+
+
Shares

मेरी प्यारी ममु [ कविता ]

सुरेश कोइराला (प्र.स.नि.) सुरेश कोइराला (प्र.स.नि.)
२०७८ भदौ ५ गते ९:०८

मलाई थाहा छैन ममु,
म कहाँबाट शुरु गरुँ
तपाईंले गरेको दु:खको ऋण तिर्न
म के लेखुँ ?

बाल्यकालदेखि अहिलेसम्म
हरेक दिन मेरो ख्याल राख्नुभएको छ,
दुखिरहन्छ होला शरीर जहिले,
तर कहिल्यै दुखेको भन्नुभएको छ र हजुरले ?

आज के खाने बाबु ?
सधैं कति माया गरेर सोध्नुहुन्छ हजुरले
मेरा हरेक चिजहरुको बारेमा ध्यान दिनुहुन्छ
तर,
आफ्नो औषधि खान किन भुल्नुहुन्छ हजुरले ?

ममु, एउटा कुरा भन्दिनु न
आखिर यत्रो मन
कहाँबाट पाउनुभयो हजुरले ?
जो हरेक पटक आफ्नो भागको खाना
आफ्नो हातले खुवाउनुभएको छ हजुरले …

हाम्रो भविष्यको चिन्ता गर्दा गर्दै,
आफ्नो बारेमा सोच्न भुल्नुभयो नि है ?
यतिका धेरै सपना सजाएर दिनुभयो,
तर,
आफ्नो लागि सपना देख्न बिर्सिनुभयो नि है ?

केही कुरा होस् या नहोस्
तर घर आउने बित्तिकै जसलाई देख्न मन लाग्छ,
त्यो हजुर हो ममु,
हारेको भए पनि म कहिलेकाहीं
मेरो ममुलाई देखेर फेरि जितेको छु

ममु, जाउँ न हामी कतै गएर कुरा गरौं,
मेरो हैन आज हजुरको बाल्यकाललाई स्मरण गरौं …

हेर्छु जब म आफूलाई,
दिनरात आफ्नो सपनाको पछाडि भागिरहेको हुन्छु,
फेरि हेर्छु म हजुरलाई
हजुर भित्र पनि म आफैंलाई पाउँछु …

ममु, कसरी ??
कसरी हजुरले नानी र मेरा लागि सबै सपना टुक्र्याउनुभयो ?
सपना त थियो होला नि है हजुरको पनि ?

ममु, यति एउटा कामना छ भगवानसँग,
त्यो सपना टाढा रहोस् जुनमा हजुर साथ हुनुहुन्न
जुन कुराले हजुरलाई चित्त दुखोस्
मेरो ओठमा ती शब्द कहिल्यै उच्चारण नहोस् …

हरेक कुरा मलाई सिकाउनुभयो
हरेक कुरा बताउनुभयो,
तर,
म लापरबाह छु अनि हेलचेक्र्याइँ गर्छु,
र पनि हजुरले मेरा ती कमजोरीहरुलाई आफ्नो बनाउनुभयो,
म धन्य छु ममु, म हजुरको रगत हुँ …

कहिलेकाहीं सोच्छु म ,
यो जिन्दगी कस्तो हुन्थ्यो होला,
हजुर विना आखिर
मेरा रातहरु कस्तो हुन्थ्यो होला ??
अब,
कुनै सपना पूरा भएन भने पनि,
मलाई पश्चात्ताप हुने छैन,
मेरो ममु मसँग सधैं हुनुहुन्छ,
त्योभन्दा बढी आनन्द अरु कहाँ होला ??

(नेपाल प्रहरी अस्पताल, महाराजगंज)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?