+
+

रणमैदानबाट घर फर्किंदाको खुशी

नेपाल फर्किएकाहरू भन्छन्-  सरकारले होइन कम्पनीले फिर्ता ल्याएको हो

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ भदौ १ गते २०:०९

१ भदौ, काठमाडौं । काँधमा ठूलो झोला र हातमा सुटकेश गुडाइरहेका युवाहरूको ताँती मंगलबार त्रिभुवन विमानस्थलमा देखापर्‍यो । अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो दृश्य देखिनु सामान्य भए पनि मंगलबारको अवस्था भने फरक थियो । यी युवा रणभूमिबाट सकुशल घर फर्किन पाएका नेपालीहरू थिए ।

वैदेशिक रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका यी नेपालीमध्ये मंगलबार १२० जना बिहान ११ बजे कतारको दोहा हुँदै नेपाल आइपुगे ।

तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा काम गर्ने नेपालीहरूले असुरक्षित महसुस गरेका थिए । यिनैमध्ये एफएसआई वल्र्डवाइड म्यानपावर कम्पनीले अफगानिस्तान पठाएका आफ्ना कामदार फिर्ता ल्याएको हो । जसमध्ये अधिकांश सुरक्षा गार्डको काम गर्नेहरु रहेका छन् ।

उद्धार गरी नेपाल ल्याइएकाहरूलाई विमानस्थलबाट सिधै सामाखुसीको राधास्वामी आइसोलेसनमा कोरोना परीक्षणका लागि लगियो । विमानस्थलबाट कोरोना परीक्षण गर्न लैजाने काम नेपाली सेनाले संयोजन गरेको थियो ।

राधास्वामीमा कोरोना परीक्षण गरिसकेपछि युवाहरु आ–आफ्नो गन्तव्यतर्फ लागे । यही मेसोमा भेटिए बुटवलका सुरेश थापामगर । दुई वर्षअघि अफगानिस्तान गएका सुरेशले स्वदेश फर्किन पाउँदा सन्तोष लागेको बताए ।

 

‘हामीलाई भन्दा पनि घर–परिवारलाई असाध्यै डर थियो । धन्न चाँडै फर्किन पाइयो,’ उनले भने, ‘अब भने सबैलाई ढुक्क भयो ।’

यद्यपि अफगानिस्तानको राजधानी काबुलको वातावरण निकै तनावग्रस्त भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने त्रास रहेको थापा बताउँछन् । विमानस्थलमा समेत आ–आफ्नो देश फर्किने र शरण लिन जानेहरूको भीडभाडले गर्दा झडप भइरहेको उनले बताए ।

बुटवलका सुरेशसँगै भारत देहरादुनका राजकुमार सिंह पनि सुरक्षित फर्कन पाएकोमा खुशी देखिन्थे । चार वर्षदेखि उनी नेपालीहरूसँगै अमेरिकी दूतावासमा सुरक्षा गार्डको काम गर्थे ।

राजकुमार भन्छन्, ‘अमेरिकीसँग काम गर्ने भएकाले तालिबानको निशाना हामीलाई पनि हुन सक्थ्यो । यसैले फर्किएका हौं ।’

भारत सिम्ला घर भएका तरुणकुमार पनि नेपालीहरूसँगै फर्किएका छन् । अब नेपालकै बाटो भएर घर फर्किने योजना रहेको उनले सुनाए । ‘जागिरको भन्दा पनि ज्यानको थियो । अब भारतमै काम गर्नेछु,’ उनले भने ।

राधास्वामी आइसोलेसनमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाहरु मंगलबार नै घर फर्किने तयारीमा थिए । मंगलबार नेपाल फर्किएका १२० जनामध्ये ९ जना भारतीय नागरिक रहेका थिए । कोरोना पोजेटिभ देखिएका र कन्ट्रयाक्ट ट्रेसिङमा रहेकाहरूलाई भने राधास्वामी आइसोलेसनमै राखिएको आइसोलेसनका डा. मुक्तिनाथ सन्खीले जानकारी दिए । उक्त आइसोलेसनको संयोजन नेपाली सेनाले गरिरहेको छ ।

सरकारले होइन कम्पनीले ल्याएको हो

सोमबार नेपाल फर्किनेहरू एफएसआई म्यानपावर कम्पनीले अफगानिस्तान पठाएका नेपाली र भारतीयहरू थिए । उनीहरूका अनुसार कम्पनीले दूतावाससँग सहकार्य गरेर नेपाल ल्याएको हो ।

कोरोना परीक्षण गर्न आएका उनीहरूको साथमा कम्पनीका प्रतिनिधि पनि थिए । कामदारको नाम टिप्नेदेखि जहाजको व्यवस्था गर्ने काम कम्पनीले नै गरेको थियो ।

नेपाल फर्किएका एक पूर्वसैनिकले भने, ‘बाहिर सरकारले ल्याएको भने पनि सम्पूर्ण बन्दोबस्त कम्पनीले गरेको हो ।’

उनका अनुसार दूतावासमा फोन गर्दा नेपालबाट निर्णय भएपछि मात्र फिर्ता लाने जानकारी दिइएको थियो । यसपछि तनावमा रहेका नेपालीलाई कम्पनीले सम्पर्क गरेको थियो ।

यता परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानका सक्रिय विभिन्न कूटनीतिक नियोगमा करीब १५ सय नेपाली कार्यरत रहेका छन् । उनीहरू सबैलाई नेपाल सरकारको तर्फबाट फिर्ता ल्याउन तयारी थालिएको मन्त्रालय स्रोतले बतायो ।

अहिले फर्किरहेकाहरू भने निजी पहलमा आफू गएको कम्पनीमार्फत नेपाल आएका हुन् ।

तस्वीर : चन्द्रबहादुर आले र शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?