+
+

कर्णालीमा फेरि बढ्यो कोरोना संक्रमण, नाकामा परीक्षण शुरु

यज्ञ खत्री यज्ञ खत्री
२०७८ भदौ ६ गते ९:४५
पञ्चपुरी नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालको निरीक्षण गर्दै मन्त्री यज्ञ बुढा क्षेत्री

६ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा केही समय ओरालो लागेको कोरोना संक्रमण दर पछिल्लो समय फेरि बढ्न थालेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा साउन यतामात्रै शनिबारसम्म दुई हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन् ।

साउन महीनामा एन्टिजेन विधिबाट पाँच हजार ७६८ जनामा परीक्षण गरिएको थियो । जसमध्ये एक हजार १६८ जनामा संक्रमण देखिएको हो ।

यस्तै साउनयता पीसीआर विधिबाट दुई हजार ८६० जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआर विधिबाट परीक्षण गरिएकामध्ये एक हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

कर्णालीमा साउनयता मात्रै १७ जनाले कोरोनाविरुद्धको लडाइमा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म कर्णालीमा सक्रिय संक्रमितको संख्या ८९० पुगेको छ । १० जना जटिल प्रकृतिका संक्रमित कर्णाली प्रदेश अस्पतालमा उपचाररत रहेको र जसमध्ये तीन/चार जनाको अवस्था जटिल रहेको अस्पतालका डा. केएन पौडेलले जानकारी दिए ।

‘पछिल्लो समय प्रदेशमा संक्रमितको संख्या हृवात्तै बढेको छ, अस्पतालमा पनि जटिल प्रकृतिका संक्रमितहरु थपिन थालेका छन्, यही रेसियूमा संक्रमित बढ्दै गए अबको दुुई/तीन साताभित्र अस्पतालहरु भरिने छन्,’ डा. पौडेलले अनलाइनखबरसँग भने ।

उपचारमा संलग्न चिकित्सकका अनुसार अहिलेको संक्रमण दरलाई चाँडै रोकथाम तथा नियन्त्रण गर्न नसके अझै बढी भयावह स्थितिको सामना गर्नुपर्ने हुन्छ । संक्रमितको संख्या बढेसँगै फेरि अस्पतालहरु भरिभराउ हुन थालेको र अक्सिजनको मागसमेत बढेको उनीहरुको भनाइ छ ।

३२ हजार संक्रमित

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार साउन महीनासम्म कर्णाली प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३२ हजार १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म एन्टिजेन विधिबाट परीक्षण गरिएका ४४ हजार १३४ मध्ये १० हजार ७३५ जनामा संक्रमण देखिएको छ । यस्तै पीसीआर विधिबाट परीक्षण गरिएका एक लाख २५ हजार २२४ मध्ये २१ हजार २८१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रदेशमा हालसम्म ३६४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यस्तै ८९० जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सीमा नाकामै अस्पताल र परीक्षण

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणको तेस्रो लहरलाई रोक्न सीमा नाकामै अस्पताल सञ्चालन र परीक्षण लगाएतका कामहरु अगाडि बढाएको छ ।

कैलालीसँग सीमा जोडिएको सुर्खेतको कुइनेमा भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिकहरुको कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ । साथै, दातृ निकायको सहयोगमा नाकामै १५ बेडको कोभिड अस्पताल समेत सञ्चालनमा ल्याइएको छ ।

अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एशोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटीको सहयोग तथा विङ्स फाउण्डेशन नेपालले अस्पताल सञ्चालन र परीक्षणको व्यवस्था गरेका छन् ।

दक्षिणको छिमेकी भारतसँग कर्णालीको सीमा जोडिएको छैन् । कर्णली प्रदेश भित्रिनका लागि सल्यानको कपुरकोट र सुर्खेतको बबई तथा कुइने नाका प्रदेश गर्नुपर्ने हुन्छ ।
प्रदेशका तीन वटै नाकामा प्रदेश सरकारले चेकजाँच र अस्पताल सञ्चालन गर्ने तयारी थालेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले बताए ।

‘कोभिडको तेस्रो लहरलाई रोक्न प्रदेश भित्रिने तीन वटै नाकामा चेकजाँच र अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य छ, त्यसको सुरुवात कुइने नाकाबाट गरेका छौं,’ मन्त्री बुढा क्षेत्रीले भने ।

कुइने नाका सुर्खेतसहित दैलेख, कालीकोट, सुदूरपश्चिमको अछाम र बाजुराको मुख्य नाका हो । यो क्षेत्रका अधिकाश नागरिकहरु रोजगारीका लागि कालापहाड -भारत) जाने गर्छन् ।

‘तीज, दशैं-तिहार लगाएतका चाडबाडमा भारत गएका नागरिकहरु र्फकनेक्रम सुरु भएको छ, ती सबै नागरिकहरुको सिमा नाकामै चेकजाँच गरेर मात्रै प्रदेश भित्र्याउने सरकारको लक्ष्य छ, सोही अनुरुप काम भै रहेको छ,’ मन्त्री बुढा क्षेत्रीले भने ।

सीमा नाकामा लापरबाही गरेकै कारण कोरोनाको दोस्रो लहरमा ठूलो क्षती बेहोर्नुपरेको भन्दै मन्त्री बुढाक्षेत्रीले भने, ‘त्यसको पाठ सिक्दै तेस्रो लहर रोक्न अहिलेदेखि नै नाकामा चेकजाँच र अस्पताल सञ्चालनमा ल्याएका हौं ।’

दातृ निकायको सहयोगमा कुइनेमा स्वास्थ्यकर्मी, परीक्षणका लागि आवश्यक एन्टिजेन किट, जनशक्ति र औषधि उपलब्ध गराइएको विङ्स फाउण्डेशनका अध्यक्ष डा. नवराज केसीले जानकारी दिए ।

डा.केसीका अनुसार कर्णालीमा तीजदेखि तिहारसम्म भारतबाट कति संख्यामा नागरिकहरु फर्किन्छन् र उनीहरु मध्ये कति जनामा कस्तो प्रकारको कोरोना संक्रमण छ भन्ने बारे अध्ययन पनि गरिने छ । ‘यो अध्ययनले कणर्ालीको यथार्थ बस्तुस्थती बारे थाहा त हुन्छ नै सरकारलाई पनि आगामी दिनमा अगाडि बढ्न सघाउ पुग्छ,’ डा. केसीले भने ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?