+
+

लुम्बिनी प्रदेश सभा बैठक ७ गतेसम्म स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते ११:५०

३ भदौ, बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ ।

बिहीबार (आज) दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले बताए ।

यसअघि प्रमुख विपक्षी दल एमालेले लगातार दुई दिनसम्म प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो । प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रदेश सभा सन्चालन गर्ने विषयमा मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुसँग छलफल गरेपनि सहमति जुट्न सकेको थिएन ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सांसदद्वय शाही र वली आफ्नो दलका भएकाले पार्टीले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाले सभामुखले पनि पदमुक्त नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिइने बताए ।

सभामुख पूर्णबहादुर घर्तीले एमालेको पत्रअनुसार सत्य तथ्य बुझेर प्रशासनिक प्रकृया शुरु भइसकेको बताए ।

नेकपा विभाजनपछि गत बैशाख १९ गते माओवादी केन्द्र रोजेकी बिमला एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ खबाट निर्वाचित भएकी थिइन् । वलीलाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोप समेत लागेको थियो ।

सूर्य चिह्नबाट चुनाव जितेका शाही हाल केसी नेतृत्वको सरकारमा मन्त्री छन् । हृदयेश त्रिपाठी समूहका उनले आफू स्वतन्त्र सांसद भएको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?