
३ भदौ, काठमाडौं । अफगानिस्तानमा अष्ट्रेलियाको लागि दोभाषेको रुपमा काम गरेका एक व्यक्तिमाथि काबुलस्थित एयरपोर्ट बाहिर गोली चलाइएको छ । मंगलबार अफगानिस्तानबाट बाहिरिनको लागि एयरपोर्टतर्फ जाँदै गरेको अवस्थामा उनीमाथि गोली प्रहार गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको तस्वीरमा डाक्टरले खुट्टामा गोली लागेका एक व्यक्तिको उपचार गरिरहेको देख्न सकिन्छ । अफगानिस्तानको एयरपोर्ट बाहिर हिंसा तथा भागदौडका घटनाहरु सार्वजनिक भइरहेको समयमा यस्तो समाचार सार्वजनिक भएको हो ।
अहिले अफगानिस्तानबाट धेरै मानिसहरु बाहिरिने प्रयास गरिरहेका छन् । यस्तो अवस्थामा तालिबानले विदेशीलाई मात्र आफ्नो मुलुक फर्किने अनुमति दिरहेको समाचार सार्वजनिक भएको छ ।
गोली प्रहार गरिएका व्यक्तिले आफू अष्ट्रेलिया आउने जहाजको उडानको लागि निस्किरहेको बेलामा गोली चलाइएको बताएका छन् । समाचारमा बताइएअनुसार उनले सन् २०१० देखि २०११ सम्म अफगानिस्तानको उरुज्गानमा अष्ट्रेलियाली सेनामा काम गरेका थिए ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4