Comments Add Comment

वित्तिय संस्थाका कर्मचारी र चालक–सहचालकलाई ललितपुरमा सोमबार खोप

१६ साउन, ललितपुर । ललितपुर महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा सार्वजनिक यातायातका चालक सहचालकहरुलाई आगामी सोमबार काेराेनाविरूद्धकाे खोप लगाउने भएको छ ।

ललितपुर महानगरमा साउन १५ गतेदेखि १७ गतेसम्म ४५ वर्ष र त्यसभन्दा माथिकालाई भेरोसिल खोप लगाउने कार्यक्रम संचालन भइरहेको छ । आगामी सामेबार भने जनसम्पर्क धेरै हुने पेशा र व्यवसायमा संलग्न रहेकालाई कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने भएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरभित्रका बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारीले यो खोप पाउने छन् । साथै महानगरपालिकाभित्र चल्ने सार्वजनिक ठूला बस, माइक्रोबस र टेम्पोका चालक र सहचालकलाई पनि यो खोप लगाइने छ ।

उद्योग वाणिज्य संघ ललितपुरको सिफारिस पाएका खुद्रा व्यवसायी र विदेश जान टिकट र भिसा लिएकालाई पनि यो खोप दिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।

महानगरले जोन्सन एण्ड जोन्सन खोप पाटनढोकास्थित पाटन मावि, जावलाखेल चोक (फुटबल मैदानसँगै) र सातदोबाटोमा रहेको महेन्द्र आर्दश माविको खोप केन्द्रबाट दिने व्यवस्था मिलाएको छ । यी तीनवटा खोप केन्द्रमध्ये आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन सकिनेछ ।

¥यापिड रेस्पोन्स टिमका संयोजक समेत रहेका अर्यालले भने, ‘प्राथमिकताको आधारमा खोपको व्यवस्था गरेका हौं ।’ यी समूहको जनसम्पर्क धेरै हुने भएकाले यो पटक ती पेशा र व्यवसायमा रहेकालाई खोप लगाउन लागेको उनले बताए ।

ललितपुर महानगरपालिकाले उमेर समूहसँगसँगै व्यक्तिको अवस्था र पेशा, व्यवसायको प्रकृति हेरेर खोप कार्यक्रममा तयार पारेको छ । प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, ‘खोपको उपलब्धतासँगसँगै उमेरसँगसँगै अवस्था र पेशागत आबद्धतालाई प्राथमिकतामा राखेका छौं ।’ हाललाई उमेर समूहमा नपरेका महानगरवासीलाई धैर्य गर्न उनले आग्रह गरे ।

ललितपुर महानगरपालिकाले यसअघि नै अपागंता भएका, महानगरभित्र भएका सरकारी कार्यलयमा कार्यरत कर्मचारीलाई खोपको व्यवस्था गरिसकेको छ । विदेश जान टिकट र भिसा लिएकालाई यस अघि पनि महानगरले खोपको व्यवस्था गरेको थियो ।

अन्यत्र खोप कार्यक्रम अव्यवस्थित भएको गुनासो आइरहँदा ललितपुर महानगरले यो कार्यक्रमलाई सकेसम्म व्यवस्थित बनाउन प्रयास गरेको छ । व्यवस्थित हुनुका धेरै कारणमध्ये तीनवटा प्रमुख भएको अर्यालले बताए । उनले भने, ‘उमेर समूह अनुसार तथ्यांक संकलन, प्रभावकारी अनुगमन, कर्मचारीलाई प्रशिक्षण गरिएकाले हालसम्म ठूलो समस्या बेहोर्नु परेको छैन ।’

तथ्यांक संकलनले कहाँ कति खोप आवश्यक छ, कतिले खोप लिए लगायतका विवरण राख्न सजिलो हुनुका साथै खोप कार्यक्रम सुरु गरे लगत्तै स्थगित गर्नु नपरेको महानगरले जनाएको छ ।

महानगरका अनुसार महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई महानगरले छिट्टै खोपको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment