+
+

प्रदेश १ मा एक्लिए भीम, मुख्यमन्त्रीको दौडमा तेस्रो पटक पनि असफल

हरि अधिकारी हरि अधिकारी
२०७८ भदौ ९ गते ११:१२

९ भदौ, विराटनगर । प्रदेश १ मा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बन्ने सम्भावना समाप्त भएको छ । पार्टी विभाजनमा माधवकुमार नेपालको साथ छाडेका कारण मुख्यमन्त्रीमा उनको सम्भावना सकिएको हो ।

पार्टी विभाजन हुँदा आचार्यले एमाले नै रोजेपछि प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले उनको साथ छाडेका छन् ।

पार्टी विभाजन प्रकृयामा रहेका बेला आचार्यले मुख्यमन्त्री बन्न जोडबल गरेका थिए । नेपाल पक्षका नेताहरु पनि उनीप्रति सकारात्मक थिए । तर आचार्य एमालेमै रहेपछि प्रदेश १ का माधव नेपाल पक्षका सांसदहरुले उनलाई साथ नदिने बताएका छन् ।

प्रदेश सांसद एवम् नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राई प्रदेश १ मा नयाँ सरकार बनाउन पर्याप्त सांसद नयाँ पार्टीमा रहने बताउँछन् । आचार्य एमालेमै रहे पनि माधव पक्षका अन्य सांसद समाजवादीमै रहने बताउँदै उनले भने, ‘आचार्यले एमाले नै रोजेपछि अब उहाँ मुख्यमन्त्री बन्ने सम्भावना सकियो ।’

आचार्य तेस्रो पटक पनि फेल

प्रदेश १ मा एमालेका शेरधन राईलाई हटाएर नयाँ मुख्यमन्त्री चयन गर्न कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी प्रयासरत छन् । सम्भावित मुख्यमन्त्रीको रुपमा कांग्रेसका राजीव कोइराला तथा एमालेका भीम आचार्य र राजेन्द्र राईको नाम चर्चामा थियो ।

२०७४ माघ २६ गते भएको संसदीय दलको नेताको निर्वाचनमा ओली समूहबाट शेरधन राई र माधव समूहबाट भीम आचार्य उम्मेदवार बनेका थिए । निर्वाचनमा २६ मत ल्याउँदै राई संसदीय दलको नेता निर्वाचित हुँदा आचार्यले २४ मत ल्याए । मुख्यमन्त्री बन्ने आचार्यको पहिलो प्रयास त्यहीं असफल भयो । निर्वाचनमा एक मत बदर भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा नेकपाको तत्कालीन प्रचण्ड–माधव समूहले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आचार्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको थियो । तर सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि आचार्यको मुख्यमन्त्री बन्ने दोस्रो प्रयास पनि असफल भयो ।

माधवकुमार नेपालले पार्टी विभाजनको निर्णय गर्दा आचार्य एकता पक्षमा उभिए । एकता पक्षमा उभिएका बेला उनलाई ओलीले मुख्यमन्त्री बन्न प्रस्ताव गरे । मुख्यमन्त्री राईले बहुमत जुटाउने भए पद छाड्न तयार रहेको बताएपछि आचार्यले आफ्नो समूहका सांसदलाई सम्पर्क गरे । तर प्रदेश सांसदले साथ नदिने बताए । माधव पक्षका सांसदले साथ नदिने भएपछि मुख्यमन्त्री बन्ने आचार्यको तेस्रो प्रयास पनि असफल भयो ।

‘मुख्यमन्त्री बन्ने प्रस्ताव आएपछि मुख्यमन्त्री बन्दैछु सहयोग गर्नुहोस् भन्दै मलाई फोन गर्नुभयो,’ प्रस्तावित नेकपा एकीकृत समाजवादीका एक प्रदेश सांसदले भने, ‘बहुमत कसरी जुटाउनु हुन्छ ? तपाईंका विरुद्ध उभिने आठ जना सांसद म तयार गर्न सक्छु भन्दिएँ ।’

माधव समूहमा रहेका अन्य नेतालाई पनि आचार्यले फोन गरेका थिए । तर साथ नदिने भएपछि उनी पछि हटे । माधव पक्षका सांसद बलबहादुर साम्सुहाँङले आफूलाई पनि सहयोग गर्न भन्दै फोन आउँदा माधव नेपाललाई धोका दिन नसक्ने जवाफ दिएको बताए ।

‘हामीले साथ दिने भनेको भए, बाग्मती प्रदेशको मुख्यमन्त्रीसँगै प्रदेश १ को पनि परिवर्तन हुने थियो,’ माधव समूहका अर्का सांसदले भने, ‘उहाँ अवसरवादी देखिनु भयो, साथ दिन सक्दैनौं भन्यौं ।’

प्रदेश १ को अंकगणित

प्रदेश १ मा हाल ९२ जना सांसद छन् । नेकपा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १÷१ जना सांसद छन् । माओवादी केन्द्रले तत्कालीन संसदीय दलका नेता टंक आङ्बुहाङलाई सांसदबाट हटाएपछि प्रदेश सभामा हाल ९२ जना सांसद कायम भएका हुन् ।

नयाँ सरकार गठनका लागि कम्तिमा ४७ मत आवश्यक पर्छ । कांग्रेस, माओवादी र जनता समाजवादीका सांसदहरुको संख्या जोड्दा ३९ हुन्छ । एमालेका ८ जना सांसदले मात्रै नयाँ पार्टी रोजेमा प्रदेश १ मा शेरधन राई नेतृत्वको एमाले सरकार ढल्छ ।

प्रस्तावित एकीकृत समाजवादीका नेता राजेन्द्र राई आफ्नो पार्टीमा अझै पनि १८ जना सांसद रहने दाबी गर्दछन् । उनले भने, ‘भीम आचार्यले साथ छाडे पनि हामी १८ जना नयाँ पार्टीमा हुन्छौं ।’

एकीकृत समाजवादीले राईलाई अघि सार्ने सम्भावना

नयाँ सरकार निर्माण हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा समाजवादीको भागमा पर्ने छ । समाजवादीले केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी गरेको छ । ‘प्याकेजमा सहमति नभए प्रदेश १ को नेतृत्व हामीले पाउने हो,’ राई भन्छन्, ‘भीम आचार्यले एमाले नै रोजेपछि मेरो सम्भावना छ ।’ अब एक महिनाभित्र प्रदेश १ सरकार परिवर्तन हुने उनले बताए ।

प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की प्रदेशमा नेकपा एमालेकै सरकार बन्ने बताउँछन् । आफूहरु बहुमत गुम्न नदिने पक्षमा रहेको बताउँदै उनले एउटा समूहले पार्टी छाडेपछि एमालेकै बहुमत रहने बताए । उनले पार्टी एकता जोगाउनका निम्ती जस्तोसुकै त्याग गर्न तयार रहेको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?