभिड सेवा दिन सकिने अस्पतालको भनाइ छ ।

छुट्टै कोभिड डेडिकेटेड ठाउँ भएपछि अन्य सेवा बन्द नगरी कोभिड सेवा दिन सक्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वीरेन्द्र प्रधानले बताए । ‘कोभिड बिरामीलाई सेवा दिनुपर्दा अन्य सेवा रोक्नुपर्ने अवस्था अहिले छ,’ उनले भने, ‘कोभिड डेडिकेटेड भवन तयार भएपछि त्यसो गर्नुपर्दैन । नियमित सेवासँगै कोभिडका बिरामीलाई सेवा दिन सकिन्छ ।’

कोभिड भवनमा भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर लगायत आवश्यक सबै सेवा सुविधा भएको एचडीयू, आईसीयू बेड तयार गरिने निमित्त मेसु डाक्टर प्रधानको भनाइ छ ।

कोभिडबाट मृत्यु भएकाको शव राख्न छुट्टै शवगृह

अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि छुट्टै शवगृह समेत तयार भइरहेको छ । असारमै सम्झौता भई अंकित निर्माण कम्पनीले शवगृह बनाइरहेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । निर्माण कम्पनीले १६ लाखमा ठेक्का सकारेर काम शुरु गरेको थियो ।

निर्माणको काम अन्तिम चरणमा पुगेको अस्पतालको जिन्सी शाखा प्रमुख यादवले बताए । ‘शवगृहको छत ढलान भइसकेको छ,’ उनले भने, ‘रंगरोगन, प्लाष्टर गर्ने लगायतको काम बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment