News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा मुख्यमन्त्री चेतनारायण आचार्यको अनुरोध अनुसार अधिवेशन अन्त्य गरिएको हो।
- १६ औं बैठकमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन विधेयक सर्वसम्मत पारित गरिएको छ।
१० वैशाख,बुटवल । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।
वैशाख १० गते बिहिवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए ।
प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत गरिएको अनुरोधका आधारमा अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हिउँदे अधिवेसनमा १६ वटा बैठक बसेका थिए । बिहिवार विहान साढे ११ बजे बसेको १६ औं बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएको अधिवेसन अन्त्य सम्वन्धि पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सभामा सुनाएका थिए ।
१६ औं बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सर्वसम्मत पारित गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उक्त विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गरे ।
बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकालले दिए । त्यस्तै सामाजिक विकास समितिका सभापति यम बहादुर नेपाली सार्कीले‘सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन’ सभामा पेस गरे।
बैठकमा प्रदेश सभा सदस्यहरु वसन्ती न्यौपाने, अम्बिका काफ्ले, यमुना रोका तामाङ, भण्डारीलाल अहिर, शान्ति लोध, भगवती अधिकारी समसामायिक विषयमा सुन्य समयमा धारणा राखेका थिए ।
प्रतिक्रिया 4