११ असार, बुटवल । लुम्बिनी प्रदेश सभाको आज बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार सभामुखको निर्देशनमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक स्थगन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनामा उल्लेख छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा वार्षिक कार्यक्रम (रातो किताब) लाई लिएर प्रतिपक्ष सँगै सत्ता पक्षकै प्रदेश सभा सदस्यहरू असन्तुष्ट बनेपछि प्रदेश सभामा बजेटमाथिको छलफल प्रभावित हुँदै आएको छ ।
बजेट पुनर्लेखनको मागसहित सत्ता पक्ष र प्रतिपक्ष दुवैले विरोध जनाइरहेका बेला प्रदेश सभा बैठक पुन: स्थगित भएको हो । सदन सुचारु गराउने बिषयमा दलहरुको विचमा निरन्तर छलफल चलिरहेको सत्ता पक्षले जनाएको छ ।
बैठक कहिले बस्ने भन्नेबारे सचिवालयले अर्को सूचना मार्फत जानकारी गराउने जनाएको छ ।
प्रतिक्रिया 4