+
+
राजारामका रमाइला किस्सा :

‘मेरो बदमासीले सरोज खनालको झण्डै डिभोर्स भयो’

फिल्म क्षेत्रमा त्यस्ता मान्छे कमै होलान्, जसलाई मैले नसताएको होस् । रातिको सुटिङ पर्‍यो भने त कसैलाई सुत्नै नदिने । मलाई निद्रा नआउने । अरू निदाएको छ भने उनीहरूलाई पनि निदाउन नदिने ।

राजाराम पौडेल राजाराम पौडेल
२०७८ भदौ ६ गते ९:११

म सानैदेखि अलि छुकछुके स्वभावको । शान्त भएर बस्नै नसक्ने । के गरौं, के गरौं भइरहने । अरूलाई चलाउने, जिल्याउने कुरामा माहिर छु । मैले आफ्नै बुवा र हजुरबालाई समेत बाँकी राखेको छैन ।

मेरो हजुरबा निकै कडा प्रवृत्तिका । घरमा मात्र होइन, टोलमा पनि मान्छेहरू उहाँसँग डराउने । उहाँको सामुन्ने पर्दा पनि असजिलो हुने ।

त्यसबेला म निकै सानो थिएँ । हजुरबाले भन्नुभो, ‘ए, यहाँ आएर ढाड मिचिदे ।’ म उहाँको कोठामा गएँ । घोप्टो परेर पल्टनुभएको थियो । मैले उहाँको ढाड मिचिदिएँ । हजुरबा भुसुक्कै निदाएछन् । अब मलाई के गरौं कसो गरौं भयो । उहाँको जनै तुर्लुङ्ग झुन्डिएको देखें । त्यसलाई बार्दलीको डन्ठीमा बाँधिदिएँ । निद्रा खुलेर जुरुक्कै उठ्दा कस्तो भो होला ?

फिल्म क्षेत्रमा त्यस्ता मान्छे कमै होलान्, जसलाई मैले नसताएको होस् । रातिको सुटिङ प¥यो भने त कसैलाई सुत्नै नदिने । मलाई निद्रा नआउने । अरू निदाएको छ भने उनीहरूलाई पनि निदाउन नदिने ।

त्यसछि तीन, चार दिनसम्म म उहाँको अगाडि नै परिनँ ।

त्यसबेला हाम्रो पुरानो घर थियो । बिजुलीका तार यत्रतत्र लत्रिएका थिए । तारमा लस्करै झिंगा बसेको देखें । यसो हेरें, यसलाई के गरौं भयो । झिंगालाई सरर्र हातमा तानेर प्लाष्टिकमा राखें । प्लाष्टिकमा त राखें अब के गर्ने ? काकाको कोठामा गएको, त्यहाँ कोट झुन्ड्याइरहेको रहेछ । त्यसैको खल्तीमा हालिदिएँ ।

भोलिपल्ट काका अफिस जानलाई कोट लगाएको रे, खल्तीमा भुँनुनु गर्छ । यसो छामेर हेरेको प्लाष्टिक छ । निकालेर हेर्दा त झिंगा नै झिंगा । उहाँले भन्नुभएछ, यो पक्कै पनि राजारामको काम हो । राति उहाँले मज्जाले झपार्नुभयो ।

एकपटक मैले बुवालाई पनि तकियामुनि झिंगा राखिदिएको छु । रातभर भुनुनु हेलिकप्टर चलेको जस्तो आवाज आउँछ रे ! यसो हेरेको झिंगा छ ।

राता मकैको फिला कचक्क कुल्चिएपछि…

म चकचक नगरी बस्नै नसक्ने ।

कुनै तालुखुइले मान्छे देखें भने रबर तन्काएर उसको टाउकोमा कागजको डल्लाले हिर्काउने । अनि केही थाहा नपाएको जस्तो गर्ने । म जस्तो मान्छेसँग पनि जिस्कने, जस्तो मान्छेलाई पनि चलाउने । अनुहार हेरेर, नाता हेरेर, योजना बनाएर चकचक गर्ने होइन । अन द स्पट जे भेटिन्छ, त्यही गर्ने ।

फिल्म क्षेत्रमा त्यस्ता मान्छे कमै होलान्, जसलाई मैले सताएको नहोस् । रातिको सुटिङ प¥यो भने त कसैलाई सुत्नै नदिने । मलाई निद्रा नआउने । अरू निदाएको छ भने उनीहरूलाई पनि निदाउन नदिने । चलाएर हुन्छ कि, पानी छर्किएर हुन्छ कि निद्रा विथोलिदिन्थें । त्यसैले छायांकनको बेला म छु भने प्रायः सबै कलाकार अलि सतर्क भएर बस्छन् । यसले केही पो गरिहाल्छ कि भनेर सजग हुन्छन् ।

किरण केसी ‘राता मकै’ त म भएपछि चौबीसै घण्टा सतर्क हुन्छन् । एकदिन मदन दाइको घरमा के कार्यक्रम थियो । सबैजना लस्करै बसिरहेका थिए । भित्तामा एउटा पोस्टर रहेछ । त्यही हेर्ने निहुँले जुरुक्कै उठें । अनि सरासर गएर किरण केसीको फिलामा कचक्कै कुल्चिएर उभिएँ । ‘ए मार्‍यो, मार्‍यो’ भन्दै ऊ चिच्याउन थाल्यो ।

सरोज खनालसँग कण्डोम काण्ड

यसबारे त मैले धेरै पटक भनिसकें । यो २५–३० वर्षअघिको कुरा हो । बन्दीपुरमा गएका थियौं, ‘सान्नानी’ फिल्मको छायांकनका लागि । त्यसबेला बन्दीपुरमा होटलहरू थिएनन् । हामीलाई बस्नका लागि घर–घरमा व्यवस्था गरिएको थियो ।

त्यसबेला सरोजजी (सरोज खनाल) र म एउटै रूममा बसेका थियौं । त्यहाँ रहँदा एकजना व्यापारी हुनुहुन्थ्यो, अहिले त उहाँ स्वर्गीय हुनुभएछ । उहाँले हामीलाई खानाका लागि निम्तो गर्नुभएको थियो । सरोजजी, नारायण पुरी, म बसेर खाना खाइरहेका थियौं । त्यही बेला स्थानीय एक व्यापारी आए । उनले केही सामान पनि बोकेका थिए ।

यसो हेरेको उहाँको झोलाबाट कन्डोमको लामो माला झुन्डिएको रहेछ । मैले भनें, ‘दाइ एउटा दिनु न ।’

उहाँ कराउनुभयो, ‘किन ? तपाईंलाई यसको के काम ?’

मैले ढिपी गरें, ‘होइन, दिनु न ।’

उहाँले एउटा झिकेर दिनुभयो । मैले खल्तीमा हालें । कोठा पुगेपछि लुगा फेर्दै थिएँ, कन्डोम हातमा आयो । अब के गर्ने ? यसो हेरेको भित्तामा सरोजजीको जिन्सको कट्टु झुन्ड्याइरहेको रहेछ । त्यसैको खल्तीमा हालिदिएँ ।

पछि काठमाडौं आइयो । त्यो कुरा बिर्सिसकेको थिएँ ।

एकदिन सरोजजीको फोन आयो । ‘दाइ तपाईंले मेरो खल्तीमा केही हालिदिनुभएको थियो ?’

‘खै मैले त भुलें । के भयो र ?’

सरोजजीले भने, ‘कन्डोम हालिदिनुभएको थियो खल्तीमा ?’

‘ए, हो हो ।’

‘हत्तेरी दाइ’ सरोज झोक्किए, ‘कस्तो बर्बाद भो दाइ ।’ के भएछ भने बिहान उठेर उहाँकी श्रीमती सूर्यमाला बाथरुममा लुगा धुन जानुभएछ । बाथरुममा सुँक्क सुँक्क रुन थाल्नुभएछ । सरोजजीले भनेछन्, ‘के भो भन न ?’

सूर्यमालाले फुत्त कन्डोम फ्यालिछन् । सरोजजी छक्क । सरोजजीले सोचेछन्, यो उपटपट्याङ गर्ने त राजाराम नै हो । ‘लु लु दाइ सूर्यमालालाई एकपटक सम्झाइदिनु’ भन्दै सरोजजीले भने । सूर्यमालालाई फोन दिए । सूर्यमाला झोक्किएर बोलिन्, ‘के हो दाइ यस्तो ?’

मैले आगोमा घिउ थपिदिएँ, ‘त्यही त मैले सरोजजीलाई भनेको यस्तोमा लाग्नुहुन्न भनेर । उहाँ मान्दै मान्नुभएन । छाड्दिनुहोस् जे भो, भैगो ।’

सूर्यमालाले रिसाएरै फोन राखिदिइन् । पछि त उहाँहरूको झन्डै सम्बन्धविच्छेद नै भएछ नि !

नाटक भित्र अर्को नाटक

रंगमञ्चमा काम गर्दा पनि यस्ता थुप्रै घटना छन् । त्यहाँ एउटाले अर्कोलाई सताउने काम भइरहेको हुन्छ ।

एउटा नाटकमा किरण केसी र म सँगै थियौं । नाटक भइरहेको थियो । मेरो संवाद सकिएपछि म सुटुक्कै किरणको पछाडि आएर दर्शकले थाहा नपाउने गरी उनलाई काउकुती लगाइरहें । ऊ हाँस्न पनि नमिल्ने, चल्न पनि नमिल्ने । म चाहिं चलाएको चलाएकै गर्ने । त्यसबेला उनलाई निकै गाह्रो भएको थियो ।

नाटकभित्र हामी अर्कै नाटक गरिरहेका हुन्छौं । नाटक आफ्नै हिसाबले चलिरहेको हुन्छ, भित्र भित्रै हामी चल्ने, जिस्कने गर्छौं । यो कुरा दर्शकलाई भने थाहा हुँदैन ।

एकपटक चाहिं ‘नाता’ भन्ने नाटक गर्दै थियौं । नाटकमा नरेन्द्र कंसाकार र मेरो प्रवेश भयो । हामी प्रवेश गर्नासाथ हरिवंशले जुन संवाद बोल्यो, त्यो खासमा त्यसबेला बोल्ने संवाद थिएन । अन्तिममा बोल्नुपर्ने संवाद पहिले नै बोलिदियो । नरेन्द्र कंसकार त कालो निलो भइहाले । हरिवंशले पनि जिब्रो टोके । तर, हामीले फेरि आफू आफैं संवाद बनायौं । यसरी नाटकभित्र पनि अनेक नाटक हुन्छ ।

राजेश हमालसँग त्यति ठट्यौली भएन

मैले फिल्मी क्षेत्रका सबैलाई सताएको छु । मदन दाइ, हरिवंश, किरण केसी, बसुन्धारा भुसालदेखि अहिलेका नयाँ कलाकारहरूसँग समेत केही न केही उटपट्याङ गरेको छु । मलाई छायांकनमा पुगेपछि पनि गमक्क परेर बस्न मन लाग्दैन । मौका पाउनासाथ केही न केही उटपट्याङ गरिहाल्छु ।

त्यसो त हाम्रो समूहका सबै साथी यस्तै छन् । कसैले कसैलाई बाँकी नराख्ने । मौका पाएसम्म नछाड्ने । एकपटक बनेपामा ‘फिलिम’ भन्ने फिल्मको छायांकन थियो । हरिवंश, मदन दाइ, खेम शर्मा, शिवहरि पौडेल सबै थियौं । त्यहाँ खेम शर्मालाई नाङ्गेझार बनाएर सिस्नुपानीले कुट्नुपर्ने दृश्य थियो ।

खेम शर्मालाई त्यसै गरियो । उनको अभिनय देखेर सबै चकित ! दुरुस्तै अभिनय गरे । हरिवंश, मदन दाइ भन्दै थिए, ‘राम्रो अभिनय ग¥यो, नेचुरल आयो ।’

तर, भएको के रहेछ भने शिवहरिले त्यहाँ सिस्नु नै लुकाएर घुसारेको रहेछ । अब सिस्नुले नै पोलेपछि एक्टिङ त नेचुरल नै आउने भयो नि !

हामी प्रायः छायांकनमा यस्तै हर्कत गरिरहेका हुन्छौं । एकाध कलाकारसँग मात्र यस्तो गरिएको छैन । राजेश हमालजीसँग धेरै फिल्ममा काम गरियो । तर, उहाँसँग यस्तो उटपट्याङ भएन । किनभने उहाँ हामीजस्तो सबैसँग घुलमिल हुन नरुचाउने । अलि अलग्गै बस्ने । फुर्सद भयो भने कतै एकान्तमा बसेर किताब पढिरहने । त्यसैले राजेश हमालजीसँग त्यस्तो उटपट्याङ गरिएन ।

‘मह’ को न्वारान गरेपछि दुई बोतल बियर

‘विज्ञापन’ भन्ने नाटक मञ्चन भइरहेको थियो । त्यसबेला पर्दा पछाडिबाट राजु भुँजू भन्ने साथीले उद्घोषण गरिरहेका थिए । पछि उसको स्वर भासियो । अनि हरि र मदन दाइले मलाई ‘अबको कार्यक्रम तिमीले चलाउनु’ भन्नुभयो ।

मलाई यसै कामचलाउ काम गर्न मन नलाग्ने । केही नयाँ गरौं भन्ने लाग्यो । यसो घर आएर सोचें । के गर्न सकिएला ?

सोच्दा सोच्दै ‘मह’ भन्ने नाम जन्मियो ।

अनि मञ्चमा कार्यक्रम यसरी चलाएँ– यो नाटक जति मीठो छ । यसका लेखकद्वय पनि उत्तिकै मीठो हुनुहुन्छ । उहाँहरू हुनुहुन्छ, ‘मह’ । ‘म’ भनेको मदनकृष्ण, ‘ह’ भनेको हरिवंश । दर्शकले अत्यन्तै राम्रो प्रतिक्रिया दिए । निकैबेर ताली बजिरह्यो ।

यही नाम उहाँहरूलाई पनि मनप¥यो । त्यसपछिका दिनमा उहाँहरूले आफूलाई ‘मह’ नै भनेर चिनाउन थाले । त्यसरी नयाँ नाम न्वारान गरिदिए बापत मलाई हरिवंश र मदन दाइले दुई बोतल बियर ख्वाउनुभएको थियो ।

म त चोर माइला

एकपटक तुलसी घिमिरेले फोन गर्नुभयो, ‘तपाईंसँग पहिलेदेखि नै काम गरौं भनेको, साइत जुरेन । यसपालि मौका मिलेको छ । के छ तपाईंको ?’

मैले खुशीसाथ उहाँको प्रस्ताव स्वीकारें । किनभने उहाँजस्तो दिग्गज निर्देशकसँग काम गर्नु मेरो पनि सौभाग्य थियो । उहाँले मलाई आफ्नो अफिसमा बोलाउनुभयो । मेरो भूमिका दिंदै भन्नुभयो, ‘यो चरित्र भएको व्यक्ति वास्तविक हुन् । कालेबुङमा यस्तै मान्छे छ । मेरो फिल्ममा तपाईंले त्यस्तै चरित्र गर्नुप¥यो ।’

त्यो चलचित्र थियो, दक्षिणा । र, यसमा मेरो भूमिका थियो चोर माइलाको ।

पारिश्रमिक लगायत सबै विषयमा छिनोफानो भएपछि म त्यहाँबाट उठेर हिंड्नै लागेको थिएँ । तुलसी दाइले रोकिहाले, ‘ए भाइ, मैले तपाईंसँग एउटा कुरा गर्नै बिर्सेछु ।’

म रोकिएँ । उहाँले भन्नुभयो, ‘भाइलाई म स्क्रिप्ट चाहिं दिन्न है । तपाईंलाई मैले डायलग दिएँ भने तपाईंले राइटरको भाषा बोल्नुहुन्छ । मलाई राइटरको होइन, तपाईंको बोली चाहिन्छ ।’

सुटिङको लागि कालेबुङ गएँ । तुलसी दाइले फिल्मको सिक्वेन्स बताइदिए । म स्क्रिप्ट नै नहेरी क्यामेरा अघिल्तिर पुग्थें । स्क्रिप्टको फ्रेमभित्र रहेर मनमा लागेको कुरा बोल्थें । तुलसी घिमिरे ‘एक्सन’ भन्थे । म आफैं ‘कट’ भनिदिन्थे ।

मलाई लाग्छ, तुलसी घिमिरेले दिएको ‘चोर माइला’ वास्तवमै मेरो जीवनसँग मेल खाने चरित्र थियो । किनभने म पनि उस्तै उटपट्याङ गर्ने ‘चोर माइला’कै फोटोकपी थिएँ । वास्तविक जीवनमा ।

शिव मुखियासँगको कुराकानीमा आधारित

भिडियो/फोटो– शंकर गिरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?