Comments Add Comment

सरकारले सबैलाई छिटो कोरोना खोप दिलाउनुपर्छ : प्रकाशमान

Photo Credit : UP Lamichhane

१६ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । उनले कोभिशिल्ड खोपको दोस्रो डोज नपाएकाहरुलाई तत्काल उपलब्ध गराउन पनि आग्रह गरे ।

‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिशिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो सम्बोधन गर्न सरकारले ध्यान दिनु पर्ने बताए ।

‘जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईंले आवाज उठाइदिनुपर्यो भन्छन् । जनताका ती जायज माग हुन्,’ नेता सिंहले भने ‘सरकारले कोभिशिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैलाई त्यसको व्यवस्था गर्न ध्यान दिनुपर्दछ ।’

उनले अगाडि भने, ‘कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ । यस्तो बेला सरकारले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नु पर्छ ।’ कांग्रेस नेतृत्वको सरकारको पहिलो प्राथामिकता कोरोना नियन्त्रण हुनुपर्ने उनको जोड थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप भनेको स्मरण गर्दै उनले सोही अनुसारको काम गरेर देखाउन आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूले संसदमा समेत आफ्नो पहिलो प्राथमिकता पनि खोप हो, दोस्रो प्राथमिकता पनि खोप हो, तेस्रो प्राथमिकता पनि खोप हो भन्नु भएको छ । अब त्यही अनुसारको कदम चाल्नु पर्यो नि । कामबाटै उहाँले गर्नु भएको प्रतिवद्धता पूरा गरेर देखाउन पनि ध्यानाकर्षण गराउन चाहन्छु । विश्वास गरौं काम पनि त्यसै अनुसार हुनेछ ।’

कार्यक्रममा नेता सिंहले छत्रपाटी निःशुल्क चिकित्सालयको विस्तारित नयाँ भवन कोठा निर्माणका लागि सहयोग गरेकाहरुलाई सम्मान समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment