महामारीका २ वर्ष अघि र अहिले धेरै फरक छ । २ वर्ष अगाडि न हामीसँग महामारीसँग लड्ने स्रोत साधन थियो न अनुभव ।
पीसीआर परीक्षण गर्न पनि काठमाडौं पठाएर नतिजा कुरेर बस्नुपर्ने स्थिति थियो । तर अहिले प्रदेशमा ६ वटा ल्याब चालु छ । त्यसबेला हामीसँग व्यवस्थित संरचना थिएन, सूचना व्यवस्थापन कमजोर थियो । अहिले सबै छ । जनशक्ति पनि तयारी अवस्थामा छन् ।
दुई वर्षअघि जुन हाउगुजी मनोविज्ञान थियो, अहिले त्यो छैन । कोरोनालाई चिनिसक्यौं । कोरोनालाई कस्तो व्यवहार गरिनुपर्छ ? कोरोनासँग कसरी बच्नुपर्छ ? हाम्रा व्यवहारहरु कसरी सन्तुलित र सुरक्षित बनाउने ? सबै हामीलाई थाहा छ ।
पछिल्लो २४ महिनालाई नियाल्ने हो भने कल्पना गरेभन्दा बढी र राम्रो अवस्थामा छौं भन्दा हुन्छ । यो भन्दाभन्दै पनि हाम्रा प्रयासहरु धेरै राम्रा छन्, अब केही गर्नु पर्दैन भन्ने होइन । कमीकमजोरी, नपुग छन्, धेरै तयारी गर्नुछ । खासगरी तेस्रो लहरसँग जुध्न हामीले बोर्डरहरुमा ध्यान दिन अहिले पनि जरुरी छ ।
सीमानामा हाम्रो उपस्थिति कमजोर छ । त्यहाँ मजबुत हुनुपर्छ । बालबालिकाहरुको सघन उपचार सेवाका लागि अस्पतालहरुमा राम्रो तयारी गर्नुछ, होम आइसोलेसनमा बस्नेहरुको सुरक्षा ध्यान दिनैपर्छ ।
अरु भन्दा उत्कृष्ट छौं
महामारीको सुरुआतमा धेरै व्यस्त भइयो । धेरै केसमा मुख्यमन्त्री स्वयंको फोन आउँथ्यो । त्यतिबेला कति फोन रिसिभ गरें भन्दा पनि मैले निर्देशनालयको तर्फबाट कति डेलिभरी गर्न सकें, टिमलाई कसरी मोबिलाइज गरें भन्ने महत्वपूर्ण हो जस्तो लाग्छ । कोभिडसँग लड्न प्रदेशका योजना, कार्यक्रमलाई मुखरित गर्न सरकारसँग कसरी तयारी गर्यौं भन्ने हो ।
यसरी हेर्दा ७ प्रदेशमा हामीले उत्कृष्ट काम गरौं भन्ने लाग्छ । अक्सिजन, जनशक्ति, अस्पतालको सही व्यवस्थापन गरेरै उत्कृष्ट भएका हौं । अक्सिजन प्लान्टकै सन्दर्भमा हेर्ने हो भने नेपालकै सबैभन्दा व्यवस्थित प्रदेशका रुपमा छौं । यही भए बर्दिया, दाङ, भैरहवा मात्र होइन, काठमाडौंबाट पनि संक्रमितहरु यहाँ उपचार गर्न आएका छन् ।
उनीहरु हेलिकप्टर चाटर्ड गरेर पोखरामा आएका छन् । यद्यपि जुन विश्वासका साथ उहाँहरु आउनु भएको थियो, सबैलाई बचाउन सकेनौं । कतिपयलाई यहाँ ल्याउँदा धेरै ढिला भइसकेको हुन्थ्यो । यसले पनि मृत्युदर उस्तै वा बढी देखिन गयो । तर समग्रमा हामीले सबै क्षेत्र र सरोकारवाला निकायसँग समन्वय गर्ने भूमिका राम्रोसँग निभायौं भन्ने लाग्छ ।
तेस्रो लहरको तयारी
अहिले पनि महामारी नियन्त्रणका गम्भीर भएर लागेको छौं । सीमानामा कडाइ गर्नुबाहेक अहिले अर्को उपाय छैन । सीमानाबाटै रोग र जोखिम न्यूनीकरण गर्न सक्यौं भने धेरै सहज हुन्छ । तर संक्रमण समुदायमा गइहाल्यो भने केसहरुलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे तयारी गर्दैछौं । अर्को भनेको बच्चाबच्चीलाई बढी जोखिम हुन्छ भनिएको छ । त्यो अवस्थामा बालबालिकालाई हुने आइसोलेसन सेन्टर, आईसीयूहरु बनाउने योजनामा छौं ।
होम आइसोलेसन प्रभावकारी नै छ । घरमै बसेर स्वास्थ्यलाभ गर्नेहरुको संख्या पनि ठूलो छ । होम आइसोलेसनमा बसेकाहरुलाई प्रत्येक १० दिनमा ३ पटक आफैं फोन गरेर स्वास्थ्यबारे जानकारी लिइरहेका छौं । उहाँहरुको पछिल्लो स्वास्थ्यबारे एकीन गर्छौं । खासगरी हाम्रो निगरानीमा उहाँहरुको ३ वटा अवस्थामाथि हुन्छ ।
पहिलो : सामान्य अवस्था । यो अवस्था छ भने हामी नआत्तिन आग्रह गर्छौं । कोभिड जितिहालिन्छ, प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तपाईंहरुसँगै छ भनेर आश्वस्त पार्छौं ।
दोस्रो : जटिल अवस्था । यो अवस्थामा हामी आफ्नो ख्याल राख्न अनुरोध गर्छौं । तोकिएका स्वास्थ्य सुझावहरु पालना गर्न भन्छौं । र, जुनसुकै अवस्थामा पनि स्वास्थ्य गम्भीर हुन सक्छ । त्यस्तोबेला अस्पताल गइहाल्न भनेर सुझाव दिन्छौं ।
तेस्रो : गम्भीर अवस्था । यो अवस्थामा एकदमै जटिल स्वास्थ्य हुने भएकाले अस्पताल गइहाल्नुपर्ने हुन्छ । त्यसका लागि एम्बुलेन्स पठाउँछौं । उहाँहरु हाम्रो बढी निगरानीमा हुनुहुन्छ ।
होम आइसोलेसनलाई अझै सुरक्षित र व्यवस्थित बनाउन गण्डकी टेली नर्सिङ प्रोग्राम पनि चलाएका छौं । यो प्रोग्राम अन्य प्रदेशमा छैन । यहाँ हेल्लो डाक्टर प्रोग्राम पनि चलाइरहेका छौं । यसका लागि ५ जना मेडिकल अफिसरहरु राखेका छौं । बिरामीको कुनै कल आयो भने तत्काल सहजीकरण गरिहाल्नुहुन्छ । हेल्लो डाक्टर प्रोग्राममै मनोसामाजिक परामर्शदाताको पनि व्यवस्था गरेका छौं । यी कार्यक्रम भनेको अन्य प्रदेशमा नभएकाले हाम्रो विशेष कार्यक्रम हुन् । यो अत्यन्तै प्रभावकारी भएको पनि पाएका छौं ।
अक्सिजनको समस्या छैन । मनाङबाहेक सबै जिल्लामा अक्सिजन प्लान्ट जडान गरेर उत्पादन सुरु भइसकेको छ । सबै जिल्ला अस्पतालले आफैंले उत्पादन गरेको अक्सिजन आफ्ना बिरामीलाई दिन सक्ने गरी क्यापेबल भइसकेका छन् । गण्डकीमा प्राइभेट कम्पनीका दुईवटा अक्सिजन प्लान्ट छन्, जहाँ एकदिनमा १४ हाराहारीमा अक्सिजन सिलिन्डर उत्पादन हुन्छ । अहिलेको अवस्थामा हेर्ने हो भने एकदिनको माग ८ सयदेखि ९ सयसम्म छ ।
महामारीका सुरुका दिनमा हाम्रा अस्पतालहरुका अवस्था एकदमै कमजोर थिए । त्यतिबेला हाम्रो अवस्था यस्तो छ भनेर मन्त्रालयलाई रिपोर्ट गर्यौं र कोभिडकै लागि भनेर ४२४ जना कर्मचारी असोज मसान्तसम्म राख्ने भनेर नियुक्त गरिसकेका छौं । साउन महिनामा थप ४४४ जना स्टाफ नियुक्त गरेका छौं । उहाँहरुको सहयोगमा जिल्लास्थित आइसोलेसन सेन्टरहरु व्यवस्थित गर्ने काम भइरहेको छ । विस्तारै अभाव भएका जनशक्ति पनि परिपूर्ति हुँदैछन् ।
(कुराकानीमा आधारित)
प्रतिक्रिया 4