
८ भदौ, काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले तालिबानलाई यसअघि नै आफूहरुले आतंकवादी संगठन मान्दै आएको र अहिले पनि उक्त सूचीबाट नहटाइएको बताएका छन् । उनले अब तालिबानमाथि प्रतिबन्धको विषयमा छलफल गर्नुपर्ने पनि बताएका छन् ।
अफगानिस्तानबारे मंगलबार जी७ का मुलुकबीच बैठक हुन गइरहेको अवस्थामा ट्रुडोले यस्तो बताएका हुन् । मंगलबार जी७ का सदस्य मुलुक क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिकाबीच भर्चुअल बैठक हुने कार्यक्रम छ । क्यानडाका प्रधानमन्त्रीले अब यस विषयमा आफूले जी७ का मुलुकसँग प्रस्ताव राख्ने बताइसकेका छन् ।
जी७ समूहको अध्यक्षता गरिरहेको बेलायतले अहिले जारी रहेको प्रतिबन्ध तालिबानको व्यवहार अनुसार परिवर्तन हुन सक्ने बताइसकेको छ । अमेरिकाले अगष्ट ३१ सम्म आफ्ना सबै सेना फिर्ता ल्याउने बताएको छ । तर, उक्त समयसम्ममा अफगानिस्तानमा रहेका सबै नागरिकको उद्धार गर्न सम्भव नहुने भन्दै अन्य मुलुकले चेतावनी दिएका छन् ।
ट्रुडोले भने आफ्नो ध्यान अहिले अफगानिस्तानबाट धेरैभन्दा धेरै मानिसको उद्धार गर्नेतर्फ केन्द्रित रहेको बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4