+
+

तालिबानको नियन्त्रणबाहिर रहेको एउटा प्रान्त

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ५ गते १९:१६

४ भदौ, काठमाडौं । तालिबानले सिंगो अफगानिस्तानलाई नियन्त्रणमा लिइसक्दा पनि पञ्जशिर प्रान्त भने उसको नियन्त्रणबाहिर छ । काबुलको उत्तरपूर्वमा रहेको उपत्यका अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सलेहको क्षेत्र हो ।

अफगानिस्तानको सरकार ढलेसँगै सलेहले आफूले तालिबानसँग आत्मसमर्पण नगर्ने बताएका थिए । ‘मेरो मुख हेरेका लाखौं मानिसलाई म निराश बनाउन चाहन्नँ । म कहिले पनि तालिबानको नेतृत्वमा रहन्न । कहिले पनि’, सामाजिक सञ्जाल ट्वीटरमा गत आइतबार उनले भनेका छन् ।

त्यसको एक दिनपछि सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा उनी तालिबानविरोधी एक चर्चित योद्धा अहमद शाह मासुदका छोरासँग पञ्जशिरमा देखिएका थिए ।

मासुदका छोराले स्थानीय लडाकुहरुको नेतृत्व गरिरहेका छन् । यस्तोमा सलेहको साथले विजय उत्सव मनाइरहेको तालिबानलाई धक्का पुग्न सक्छ ।

को हुन् सलेह ?

सलेहको जन्म सन् १९७२ मा पञ्जाशिरको ताजिक समुदायमा भएको हो । बाल्यकालमा नै अनाथ बनेका उनले लामो समयसम्म तालिबानविरुद्ध लडेका थिए । उनले अहमद मासुदको नर्थन एलायन्सको लडाकुको रुपमा तालिबानविरुद्ध लडेका थिए ।

सन् १९९० मा सोभियत संघलाई पञ्जशिरमा कब्जा गर्न नदिन उनी मुजाहिद्दिन लडाकुको रुपमा जोडिएका थिए । उनले छिमेकी मुलुक पाकिस्तानमा सैन्य तालिम दिएका थिए र अहमद शाह मासुदको नेतृत्वमा मुजाहिद्दिनका कमाण्डर बनेका थिए ।

सन् १९९६ मा तालिबानले काबुल सहरलाई आफ्नो नियन्त्रणमा लिएपछि अमरुल्लाह सलेहलाई खोज्न उनकी दिदीलाई नियन्त्रणमा लिएर चरम यातना दिएको थियो । पछि उनी तालिबानको कब्जाबाट भाग्न सफल भएकी थिइन् ।

‘तालिबानप्रतिको मेरो दृष्टिकोण १९९६ को घटनाले सदाको लागि परिवर्तन गरिदियो’, गत वर्ष टाइम म्यागाजिनको सम्पादकीयमा सलेहले लेखेका छन् । उनी भारतका निकट मानिन्छन् । भारतले नर्थन एलायन्सलाई सन् १९९६ मा सहयोग पनि गरेको जानकारहरुले बताएका छन् ।

२००१ को सेप्टेम्बरमा अमेरिकाले तालिबानमाथि आक्रमण शुरु गरेपछि सलेह अमेरिकी गुप्तचर संस्था सीआईएको लागि महत्वपूर्ण व्यक्ति बने । सलेह पछि मुलुकको गुप्तचर एजेन्सीको प्रमुख पनि बने ।

यो क्रममा उनले आफूले पाएको जानकारीको आधारमा पाकिस्तानले तालिबानलाई सहयोग गरिरहेको बताउने गरेका थिए । उनी तालिबानका साथै पाकिस्तानका पनि आलोचक हुन् ।

सन् २०१० मा काबुलमा शान्ति सम्मेलनमा भएको आक्रमणको विषयलाई लिएर गुप्तचर संस्थाको प्रमुखबाट हटाइयो । त्यसपछि सन् २०१८ मा उनी पुनः सत्तामा आए ।

जतिबेला उनी अफगानिस्तानको गृहमन्त्री बनेका थिए । २०१९ को जनवरीमा उनले गृहमन्त्रीबाट राजीनामा दिए र राष्ट्रपति असर्फ घानीको निर्वाचन टोलीसँग जोडिए । निर्वाचनमा पुनः घानी विजयी भएसँगै सलेह अफगानिस्तानको उपराष्ट्रपति बने ।

हत्याको प्रयास

सलेहले धेरै पटक आफ्नो हत्याको प्रयास भएको बताउँदै आएका छन् । २००९ को डिसेम्बरमा अमेरिकामा दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘यदि उनीहरुले मलाई मारे भने पनि मैले मेरो परिवार र साथीहरुलाई कुनै गुनासो नगर्न भनेको छु किनकी मैले उनीहरुजस्ता धेरैलाई मारेको छु त्यसैले उनीहरुको लागि म निकै नै स्वाभावित निशाना हुँ ।’

२०१९ को जुलाई तीन लडाकु काबुलस्थित सलेहको कार्यालयमा प्रवेश गरेर आत्मघाती बम विष्फोट गराएका थिए । सोही क्रममा उनको कार्यालयमा गोली हानाहान भएको थियो । यो घटनामा कम्तीमा २० जनाको मृत्यु भएको थियो भने ५० जनाभन्दा धेरै घाइते भएका थिए । यद्यपि सलेह भने यो आक्रमणमा घाइते भएका थिएनन् । आक्रमणमा उनले आफ्ना दुई भतिज र धेरै साथीहरु गुमाएका थिए ।

२०२० को सेप्टेम्बरमा काबुलको सडकमा सलेहमाथि आक्रमण भएको थियो । यो आक्रमणमा १० जनाको मृत्यु भएको थियो ।

किन तालिबानको कब्जामा आएन पञ्जशिर ?

तालिबानले पञ्जशिरलाई आफ्नो कब्जामा लिन नसक्नुको कारण यो उपत्यकाको अवस्थिति हो । प्राकृतिक सुरक्षाको कारण यो उपत्यका कहिले पनि तालिबानको कब्जामा आएन । यहाँसम्मकी सोभियत संघले पनि यहाँ कब्जा जमाउन सकेको थिएन ।

यो उपत्यका काबुलको उत्तरतर्फ हिन्दू कुश पर्वतको फेदमा छ । जसको कारण भौगोलिक लाभ यो उपत्यकालाई मिलेको छ । एएफपीसँगको कुराकानीमा यहाँका एक बासिन्दाले भनेका छन्, ‘हामीले तालिबानलाई पञ्जशिरमा प्रवेश गर्न दिँदैनौं र उनीहरुलाई हाम्रो सबै शक्ति लगाएर लखेट्छौं र युद्ध गर्छौं ।’

केही स्थानीय सञ्चारमाध्यमका अनुसार तालिबानका लडाकुबाट आफ्नो ज्यान जोगाएर भागेका धेरै मानिस अहिले पञ्जशिर पुगेका छन् । पञ्जशिरको जनसंख्याको करिब एक लाख हाराहारीमा छ । यहाँ अधिकांश ताजिक समुदायका मानिसहरु बसोबास गर्छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?