+
+

सुदूरपश्चिममा साउनमै थपिए १३ सय कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १३:०१

३ भदौ, डोटी । सोमबार (साउन ३२ गते) सुदूरपश्चिम प्रदेशमा ४० जनामा कोरोना पुष्टि भएको छ ।

एन्टिजेन विधिबाट परीक्षण गरिएका ६८० मध्ये १० जनामा र पीसीआर विधिबाट परीक्षण गरिएका २२५ जनामध्ये ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार पुष्टि भएका संक्रमितसंगै सुदूरपश्चिम प्रदेशमा साउन महीनामा एक हजार ३३२ जना नयाँ संक्रमित थपिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार साउन महीनामा एन्टिजेन विधिबाट १७ हजार ९६७ जनामा परीक्षण गरिएको थियो । तीमध्ये ३३७ जनामा संक्रमण देखिएको हो ।

यस्तै साउनमा पीसीआर विधिबाट पाँच हजार ७९ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआर विधिबाट परीक्षण गरिएकामध्ये ९९५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा छ ।

तथ्याङ्क अनुसार सुदूरपश्चिममा साउन महीनामा ६ जनाले कोरोनाविरुद्धको लडाइमा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म ४५ हजार संक्रमित

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार साउन महीनासम्म सुदूरपश्चिम प्रदेशमा ४५ हजार ७५७ जनामा संक्रमण देखिएको छ ।

हालसम्म एन्टिजेन विधिबाट परीक्षण गरिएका ९९ हजार ९७८ मध्ये नौ हजार ८७ जनामा संक्रमण देखिएको छ । यो संख्या कुल परीक्षण गरिएका व्यक्तिहरुको संख्याको नौ प्रतिशत हुन आउँछ । यस्तै पीसीआर विधिबाट परीक्षण गरिएका दुई लाख नौ हजार ७८ मध्ये ३६ हजार ६७० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संख्या पीसीआर विधिबाट परीक्षण गरिएका कुल संख्याको १८.२४ प्रतिशत हो ।

सुदूरपश्चिममा हालसम्म ५८० जनाले कोरोनासंग लड्दालड्दै ज्यान गुमाएका छन् । यीमध्ये पीसीआर विधिबाट संक्रमण पुष्टि भएका ३३५ र एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएका २४५ रहेका छन् ।

साउनसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिममा ४११ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये ४५ प्रतिश २०-३९ उमेर समूहका 

सुदूरपश्चिममा हालसम्म पुष्टि भएका कुल संक्रमितहरुमध्ये ४५.७७ प्रतिशत २० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार साउन मसान्तसम्म पुष्टि भएका कुल संक्रमित ४५ हजार सात सय ५७ मध्ये २० हजार ९६० सो उमेर समूहका रहेका छन् ।

यसमा पनि २० देखि २९ वर्ष उमेरका संक्रमितहरुको संख्या बढी देखिन्छ । यस उमेर समूहका सात हजार आठ सय १३ पुरुष र तीन हजार सात सय २६ महिला गरि ११ हजार पाँच सय ३९ संक्रमित छन् । यो संख्या प्रदेशका कुल संक्रमित संख्याको २५.२१ प्रतिशत हुन आउँछ ।

सावधानी छैन, जोखिम छ

तेश्रो भेरियण्टको संक्रमण फैलिने खतरा रहेपनि सावधानी नभएको प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थी वताउँछन् । ‘न मास्क लगाउँछन्, न भौतिक दुरी छ’ डा अवस्थी भन्छन्, ‘पहिलो लहरको संक्रमण फैलिदा केही डर थियो सर्वसाधारणमा तर अहिले त्यो देखिदैन ।’ उनले कोरोना महामारीको वारेमा राम्रोसँग बुझेका व्यक्तिहरुले समेत लापरबाही गर्ने गरेको बताए ।

तेश्रो लहरको संक्रमण रोकथामका लागि पूर्व तयारी भइरहेको डा अवस्थी वताउँछन् । ‘कैलाली र कञ्चनपुरमा एक/एक हजार शैयाका होल्डिङ्ग सेन्टर निर्माण हुँदैछन्’ उनले भने, ‘ती सेण्टरहरु निर्माण भएपछि भारतबाट आउनेहरुलाई सीमा नाकामै परीक्षण गर्ने र संक्रमित देखिए होल्डिङ्ग सेण्टरमा राखेर निको भएपछि मात्रै घर पठाउँछौं ।’

उनले प्रदेशभित्र रहेका अस्पतालहरुको पनि स्तरोन्नति गर्ने तयारी भइरहेको बताए । प्रत्येक जिल्ला अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने योजना रहेको डा अवस्थी वताउँछन् । उनले भने ‘सम्बन्धित जिल्ला अस्पतालमा काम गर्ने एक जना डाक्टर र एक नर्सलाई तालिम दिएर भेन्टिलेटर चलाउन सक्ने वनाउने तयारी भइरहेको छ ।’

तीन तहका सरकारबीच समन्य नभएका कारण स्वास्थ्य क्षेत्रमा काम गर्न समस्या भइरहेको अवस्थीको बुझाइ छ । उनी भन्छन्, ‘चेन अफ कमान भएन, जिम्मेवारी निर्वाह गर्ने भन्दा पनि पन्छिने काम हुन्छ ।’

कोरोनाको संक्रमणबाट बच्नका लागि सुरक्षित रहन र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्न डा अवस्थी सबैलाई आग्रह गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?