+
+

तालिबानले लागू गर्ने भनेको शरिया कानुन के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १९:२९

३ भदौ, काठमाडौं । अफगानिस्तानमाथि विद्रोही समूह तालिबानले कब्जा जमाएसँगै हिजोआज संसारकै ध्यान अफगानिस्तानमाथि छ । त्यहाँ रहेका मानिसहरुको सुरक्षा र मानव अधिकारको विषयलाई दिएर संयुक्त राष्ट्र संघलगायतका संस्था र शक्ति राष्ट्रहरुले चिन्ता र चासो प्रकट गरेका छन् ।

सामान्य मानिसले पनि अफगानिस्तानमा तालिबानले कडा कानुन लागू गर्ने त्यहाँका सर्वसाधारण पीडामा पर्ने आशंका गरिरहेका छन् । तालिबानका यसअघिको गतिविधिको आधारमा उनीहरुको शासनमा महिला अधिकार कमजोर हुने टिप्पणी पनि भइरहेका छन् ।

धेरै मानिसले यही कारण तालिबानलाई विश्वास गरेका छैनन् । यद्यपि मंगलबारको पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले आफूहरुले महिलाको अधिकार शरिया कानुनभित्र रहेर सुनिश्चित गर्ने बताएका छन् ।

के हो शरिया कानुन ?

यो मुसलमान समुदायको एउटा कानुनी प्रणाली हो । यो प्रणाली कुरान र इस्लाम धर्मगुरुको निर्देशनअनुसार चल्छ । इस्लाम धर्मावलम्बीहरुको दैनिक जीवनयापन, चालचलन, बानी व्यहोरा ईश्वरको चाहनाअनुसार सञ्चालन गर्ने माध्यम शरिया कानुनलाई मानिन्छ ।

अरेबिक भाषा अनुसार शरियाको वास्तविक अर्थ ‘बाटो’ भन्ने हुन्छ । यसले कानुन भन्ने बुझाउँदैन । शरिया कानुन आधारभूत रुपमा इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरान र सुन्नामा निर्भर गर्छ । जुन हजरत मोहम्मदको अभ्यास, शिक्षा र भनाइअनुसार बनाइन्छ ।

यो नियम मुस्लिम धर्मगुरुले लगाउने नियम र परम्परागत अभ्यासमा भर पर्छ । यद्यपि शरिया कानुन समुदाय अनुसार कतै कडाइ र कतै खुकुलो हुन सक्छ ।

अहिले विश्वका धेरै मुलुकमा शरिया कानुन लागू भइरहेको छ तर यसको व्याख्या भने फरक फरक रुपमा गरिएको छ । केहीले शरिया कानुनको प्रयोग अंगभङ्ग गर्ने वा ढुङ्गाले हानेर मृत्युदण्ड दिनेजस्ता क्रूर सजाय र महिलामाथिको असमान व्यवहार, पोशाक र स्वतन्त्रतालाई सही देखाउन प्रयोग गर्ने गरेका छन् ।

तालिबानको २० वर्षअघिको कानुन

तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन चलाउँदा निकै कडा किसिमको शरिया कानुन लगाएको थियो । जतिबेला उसले सार्वजनिक रुपमा ढुङ्गाले हानेर मृत्युदण्ड दिने, कोर्रा लगाउने र फाँसी दिनेजस्ता कानुन लागू गरेको थियो ।

यो संगठनले संगीत र सांगीतिक उपकरणमा पनि रोक लगाएको थियो । त्यतिबेला अफगानिस्तानमा चोरी गर्नेहरुको हात काटिदिने नियम थियो ।

आफ्ना गठबन्धनहरुसँग मिलेर उसले अफगानी नागरिकको हत्या गर्ने, राष्ट्रसंघको खाद्य सहयोग रोक्ने र ठूलो मात्रामा खेतीयोग्य जमिन जलाउने र हजारौं मानिसको घर भत्काउनेजस्ता काम गरेको थियो । यो अवधिमा उसले रंगरोगन, फोटो तथा फिल्म निर्माणजस्ता काममा पनि रोक लगाएको थियो ।

महिलालाई कस्तो असर ?

तालिबानको यसअघिको शासनमा महिलालाई घरबाहिर निस्कन कडाइ गरिएको थियो । उनीहरुलाई रोजगारी वा पढ्न जाने अधिकार दिइएको थिएन । आठ वर्ष नाघेका महिला तथा बालिकाले बुर्का लगाउनुपथ्र्यो र घरबाहिर निस्किनुपरेमा पुरुष साथी लिएर जानुपर्ने हुन्थ्यो । साथै उनीहरुलाई हिल भएको जुत्ता चप्पल लगाउन पनि रोक लगाइएको थियो ।

पत्रिका, पुस्तक, पसल वा घरमा पनि महिलाको तस्वीर राख्न अनुमति थिएन । यो नियम नमान्ने महिला वा पुरुष साथी विना नै घरबाहिर निस्किनेलाई पनि सार्वजनिक स्थलमा कोर्रा लगाइन्थ्यो । नङमा पालिस लगाए औंला काटिदिएका घटना पनि सार्वजनिक भएका थिए ।

कसरी बनाइन्छ कानुन ?

शरिया कानुन निकै जटिल किसिमको कानुन हो र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा विज्ञहरुको सुझावको आधारमा तय गरिन्छ । इस्लामिक न्यायमूर्तिहरुले निर्देशिका र नियमहरु जारी गर्छन् । यसरी जारी गरिएको निर्देशिकालाई आधिकारिक नियम मानिन्छ । यसलाई फतवा भनिन्छ ।

शरिया कानुनको पाँच फरक फरक पाटो छ । जसमध्ये हन्बाली, मालिकी, साफी र हानाफी गरी चारओटा सुन्नी सिद्धान्त छन् भने सिया जाफरी भन्ने सिया सिद्धान्त छ । यी सिद्धान्तलाई कसरी व्याख्या गरिएको छ भन्ने आधारमा ठाउँ अनुसार शरिया कानुन फरक पर्छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?