+
+

के हो एचपीभी खोप, नेपालमा किन प्रभावकारी हुन सकेन ?

नुनुता राई नुनुता राई
२०७८ भदौ ३ गते १२:१६

३ भदौ, काठमाडौं । पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप हो एचपीभी (हृयुमन प्यापुलोना भाइरस) । पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको हुने भक्तपुर क्यान्सर अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा.श्रृष्टि प्रजापति बताउँछिन् । त्यसैले त्यसको विरुद्घ खोप शुरु भएको हो ।

डा. प्रजापतिको अनुसार ४१ भन्दा बढी विकसित देशहरुमा खोप तालिकामा नै समावेश गरेर राखिएको छ । जसको कारण पाठेघरको मुखको क्यान्सरबाट पीडितको संख्या दिन प्रतिदिन घटिरहेको छ ।

तर नेपालमा भने अहिलेसम्म सरकारी अस्पतालहरुमा नियमित दिन सकिएको छैन । यो खोपलाई नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध नगराएसम्म प्रभावकारी नहुने विशेषज्ञहरु बताउँछन् । गएको आर्थिक वर्षमा भरतपुर क्यान्सर अस्पतालबाट केही पालिकाहरुमा दिइएको र त्योभन्दा अघिल्लो पाइलटिङ प्रोजेक्टको रुपमा कास्की र चितवनमा केही खोप दिएको खोप महाशाखा प्रमुख डा.झलक शर्मा गौतमले बताए ।

चालु आर्थिक वर्षको बजेटले पाठेघरको मुखको क्यान्सरको वर्षमा एक पटक निःशुल्क परीक्षण गर्ने व्यवस्था गर्ने र तीन प्रदेशका नौ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्घ खोप कार्यक्रम सञ्चालन गर्नेछ । त्यहि अनुरुप तयारी भइरहेको डा.गौतमले बताए । दुई नम्बर प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाबाट शुरु गर्ने उनको भनाइ छ । उनले भने, ‘हामीले यी तीन प्रदेशका नौ जिल्लाबाट शुरु गर्दैछौं । कहिलेदेखि हुन्छ भनेर अहिले नै भन्न सकिंदैन तर छिट्टै हुन्छ ।’

पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि दिइने दुईथरी भ्याक्सिन नेपालमा प्रयोग भएको विशेषज्ञहरुको भनाइ छ । कास्की र चितवनमा परीक्षण भएको सर्भारिक्स हो भने अष्ट्रेलियन सरकारको सहयोगमा एनएनसिटिआरले गर्डाशिल भ्याक्सिन दिंदै आएको छ, जुन नेपालमा सन् २००९ देखि नै प्रयोगमा छ । सरकारले बजेट मार्फत ल्याउन खोजेको भ्याक्सिन भने सर्भारिक्स हो ।

उपत्यकाका केही निजी अस्पतालहरुले सर्भारिक्स खोप सशुल्क दिइरहेको पाइन्छ । हरिसिद्घ िक्यान्सर अस्पताल, बीएन्डबी अस्पताल लगायतले दिइरहेका छन् । तर अस्पतालमा सचेत भएर खोप लगाउन आउनेको संख्या एकदमै न्यून भएको हरिसिद्घ िक्यान्सर अस्पतालकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.अन्जु श्रेष्ठले बताइन् । उनको भनाइ अनुसार यो खोपबारे सचेतनाको अभाव छ । उनी भन्छिन्, ‘सरकारले बीसीजी, पोलियो, डीपीटी अनिवार्य खोप तालिकामा सूचीकृत गरी निःशुल्क नदिएसम्म प्रभावकारी हुन्छ भन्ने लाग्दैन ।’

नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो । त्यसैले नेपाल सरकारले यो खोपबारे जनचेतना फैलाउनुका साथै सर्वसुलभ रुपमा उपलब्ध गराउनुपर्ने डा.श्रेष्ठ बताउँछिन् ।

क्यान्सर रोग सम्बन्धी सचेतना फैलाउने काम गरिरहेका केही संस्थाहरुका कारण, इन्टरनेटमा पहुँचका कारण खोपको बारेमा केही जानकारी पाउनेको संख्या बढिरहेको पाइएको बीएण्डबी अस्पतालकी बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कार्कीको भनाइ छ । ‘खोपको विषयमा अलि-अलि भए पनि सचेतना बढिरहेको देखिन्छ । खोपको विषयमा बुझ्न आउने, लगाउन आउनेहरु विवाहित युवतीहरु हुन्छन् ।’ उनी भन्छिन्, ‘तर यौन क्रियाकलापमा सहभागी हुनभन्दा अघि लगाउनुपर्ने भएकाले फर्किनुपर्ने हुन्छ ।’

यो खोपबारे शिक्षितहरुमा जनचेतना कम भएको विशेषज्ञहरुको भनाइ छ । खोपको प्रभावकारीताबारे गरिएका रिसर्च, तथ्यहरु क्यान्सर सम्बन्धी हुने गोष्ठी, छलफलमा चर्चा हुन थालेकाले सचेतना विस्तारै फैलिरहेको उनीहरुको भनाइ छ ।

यो खोप महँगो पर्ने भएकाले पनि कतिपयले लगाउन नचाहने विशेषज्ञहरुको अनुभव रहेको बताउँछन् । छ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । अस्पताल अनुसार यसको मूल्यमा पनि फरक पर्ने पाइएको छ । एक डोजको हरिसिद्घ िक्यान्सर अस्पतालमा चार हजार बढी र बीएण्डबी अस्पतालमा आठ हजारमा लगाउन सकिने अस्पतालले जनाएको छ । तर सरकारले धेरै खरिद गर्ने हो भने यसको मूल्य सस्तो पर्ने विशेषज्ञहरु बताउँछन् ।

किन निश्चित उमेर समूह तोकियो !

यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो ।

किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ । भक्तपुर क्यान्सर अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. श्रृष्टि प्रजापति भन्छिन् ‘यो खोप नेपालको मात्रै नभएर विश्वका बालिकहरुलाई लक्षित गरेर उत्पादन गरिएको हो । विकसित राष्ट्रहरुमा चाँडै यौन क्रियाकलापमा सहभागी हुने सम्भावना भएकाले ९ वर्षदेखि १४ वर्ष तोकिएको हो ।’ विकसित राष्ट्रहरुमा छिट्टै यौन क्रियाकलापमा सहभागी हुने सम्भावना भएकाले खोप लगाउने उमेर समूह ९ देखि १४ वर्ष तोकिएको उनको भनाइ छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?